विचौलियालाई पैसा नदेउ : न्यायधीश तिवारी

वैशाख २६, पाल्पा – जिल्ला अदालत पाल्पाले आयोजना गरेको न्यायमा पहुँचका लागि समुदायमा अदालत कार्यक्रम आज तानसेनमा सम्पन्न भएको छ ।


कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला न्यायधीश डिल्लीरमण तिवारीले न्याय किनेर नपाइने भएकाले कुनै बिचौलियाले मैले मुद्धा जिताइदिन्छु भन्दैमा पैसा नदिन सबैलाई आग्रह गर्नुभयो । समुदायमा भएका अपराधको उजुरी नपर्दासम्म अदालतले टुलुटुलु हेर्न बाध्य हुनुपर्ने प्रसंग निकाल्दै उहाँले सामाजिक भेदभाव, छुवाछुत, हिंसा र अपराधका घटनामा सम्बन्धित पीडितले नै उजुरी गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला न्यायधीश तिवारीले अदालत न्यायको मन्दिर हो भन्ने तर जनताको आस्था र विश्वास थाहा नपाउने अवस्थाको अन्त्य गर्न अदालतले समुदायसँग यस्ता कार्यक्रम राखेको बताउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले अदालत आधुनिक र जनताको बिच संवाद गर्ने गर्ने स्थितिमा आउनु नै सकारात्मक परिवर्तन हो भन्नुभयो । विवाद समाधानको अन्तिम स्थान अदालत भएकाले यसको गरिमा बढाउन न्याय सम्पादनका कार्य छिटो र छरितो हुनुपर्ने उहाँको जोड थियो । नेपाल वार एशोसियसनका अध्यक्ष जोगबहादुर विश्वकर्माले न्यायिक अशुद्धता कम गर्न सबैको भूमिका हुनुपर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेयले न्यायका सन्दर्भमा आएका नागरिकका गुनासाले आफूहरुलाई सचेत बनाएको बताउनुभयो ।

अधिकारकर्मी ठाकुर प्रसाद लुहागुनले दलित समुदायले पण्डित बन्न नपाएको, अन्तरजातिय विवाह गर्दा घरमा प्रवेश नपाएको र भोजभतेरमा दुईवटा गुन्द्री राखेर विभेद गरिएको बताउनुभयो । अदालत र कानुनी व्यवस्थाका विषयमा बोल्दै प्रहरी नायव उपरीक्षक मेघराज कडेंल, वरिष्ठ पत्रकार मेघराज शर्मा, अधिवक्ता लालकुमारी राना, मीना जीसी, शकुन्तला बज्राचार्यले न्याय अझै पनि महंगो र पहुँचमा समस्या रहेको बताउनुभयो । सहभागीहरुले समुदायमा न्यायको पहुँचका लागि कानुनी शिक्षा र सचेतना कार्यक्रमको आवश्यकता औंल्याएका छन् ।


जिल्ला अदालतका श्रेस्तेदार सुवर्ण खनालले पाल्पा क वर्गको अदालत भएकाले सबै मुद्धा एक वर्षभित्र फछ्यौट गर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो । अदालतमा १ वर्ष नाघेका मुद्धा कुनै पनि नरहेको जानकारी दिनुभयो । कार्यक्रम नेपाल वार एशोसियसनका अध्यक्ष जोगबहादुर विश्वकर्माको अध्यक्षतामा चलेको थियो ।

रानीमहल संरक्षण आयोजनालाई पारदर्शी बनाउ

कृष्ण कार्की,
वैशाख ९, पाल्पा– रानीमहल दरबार जिर्णोद्वारको काम पारदर्शी रुपमा हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पुरातत्व विभागले विगत तीन वर्षदेखि रानीघाट दरबार जिर्णोद्वारको काम गर्दै आएको छ । जिर्णोद्वारमा कति रकम विनियोजन भएको छ, के कति काम गर्ने हो भन्ने सरोकारवाला कसैलाई जानकारी नभएको स्थानीय बासिन्दाको गुनासो छ । रानीमहल संरक्षणमा क्रियाशील स्थानीय बासिन्दाले सामान्य जानकारी हुने होर्डिङ् बोर्डसमेत विभाग र निर्माण व्यवसायीले नराख्दा अपारदर्शीता प्रकट भएको हो ।

 

बहुवर्षिय ठेक्का अन्तर्गत २÷२ करोडको रकमको काम दुई आर्थिक वर्षमा ठेक्का लागेको भए तापनि दरवारसंग सरोकार राख्ने र यसको संरक्षणका लागि रात दिन लागिपरेकाहरुलाई समेत जानकारी नहुनु विडम्बना नै हो । योजनाको जानकारी गराउने बारे विस्तृत विवरणको जानकारीमूलक बोर्ड पनि नराख्दा पारदर्शीता नदेखिएको स्थानीय बासिन्दा सुरेश पाण्डेले बताउनुभयो । सुशासन र पारदर्शीताकालागि ५ लाख भन्दा ठूला आयोजनामा ठेक्का सुरु, अन्तिम मिति, के काम गर्ने, कति अवधि लगायत लेखेको बोर्ड अनिवार्य राख्नुपर्ने व्यवस्था छ ।

 

जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनियर भिमार्जुन पाण्डेयले ठूला आयोजना र ठेक्काबाट हुने काममा बोर्ड राखेर कामको विवरण हुनुपर्ने बताउनुभयो । उहाँले ‘सरकारले बोर्ड राख्नलाई परिपत्र र निर्देशन जारी गरेको हुन्छ,’ तर दरवारको काम सुरु भएको लामो समय सम्म बोर्डको व्यवस्था नगर्नु भनेको अटेर गर्नु भएको बताउनुभयो । दरबारको काम लिने निर्माण व्यवसायी को हो ? भन्ने जिल्लाका सरोकारवाला निकायलाई जानकारी छैन । स्थानीय वासिन्दाले के काम हुँदैछ भन्ने जिज्ञासा राख्दा निर्माण व्यवसायी र इन्जिनियरले जानकारी नदिएको गुनासो गरेका छन् । रानीमहल दरबार हेर्ने साइट इन्जिनियर पुरातत्व विभागका पूर्णबहादुर श्रेष्ठ हुन् । योजनास्थलमा श्रेष्ठको उपस्थिति निकै कम हुन्छ । प्राविधिक र इन्जिनियरको उपस्थिति कम भएपछि ठेकेदारलेसमेत मनोमानी गरेको पाइएको छ ।

 

विभागका महानिर्देशक भेषनारायण दाहालले दरबारमा काम भइरहेको आफूलाई जानकारी भए तापनि हाल के काम भएको छ भन्ने थाहा नभएको बताउनुभयो । तानसेनदेखि १४ किलोमिटर उत्तर भएकाले मर्मत योजनमा सम्बन्धित निकायले अनुगमन र निरीक्षणमा वेवास्ता गरेको छ । विभागका महानिर्देशक दाहालले देशभरका काम हेर्नुपर्ने र प्राविधिक कर्मचारी कम भएकाले अनुगमनमा समस्या भएको बताउनुभयो ।

बलात्कारपछि ८ वर्षिय बालिकाको हत्या

कृष्ण कार्की,
बैशाख ७, पाल्पा – आठ वर्षिया बालिकालाई बलात्कार गरी हत्यामा संलग्न तेल्घा १ का १८ वर्षिय दिपक न्यौपानेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाएको छ ।

 

प्रहरीले तानसेनमा पत्रकार सम्मेलन गरी बलात्कारपछि हत्या गर्ने न्यौपानेलाई ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिउको हो । तानसेन–१४ लामडाँडाकी ८ वर्षिया बालिका वर्षा दर्लामीलाई वैशाख ६ गते सोमबार बलात्कार गरी हत्या गरेको आरोपमा न्यौपाने पक्राउ परेका थिए । प्रहरी निरीक्षक रमेशराज भेटवालले निज दिपक न्यौपानेले आफूले घटना घटाएको स्वीकार गरेको र प्रमाणहरुले पुष्टी गरिसकेको बताउनुभयो ।

 

दिउँसो साढे ४ बजे भाइलाई लिएर विद्यालयबाट घर फर्किने क्रममा न्यौपानेले फकाएर तानपा–११ र १४ को सिमाना पर्ने होलाङ्दी खोलामा लगेर बालिकालाई बलात्कार गरेको भेटवालले बताउनुभयो । खोला किनार झाडीमा बलात्कार गरेपछि पानीमा डुबाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा यो कुरा उल्लेख छ ।

 

माछा मार्न भन्दै फकाएर लगे
साथीभाइसँगै बसेर १८ वर्षिय दिपक न्यौपानेले दिउँसै मदिरा सेवन गरेका थिए । मदिराले मातेका न्यौपानेले बालिकालाई माछा मार्न जाउँ भन्दै फकाए । फकाई फुलाई होलाङ्दी खोलातर्फ लगेर उनले जबरजस्ती करणी गरेको र त्यसपछि हत्या गरेको दिपकको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । हत्यापछि वर्षाले कानमा लगाएको सुनको मुन्द्री समेत निकालेर हिंडेको प्रहरीको भनाई छ ।

 

स्थानीय बासिन्दा प्रहरीमा
विद्यालयबाट फर्कने क्रममा प्रहरी बिट नजिकै बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त र स्थानीय बासिन्दा आक्रोशित छन् । उनीहरुले हत्याका आरोपी दिपकलाई देखाउ भन्दै प्रभास, बर्तुङ्, बाँसटारीलगायतका क्षेत्रबाट दबाव दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरी निरीक्षक भेटवालले आक्रोसित स्थानीय बासिन्दालाई हत्यामा संलग्नलाई कानुन वमोजिम कारबाही हुने विश्वास दिलाउनुभयो । न्यौपानेलाई कर्तव्य ज्यान, बलात्कार सहित लुटपात गरेको मुद्दा प्रहरीले आकर्षित गर्नेछ ।

विद्यालयमा पढाई बन्द
हत्याको शोकमा उनी अध्ययन्रत तानसेन १४ सुन्दरगाउँस्थित सरस्वती माध्यमिक विद्याचलय दुई दिनदेखि पठनपाठन बन्द भएको छ । कक्षा ३ मा अध्ययनरत वर्षाको सोबार हत्या भएपछि विद्यालयमा पठनपाठनको वातावरण पूर्ण रुपमा अस्तव्यस्त बनेको विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले बताउनुभयो । पढाउने वातावरण नभएको भन्दै प्रअ पौडेलले शोकसभा गरेर विद्यालय बन्द गरेको जानकारी दिनुभयो ।

गाउँले देउरालीले वार्षिकोत्सव मनायो

चैत्र ३, तानसेन – दक्षिण एशियाको पहिलो विकास पत्रिका गाउँले देउराली साप्ताहिक आजदेखि २३ औं वर्षमा प्रवेश गरेको छ ।


वार्षिकोत्सवका अवसरमा देउराली पत्रिकाले शुभकामना आदानप्रदान तथा कृति विमोचन कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा गाउँले देउरालीको स्थापनाकालदेखि नै सघाउने लेखक तथा साहित्यकार रिङ्गनेरह निवासी निलकण्ठ न्यौपाने, देउराली पत्रिकाका सहयोगी शोभाकर बस्याल र तुलबहादुर थापालाई नगद पुरस्कारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले देउरालीमा कार्यरत तुलबहादुर थापाद्वारा लिखित कृति ‘सोझो मगर’ लघुकथा संग्रहको विमोचन गर्नुभयो । साहित्यकार टंक पन्थले कृति समीक्षा गर्दै ६४ वटा लघुकथा समावेश रहेको यस कृतिले समाजको विविध पक्षको यर्थाथ चित्रण गरेको बताउनुभयो । उहाँले विषय सामान्य प्रस्तुति सरल हुनुका साथै रोचक र घोचक रहेको बताउँदै साहित्यिक क्षेत्रमा प्रयोग हुने व्याजस्तुती शैलीले पाठकको मन छुने बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथी अर्यालले विकास पत्रकारिताको अगुवा गाउँले देउराली पत्रिकाले आर्थिक अभावका बिचमा पनि निरन्तर ग्रामीण समुदायको पक्षपोषण गरेको बताउनुभयो । महासंघ अध्यक्ष अर्यालले आगामी दिनमा लुकाउन खोजिएका र पछाडि पारिएका विषयमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विकास पत्रकारिताको माध्यमबाट गाउँठाउँ र समाजका लुकेका कुरा बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा उपस्थित पत्रिकाका सहयोगी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार एव शुभचिन्तकहरुले पत्रिकाको निरन्तर प्रकाशनकालागि शुभकामना दिएका दिएका थिए । कार्यक्रम पत्रिकाका प्रधानसम्पादक गोविन्द भट्टराईको संचालन, सम्पादन सहयोगी झविन्द्र देवकोटाको स्वागत तथा अतिथी सम्पादक मेघराज शर्माको अध्यक्षतामा चलेको हो ।

करिडोरको गाडी राम्दी भएर दर्पुक पुग्यो

वैशाख १, पाल्पा – कालीगण्डकी करिडोरअन्तर्गतको राम्दी दरपुक खण्ड ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।


राम्दीदेखि यम्घाको दरपुकसम्म ४ किलोमिटर खण्डकाको ट्रयाक खोल्ने कार्य चैत्र मसान्तमा सकिएपछि वैशाख १ गतेदेखि गाडी आवतजावत गर्न थालेका छन् । दरपुरक जीप पुगेपछि स्थानीय बासिन्दाले निर्माण व्यवसायी, डोजर चालक र मजदुरहरुलाइ फुलमालाले स्वागत गरेका थिए । करिडोरका योजना प्रमुख गुरुप्रसाद अधिकारीले ट्रयाक खोलेर जीप दर्पुकमा पु¥याएको बताउनुभयो । सुनगुफा, अक्करको भीर, खल्डुकडाँडालगायतका चट्टान रहेको क्षेत्रबाट सडक बन्छ भनेर कल्पनासमेत नगरेका दर्पुकबासी गाउँमा गाडी पुगेपछि औधी खुशी भएका छन् ।


करिडोरका योजना प्रमुख अधिकारीका अनुसार अक्करेको भीरमा पर्खाल उठाउने काम सकिए लगतै भाडाको गाडी सञ्चालनका लागि यातायात व्यवसायीलाई अनुमति प्रदान गरिने जानकारी दिनुभयो । यो सडकको निर्माणले कालीगण्डकी तटीय क्षेत्रका कृषिजन्य उपजलाई बजारसम्मको पहुँच, आन्तरिक तथा वाह्य पर्यटनको विकास, आयआर्जन तथा स्वरोजगारीका अवसरहरु सिर्जना गर्ने भएकाले स्थानीय जनता खुशी भएका हुन् ।


यम्घाका निवर्तमान अध्यक्ष ध्रुव प्रसाद अधिकारीले करिडोरको बाटो दरपुक आएपछि यम्घाका जनतालाई हिँउद बर्खामा आवतजावत गर्न मिल्ने अवस्था भएको बताउनुभयो । दरपुकको माछा, कुखुरा, तरकारीलगायतका कृषि उपज बजारमा लैजानसमेत सजिलो हुने अधिकारीको भनाई छ । करिडोरले आर्थिक वर्ष २०६८\०६९ चैत्रमा बि टी सुन्दरी भाइ जेभीले निर्माणका लागि सम्झौता गरेर ३ वर्षभित्र यो खण्डमा गाडी चल्न मिल्ने स्थितिमा ल्याएको हो । यसको निर्माण लागत करिव १ करोड ४० लाख रहेको छ । यो बाटो निर्माण भएपछि दरकपुकका जनतालाई गुँगा निस्कनभन्दा राम्दी पुग्न छोटो भएको छ ।