मदनपोखरामा व्यवसायिक अनार खेती

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जेठ २१, मदनपोखरा– कृषि उद्यमी नगेन्द्रराज पाण्डेयले अनारको व्यवसायिक खेती सुरु गरी मदनपोखरालाई कृषि पर्यटनको केन्द्र बनाउन सफल हुनुभएको छ ।


उद्यमशील कृषक पाण्डेयले मदनपोखरा –५ वडेआँपस्थित आफ्नै बारीमा आज पत्रकार सम्मेलन गरी थाइल्याण्ड र भारतबाट ल्याएको भाग्वा जातको २ सय वटा अनारका वोटले उत्पादन दिन थालेको बताउनुभयो । ८ रोपनी बारीमा लगाइएका अनारले यो वर्ष प्रति वोट ६ किलो, अर्को वर्ष १२, त्यसपछि ३० किलोसम्म लगातार २५ वर्ष उत्पादन लिन सकिने जानकारी दिनुभयो । पाण्डेयले यस वर्ष करिव १ हजार किलो अनार उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । साउन १४ गते २ वर्ष पुग्ने अनारका बोटमा लागेका ९० प्रतिशत फुल टिपेर हटाएको र बाँकी १० प्रतिशतले प्रतिवोट ६ किलोसम्म उत्पादन दिने पाण्डेयको दावी छ । पाण्डेयको बारीमा अनारकोे भाग्वा जातका अतिरिक्त कान्धारी १ र २, सिन्दुरिया, मृदुला, गणेश, रैथानै गरी ७ प्रजाती पनि रहेका छन् ।


आत्मनिर्भरताका लागि उत्पादन भन्ने प्रसंग चलिरहेका बेला पाण्डेयले मध्य पहाडी भेगमा अनारको व्यवसायिक खेती गर्न सकिने र लटररम्म फलाएर राम्रो आम्दानी लिन सकिने प्रविधि परीक्षण गरेकाले अनार खेतीको जानकारी लिन कृषक भित्रिएको हो । पाण्डेयले आजै प्यूठानबाट आएको कृषकहरुलाई अनार खेतीले स्वरोजगारको अवस्था सृजना हुने र आयात प्रतिस्थापन भै आम्दानी बढाउन सकिने विश्वास दिलाउनुभयो ।


२०३२–०३३ सालदेखि कृषिका विभिन्न प्रविधिको परीक्षण गर्नुभएका पाण्डेयले वंगुरपालन, जर्मनी भेंडापालन, अंगोरा जातको खरायोपालन, परेवा, भैंसीपालन, कुखुरापालन, मौरीपालनको अभ्यास गर्नुभएको छ । कफी खेती, कुरिलो खेती, व्यवसायिक तरकारी, बेमौसमी गोलभेंडा, प्लाष्टिक घरभित्र गोलभेंडा खेती गरी कृषि उद्यमीमा रुपमा आफूलाई परिचित गराउनुभएको छ । पाण्डेयले विकास गर्नुभएको प्लाष्टिक टनेल र प्लाष्टिक पोखरी आज देशभर प्रचलनमा आएको छ ।


नर्सरीमा हाल २ हजार अनारका विरुवा रहेका छन् । एक विरुवाको बिक्री मूल्य २ सय रुपैँया रहेको छ । सम्भावना बोकेका जिल्लामा नर्सरी स्थापना गर्ने र अनार रोपणको कार्यक्रम ल्याउने हो भने ५ वर्षभित्र अनारमा आत्मनिर्भर भई निर्यात गर्न सकिने पाण्डेको भनाई छ । ‘मध्य पहाडी जिल्लाका चिलाउन घारीलाई अनार घारी बनाउन सकिन्छ ।’


व्यवसायिक तरकारी खेतीका लागि प्रसिद्धी कमाएको मदनपोखरालाई पाण्डेको मेहनत र अनार खेती प्रविधि विस्तारले थप टेवा पुग्ने स्थानीय बासिन्दाको भनाई रहेको छ ।

जलवायु परिवर्तन अनुकुलन कार्यक्रम समयअगावै फिर्ता

वैशाख ३१, पाल्पा – स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाले सञ्चालन गरेको बहुसरोकारवाला वन कार्यक्रम अन्तरगत जलवायु परिवर्तन अनुकुल कार्यक्रम निर्धातिर समय अगावै फिर्ता भएको छ ।

 

डिएफआइडी, (वेलायत), एसडिसी (स्विटजरल्याण्ड) र फिनल्याण्ड सरकारको सहयोगमा संचालन भएको बहुसरोकारवाला वन कार्यक्रम केन्द्रीय निर्णय वमोजिम फिर्ता भएको छ । दातृ निकाय र नेपाल सरकारबीचको मतभेदका कारण जिल्लामा सञ्चालित कार्यक्रम प्रभावित हुन पुगेको हो । यसले विगत ५ वर्षदेखि देशका ४२ जिल्लामा जलवायु परिवर्तन अनुकुलन कार्य गदै आएको थियो ।

 

स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रले पाल्पा जिल्लाका २५ गाविसमा स्थानीय अनुकुलन कार्ययोजना र १० वटा सामुदायिक वनमा सामुदायिक कार्ययोजना ५ वर्षसम्म सञ्चालन गर्ने गरी निर्माण गरिएको छ । स्थानीय अनुकुलन कार्ययोजना कार्यान्वयनका लागि हरेक गाविसलाइ ३ लाख ७३ हजार सहयोग प्रदान गर्ने र हरेक सामुदायिक कार्ययोजना कार्यान्वयनका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने परियोजनामा उल्लेख गरिएको थियो । यसरी सम्झौता भईसकेको परियोजनामा कार्यक्रमको तर्फवाट ८ गाविस र ५ सामुुदायिक वनमा मात्र संस्थाले रकम पठाउन सकेको छ । बाँकी गाविसमा रकम पठाउन रकम निकासा नभएको संस्थाका प्रबन्ध निर्देशक रामबहादुर राउतले जानकारी गराउनुभयो ।


एकै पटक परियोजना अगाडि बढन नसक्ने जानकारी आएपछि थप ४ गाविसमा ३ लाख ४३ हजारका दरले रकम पठाउन सकिने जानकारी आएको संस्थाले जनाएको छ । आगामी जेठ १५ गतेभित्र सबै काम सम्पन्न गरी परियोजना बन्द गर्ने जानकारी आएकोले बर्हिगमन कार्यशाला गरिएको राउतले जानकारी गराउनुभयो । कार्यक्रमको छोटो अवधिमा १२ गाविसमा १२ हजार १ सय ९६ जनसंख्यालाई जलवायु परिर्वतन अनुकुलन सम्बन्धि शिक्षा दिन सकिएको उहाँले बताउनुभयो । कसेनी, जुठापौवा, सत्यवती, कचल, रहबास, गल्धा, सिलुवा, अर्चले, झिरुवास, मित्याल, फेक, बल्डेङ्गगढी, कोलडाँडा, झडेवा, गोठादी, जाल्पा, बहादुरपुर, विरकोट, फोक्सिङकोट, हेक्लाङ, देवीनगर, हुमिन, खानीगाउँ, ठिमुरे, कचल, फेक गाविसमा संचालित थियो । कार्यशालामा कार्यप्रगतिका विषयमा इन्प्रेड पर्वतका गंगा न्यौपाने, रिम्सका रामचरण चौधरीेले कवुलियती वनका बारेमा जानकारी गराउनु भएको थियो ।

 

नेपाली कांग्रेसका पाल्पाका सभापति बीर बहादुर राना, नेकपा एमालेका अध्यक्ष देवी प्रसाद बस्याल, एकीकृत माओवादीका नरसिंह राना, राष्टिय जनमोर्चाका अनिलकिशोर घिमिरे, जनमुक्ति पार्टीका केहरसिंह राना, अखण्ड नेपालका दिनेश रावल, जिल्ला वन अधिकृत दधि कडेल, भूसंरक्षण अधिकृत लोकनाथ सापकोटा, बहुसरोकारवाला बन कार्यक्रमका धनन्जय जयसवाल, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेय, पूर्व साँसद यादव बहादुर रायमाझी लगायतले कार्यक्रमले छोटो अवधीमा पनि राम्रो काम गरेको र आगामी दिनमा यस प्रकारको परियोजनाको दीगोपनाको बारेमा सुझाव दिनुभएको थियो । कार्यक्रम सुर्यप्रसाद गैरेको संचालन तथा संस्थाका प्रबन्धनिर्देशक राम बहादुर राउतको अध्यक्षतामा चलेको हो ।

विद्युत चोरी गर्ने पन्ध्रजना कारवाहीमा

वैशाख ३०, पाल्पा – नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले विद्युत चोरी गर्ने १५ जनालाई कारवाही गरेको छ ।


वैशाख महिलाभर सञ्चालन गरेको विशेष अभियानका क्रममा मिटरको सिल तोडने्, तारबाट हुकिंग गर्ने र मिटर छुटाइ विजुली चोरी गर्नेहरुलाई रंगेहात समाती कारवाही गरिएको प्राधिकरणले जनाएको छ । पाल्पा वितरण केन्द्रका प्रमुख कपिलदेव पाण्डेले स्थलगत अनुगमनको क्रममा विजुली चोरी गर्नेलाई समाती कारवाही गरिएको बताउनुभयो । तानसेन नगरपालिका, सोमादी, छहरा र दर्लमडाँडाका १५ जना ग्राहक विद्युत चोरी गर्नेमा परेका छन् । विद्युत चोरी गर्नेलाई कारवाही गरी ७ लाख ६९ हजार ७ सय ९५ रुपैँया राजश्व संकलन भएको जनाइएको छ । हुकिंग गर्नेबाट ३० हजार रुपैँया असुल गरेको कार्यालयले जनाएको छ ।


पाल्पा जिल्लामा मात्र विद्युतले मासिक १ करोड महशुल उठाउने गरेको छ । इन्जिनियर पाण्डेयका अनुसार १९ दशमलव ७५ प्रतिशत विद्युत चुहावट देखिएकोमा चोरी र हुकिंगको समस्या ठूलो रहेको छ । विद्युत महशुल नतिर्ने कालोसूचीमा रहेकाहरुबाट यस अवधिमा २ लाख ५४ हजार ४ सय ८७ रुपैँया असुल गरेको प्राधिकरणले जनाएको छ ।

सरकारी कार्यालय, सामाजिक संघसंस्था, धार्मिक मठमन्दिरलेसमेत विद्युत महशुलको मोटो रकम तिर्न बाँकी रहेको प्राधिकरणको अभिलेखमा देखिन्छ । तानसेन नगरपालिकाले २०६४ सालपछि सडक वत्तिको पैसा नतिरेको र करिव साढे ४ करोड वक्यौता देखिन्छ । प्रत्येक महिना सडक वत्तिको करिव ५ लाख रुपैँया बील आउने गरेको छ ।

पाल्पामा सात उजुरी दर्ता

कृष्ण कार्की
वैशाख २७ पाल्पा – सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको उजुरी आउनेक्रम पाल्पामा बढेको छ ।

दश वर्षको युद्धको बेलामा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको स्थानीय शान्ति समितिमार्फत् उजुरी लिन थालेपछि पाल्पामा उजुरी गर्नेको सङ्ख्या बढ्दै गएको हो । नेपाल सरकारले वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको उजुरी गर्न पीडितलाई आह्वान गरेको छ । मानवअधिकार उल्लङ्घन र ज्यादतीमा संलग्नलाई कारवाही गर्ने उद्देश्यले आयोगले बैशाखको पहिलो हप्तादेखि उजुरी लिन थालेको छ ।

स्थानीय शान्ति समिति पाल्पामा अहिलेसम्म ४ वटा सत्यनिरुपण र ३ वटा बेपत्ताकोसहित ७ वटा उजुरी परेका छन् । पाल्पा जिल्लाका द्वन्द्वका पीडित परिवार तथा आफन्तले सत्यनिरुपण गर्न र वेपत्ताको अवस्था सार्वजनिक गर्न उजुरी दिएका हुन् । सत्यनिरुपण र वेपत्ताको उजुरी दिनका लागि २१ वटा थप फारम वितरण भएको स्थानीय शान्ति समितिका कर्मचारी अरुण भण्डारीले जानकारी दिनुभयो । द्वन्द्वको अवधिमा योजनावद्ध रुपमा हत्या, अपहरण तथा शरीर बन्धक, अङ्गभङ्ग, वा अपाङ्ग, बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, मानवअधिकार उल्लङ्घन भएका घटनाहरूको न्यायपूर्ण रुपमा छानविन हुने आयोगको भनाई छ । दैनिक रुपमा उजुरी सङ्कलन र उजुरी फारम वितरण कार्य भइरहेको र प्राप्त आवेदन गोप्य रुपमा राखिएको भण्डारीले जानकारी दिनुभयो ।

सङ्कलित आवेदनलाई आयोगमा शीलबन्दी गरेर पठाइने शान्ति समितिले जनाएको छ । पाल्पा जिल्लामा द्वन्द्वकालीन समयमा ८७ जना मृतकका आफन्तले राहत पाएका छन् । त्यसैगरी सरकारले १६ जना साधारण विधवा, वेपत्ता, ५ जनाले राहत पाएका छन् । यस्तै घाइते वा अपाङ्ग ५४ जना, अपहरण कैद हिरासततर्फ ९६ जना पीडित रहेको स्थानीय शान्ति समिति पाल्पाले जनाएको छ । विस्थापित व्यक्ति तथा परिवार २० जना द्वन्द्व प्रभावित बालबालिकाहरू ७० जना, जनआन्दोलनमा घाईते भएका ७ जना छन् ।

व्यक्तिगत सम्पत्ति ९६ जना र सरकारी कार्यालय ७९ वटामा क्षति पुगको थियो । आयोगका कार्यालय पाल्पामा नभएकाले स्थानीय शान्ति समितिमा द्वन्द्वका पीडित परिवारले खुला वा सिलबन्दी गरेर उजुरी दिन सक्नेछन् । आयोगले बैशाख २ गतेबाट बेपत्ताको उजुरी र ५ गतेबाट सत्यनिरुपणको उजुरी लिन सुरु गरेको थियो । आयोगका अनुसार जेठ मसान्तसम्म बेपत्ताको उजुरी र सत्यनिरुपणको उजुरी असार २ गतेसम्म पीडितबाट लिइने जनाएको छ । आयोगमा तत्कालिन विद्रोही माओवादी र राज्यपक्षबाट भएका घटनाको उजुरी पीडितले दिन सक्नेछन् ।

पूर्व क्याम्पस प्रमुखको धीरेन्द्र श्रेष्ठको सम्मानमा श्रद्धान्जली सभा

वैशाख २७, पाल्पा – त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख धीरेन्द्र प्रसाद श्रेष्ठको तेह्रौँ पुण्य तिथिका अवसरमा तानसेनमा श्रद्धान्जली सभा भएको छ ।


त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले श्रेष्ठको निधनले पाल्पाले एक शैक्षिक व्यक्तित्व गुमाएको र शिक्षाभित्रको मणि हराएको महशुस गरेको बताएका छन् । श्रेष्ठले त्रिभुवन बहुमुखी क्याम्पसमा २०३० सालदेखि ०३९, ०४० देखि ०४२ र ०४५ देखि ०४७ सम्म गरी चौध वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रेष्ठको कार्यकालमा त्रिभुवन बहुमुखी क्याम्पस नेपालकै अब्बल र पश्चिमाञ्चलको धेरै विद्यार्थी पठनपाठन गराउने क्याम्पसका रुपमा स्थापित बनेको शिक्षाविद्हरुको भनाई छ । तानसेन नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहनुभएका श्रेष्ठको क्यान्सर रोगका कारण २०७३ वैशाख १५ गते निधन भएको हो ।


श्रद्धान्जली सभामा पूर्व सभासद नारायणी शर्मा, नेपाली कांग्रेसका सभापति बीरबहादुर राना, नेकपा एमालेका अध्यक्ष देवि प्रसाद बस्याल, एनेकपा माओवादीका वसन्त शर्मा, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा क्रान्तिकारी माओवादीका जीतबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका केहरसिंह रानाले धिरेन्द्र श्रेष्ठको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गर्नुभयो । तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार शाहीले कुनै विचारको चश्मा लगाएर नहेर्ने स्वभावले नै श्रेष्ठलाई साझा व्यक्तित्व बनाएको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले पाल्पाको शैक्षिक, सामाजिक र राजनीतिक व्यक्तित्वको छवि बनाएका श्रेष्ठको योगदानको कदर गर्न स्मृति ग्रन्थ प्रकाशन गर्नुपर्ने बताउनुभयो । वुद्धिजीवी छत्रराज शाक्य, बुद्धिप्रसाद शर्मा, क्याम्पसका प्राध्यापकहरु राजेश्वर उदय, धर्मबन्धु पौडेल, कृष्ण बहादुर कार्की, दिवाकर पाण्डे, चित्रा गैरेले विद्यार्थी, शिक्षक चिनेर व्यवहार गर्ने बानीले श्रेष्ठलाई सफल प्रशासक बनाएको बताउनुभयो ।


कार्यक्रममा स्ववियुका पूर्व सभापति अजयमान कर्माचार्य, विद्यार्थी नेताहरु हरिवोल भट्टराई, टीकाबहादुर थापा, केशव बस्याल, रेशम कडेल, वलु गैरेलगायतले मृत्यको अनुभूति मान्छेको व्यवहारपिच्छे फरक हुने रैछ भन्ने अनुभव भएको धारणा व्यक्त गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज पौड्यालले श्रेष्ठको व्यक्तित्व र योगदान बारे प्रकाश पार्नुभयो । सहायक क्याम्पस प्रमुख टंक पन्थको सञ्चालन र निमित्त क्याम्पस प्रमुख अतिउल्लाह खाँको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।