Articles

राष्ट्रियता प्रवद्र्धनका लागि साझा परराष्ट्र नीतिकाे खाँचाे

पाल्पा, चैत्र २२– सामुदायिक रेडियो मदनपोखरा पाल्पाले आयोजना गरेको राष्ट्रियता प्रवद्र्धनमा युवाको भूमिका विषयक गोलमेच कार्यक्रम ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।


विभिन्न विचार र क्षेत्रमा क्रियाशील पाल्पाका युवाहरु सहभागी गोलमेचले राष्ट्रियता, स्वाधिनता र एकतालाई सुदृढ बनाएर समृद्धिको बाटोमा अघि बढ्ने ९ बुँदे प्रतिवद्धता जारी गरेको हो । राष्ट्रियता प्रवद्र्धनका लागि युवाको भूमिका सारेम घोषणापत्र नाम दिएको यो प्रतिवद्धता पत्रमा संविधान कार्यान्वयनमा जोड दिने, राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताका पक्षमा निरन्तर आवाज उठाउने, युवा शक्तिलाई उत्पादनसँग जोड्ने र परनिर्भरता अन्त्य गर्नेलगायतका विषय रहेका छन् । देशको सीमालगायत राजनैतिक, आर्थिक, सांस्कृतिक हस्तक्षेत्रका विरुद्ध सर्तक रहने, व्यावसायिक र प्राविधिक शिक्षाका पक्षमा आवाज बुलन्द पार्ने, आत्मसमर्पणवादी चरित्रको विरोध गर्ने, असमान सन्धि सम्झौता खारेज गर्न र राष्ट्रहितका पक्षमा काम गर्न दलहरुलाई घच्चाउने, नेपालको परराष्ट्र नीति साझा हुनुपर्ने, भाषा, कला र संस्कृतिको संरक्षणका लागि युवा सक्रियता बढाउने गोलमेचमा गरिएका प्रतिवद्धता हुन् ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता तथा विकास अभियन्ता विष्णु खत्रीले राष्ट्रियताका सन्दर्भमा फाइदाका आशामा विदेशी राजदुतावास धाउने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले व्यापार घाटा घटाउने र देशको आम्दानी बढाउने काम नहुँदा सम्म देश अगाडि जान सक्दैन भन्नुभयो । अधिवक्ता खत्रीले युवाहरुमा अतिरञ्जित भावना र निराशाले राष्ट्रियता प्रवद्र्धन हुन नसक्ने भएकाले सोसल मिडिया र आमसञ्चारमा प्रस्तुत हुने गलत अभिमत हटाउनुपर्नेमा जोड दिनुभयो ।

 

अनेरास्ववियू छैटौँका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले राजनीतिमा विचारको हस्तक्षेप, साहित्यमा उत्तरआधुनिकता, सञ्चारमा भक्तिभाव र खुला अर्थनीतिका नाममा देशका उद्योग स्वाहा पारिएको बताउनुभयो । कुनै शक्तिको अधिनस्थ नभएको नेपाललाई संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतले विभिन्न कोणबाट हेपाहा प्रवृति देखाइरहेको छ भन्नुभयो ।


युवा संघ नेपालका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेयले आन्दोलन र राष्ट्रिताका पक्षमा युवा सधै अग्रिम मोर्चामा उभिदै आएको र अब पनि त्यो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सरकारले युवा परिषद् गठन गरेको छ, त्यसमार्फत देशभरका युवालाई परिचालन गरेर विकास निर्माणलाई तिव्रता दिनुपर्ने उहाँको विचार थियो ।


युवा नेता हिमालदत्त श्रेष्ठले शरीरमा तातो रगत हुने मात्र होइन, परिआएका बेला ज्यान समेत दिएर युवाले देशको रक्षा गरेका छन् भन्नुभयो । उहाँले विदेशी हस्तक्षेप बढिरहेका बेला मदनपोखराले चलाएको यो बहश गाउँगाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा राजनीतिक दलका भातृसंगठनका अगुुवा कार्यकर्ताहरु, कृषि, पेशा र उद्यममा संलग्न युवाहरुको सहभागिता रहेको थियो । सारेम सञ्चालक समितिका सदस्य वासुदेव अर्यालले स्वागत र उपाध्यक्ष गुणाकर अर्यालले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा चलेको थियो । सारेमले भोली चैत्र २३ गते बोली विमोचन, पुरस्कार वितरण, सभा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।