Articles

सारेमको सत्रौँ शुभजन्मोत्सव भव्यताका साथ सम्पन्न

चैत्र २३, पाल्पा – सामुदायिक रेडियो मदनपोखरा पाल्पाले १७ औँ शुभजन्मोत्सव तीन दिवसीय विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

रेडियो घर मदनपोखरामा आज आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले समुदायको सूचनाको सहारा बनेर सामुदायिक रेडियो मदनपोखराले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । विगत तीन वर्षदेखि कार्यालय प्रमुख र जनता बीच साक्षात्कार गराएर यसले राज्य र जनताको बीचमा सेतुको भूमिका निर्वाह गरेर असल सञ्चारमाध्यमले गर्ने काम गरेको धारणा व्यक्त गर्नुभयो ।

बोली पत्रिकाको नवौँ अंक लोकार्पण प्रमुख जिल्ला अधिकारी काकीले पाल्पाको पर्यटन विकास र पर्वद्धनका लागि यो संग्रहणीय दस्तावेज हो भन्नुभयो । बोलीको विशेषाङ्कको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘राज्यका निकायले गर्ने काम यो रेडियोले गरेको छ, जुन गौरव गर्न लायक छ । सामुदायिक रेडियो मदनपोखराले आफूलाई अग्र भागमा उभ्याएको का रूपमा निस्किएको छ भन्नुभयो ।’ पूर्व सभासद् नारायणी शर्माले समाजमा पछाडि परेका महिला, दलित, जनजातिको विशेष कार्यक्रम बनाएर यसले चेतनास्तर उठाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा बस्ने महिलाले भातभान्छाको काम गर्दा गर्दै यो रेडियो सुनेर आफूलाई सशक्त बनाएका छन् भन्नुभयो । नेपाली काँग्रेसका जिल्ला सचिव माधव नेपालले अन्य सञ्चार माध्यमको तुलनामा यसले आफूलाई सबैभन्दा स्तरीय र विश्वसनीय समाचार प्रवाह गर्ने माध्यमका रूपमा चिनाएको बताउनुभयो । 


कार्यक्रममा जिल्ला विकास समिति पाल्पाका पूर्व सभापति प्रेमनाथ बस्याल, सामुदायिक रेडियो मदनपोखराका संस्थापक अध्यक्ष यमप्रसाद पाण्डेय, स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डे, संस्कृत साहित्यका विद्वान् नीलकण्ठ न्यौपानेले सबै वर्ग समुदायको आवाज दिएकाले जनताले यसलाई सञ्चारकै धरहरा मानेका छन् भन्नुभयो । वरिष्ठ पत्रकार मेघराज शर्माले ग्रामीण जनताका विचार प्रवाह गरेर समुदायलाई सूचनाको मालिक बनाउन यसले दक्षिण एशियाका रेडियो इतिहासमै अब्बल भूमिका निभाएको बताउनुभयो । पत्रकार शर्माले सञ्चारलाई व्यापारी र पैसावालले प्रयोग गर्ने खतरा बढेकाले यसतर्फ सजक रहन सुझाव दिनुभयो । कार्यक्रममा सारेमका पूर्व स्टेशन प्रबन्धक गुणाकर अर्यालले समुदायले रेडियो खोल्न पहलकदमी लिँदा गाउँले भनेर हेप्नेहरूले आज रेडियोको तागत बुझ्ने भएको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना, जिल्ला मालपोत अधिकृत नवराज बराल, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख टंक पन्थ, गाउँले देउरालीका प्रधानसम्पादक गोविन्द भट्टराई, पाल्पा टाइम्सका सम्पादक झपेन्द्र गहिरे, स्वतन्त्र लेखक निर्मल श्रेष्ठ, मिशन अस्पताल समुदाय स्वास्थ्य विभागका प्रमुख पार्वती गौतम, मदनपोखरा गाउँ विकास समितिका सचिव जीतबहादुर सिलवाल, पाल्पा उद्योग वाणिज्य संघका सदस्य माधव जीसी, अगुवा किसान ध्रुव भण्डारीलगायतले रेडियोलाई सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो मदनपोखरा पाल्पाका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक रेडियो मैत्री नीतिको अभावमा मदनपोखराले दुःख पाएको बताउनुभयो । उहाँले समुदाय सचेत बनाउने र पैसा कमाउने रेडियोलाई एउटै नीतिले नियम गर्दा सामुदायिक भावनाले काम गर्नेहरू निरुत्साहित बन्नु परेको छ भन्नुभयो । स्टेशन प्रबन्धक अर्यालले ४६ लाख ६१ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीको हित र समग्र शैक्षिक आन्दोलनको नेतृत्व गरेको भन्दै रिङ्नेरह ३, पाल्पा निवासी नीलकण्ठ न्यौपानेलाई सारेममा स्थापित शैक्षिक पुरस्कारसहित सम्मान गरिएकोे छ । यसैगरी लोक गीत संकलन र गायनमा सक्रिय लोकगायक गणेश भण्डारीलाई लोक संस्कृति प्रवद्र्धन पुरस्कार प्रदान गरिएको छ । स्वयम्सेवक कर्मचारीतर्फ प्रशासकीय लेखापाल छविलाल भट्टराई र बराङ्ग्दीका रेडियो प्रतिनिधि दयाराज न्यौपाले पुरस्कृत भएका छन् । सोमनाथ अर्याल, बासुदेव अर्याल, गुणाकर अर्यालले सभामा मर्मस्पर्शी स्वागत गीत प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहारा कला केन्द्रले विभिन्न नाच प्रस्तुत गरेको थियो । सारेमले आज प्रकासित गरेको बोली पर्यटन विशेषाङ्कका रुपमा रहेको छ । कार्यक्रम सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा चलेको थियो ।