पाल्पाले राहदानी दस्तुरबाट रु. ३ करोड बढी राजश्व संकलन

कृष्ण कार्की, पाल्पा, भाद्र ०२ - जिल्ला प्रशासन कार्यालय पाल्पाले राहदानी दस्तुरबाट रु. ३ करोड १८ लाख ३५ हजार राजश्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा संस्था दर्ता र नवीकरणबाट रु.२ लाख, ९० हजार चार सय, हातहतियार नवीकरण तथा नामसारीबाट रु. ११ हजार ५५० रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य प्रशासनिक रु.२ हजार, न्यायिक दण्ड जरीवना र जफतबाट रु. ४ लाख १८ हजार २ सय ४३, परीक्षा दस्तुरबाट १ लाख २८ हजार गरी कुल ३ करोड २५ लाख ६९ हजार ९९३ रुपैयाँ संकलन भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनुभयो ।

तेजपातको पाँत र बोक्राकाे माग बढ्याे

कृष्ण कार्की, पाल्पा, भाद्र ०२ - तेजपातको पाँत र बोक्रा ठुला होटलमा मसलाको रुपमा प्रयोग हुन थालेपछि यसको माग बर्सेनी बढेको छ ।

बौघापोखराथोक गाविस–५ लुहुङ्गका वेदप्रसाद गौतम गैरेले “पहिला तेजपात नरोपेको पछुतो लागेको बताउनु भयो । उहाँ अहिले झण्डै दुई सय तेजपातका विरुवा रोप्ने योजनामा रहेको बताउनुभयो ।

यस बर्ष बौघापोखराथोक गाविस–५ मा रहेको बौघापोखराथोक कृषि सहकारीले ३ हजार विरुवा जिल्ला वन कार्यालयबाट निकासी गरी सदस्यलाई निःशुल्क बाँडेको छ । १०१ जना सदस्य रहेको सहकारीले सदस्यहरुको माग अनुसार तेजपातको विरुवा वितरण गर्ने र गाउँलाई तेजपातमय बनाउने योजनामा यतिबेला यहाँका स्थानीय जुटेको अध्यक्ष कुलराज भट्टराईले बताउनुभयो । किसानले तेजपातको तीन ओटा रुखका पात र बोक्रा बेचेर सात हजार आम्दानी गर्न सफल भएका हुन ।

कम श्रम गरेर पनि तेजपातका विरुवा हुर्काउन सकिने छ । खेतबारी तथा बाँझो जमिनमा खाडल खनेर तेजपातका विरुवा सहज रुपमा हुर्कन थालेपनि पाल्पाका अधिकाँश गाविसमा तेजपातको व्यवसायिक खेती नै गर्न थालिएको छ ।

बन्दीपोखरा–५ का ज्ञानप्रसाद खत्रीले खेतबारीमा अहिले एक हजार विरुवा जिल्ला वन कार्यालयको नर्सरीबाट लगेर तेजपात रोप्नुभएको छ । विगत तीन चारवर्षदेखि १०÷१५ हजार रुपैयाँ तेजपातका बोक्रा र पात बेचेर नै आम्दानी हुने गरेको बताउनुभयो ।

गाउँमा आएर ठेकेदारले पातलाई प्रतिकिलो रु.३०।– र बोक्रालाई प्रतिकिलो रु.५००।– मा बिक्री हुदै आएको खत्रीको भनाई छ । यहाँबाट दोभान गाविसमा तेजपात संकलन गरी भारतमा ठुलो मात्रामा निकासी हुन गरेपछि पाल्पामा तेजपातको व्यवसायिक खेती गर्ने युवाहरु बढेका हुन ।

जिल्ला कोलडाडा, दोभान, भुवनपोखरी, सत्यवती, जुठापौवा, बुल्ढेङ्गगढी लगायतका गाविसबाट ठुलो मात्रामा तेजपातको पाँत र बोक्रा निकासी हुदै आएको छ । यस क्षेत्रका स्थानीयवासीले तेजपातबाट प्रतिपरिवार ५० हजार देखि २ लाखसम्म आम्दानी गर्न सफल भएको जिल्ला वन कार्यालय पाल्पा प्रमुख दधिलाल कडेले जानकारी दिनुभयो ।

पाल्पामा बालविवाह रोकिन सकेन

कृष्ण कार्की, पाल्पा, भाद्र ०२  – बालबालिकाहरु आफै मिलेर सानो उमेरमा गर्ने विवाहका कारण पाल्पामा बालविवाह रोकिन सकेको छैन ।

मगर समुदायको बाहुल्यता रहेको कोलडाडा गाविसमा अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्चाल, कानुनी ज्ञानको अभावमा कारण बालबालिकाहरुले १६ वर्षको पढ्ने उमेरमा नै विवाह हुदै आएको हो ।

बालबालिकाहरु एकआपसमा मिलेर भागी विवाह गरेपछि यहाँ मागी विवाह गर्ने चलन निकै कम हुन थालेको हो । बालबालिकाहरुले सानै उमेरमा विवाह गर्ने जोडीहरुले विवाहपछि उनीहरुले विद्यालय पढ्न समेत छाडेका छन् ।

कोलडाडामा १६ वर्षको उमेर नपुग्दै विवाह गरी श्रीमानको घरमा जानेको संख्या बढी मात्रामा नै रहेको स्थानीय अगुवाहरुले बताएका छन ।

नेपालको संविधान अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरितको विवाहको रुपमा लिएको छ । तर, यहाँका बालबालिकाहरुले स्कुल पढ्ने समयमा श्रीमान श्रीमति बनेर २०÷२२ वर्षको उमेरमा अभिभावका बन्ने गरेका छन ।

कोलडाडा–५ की स्थानीयबासिन्दा मीना गाहाले बालबालिकाहरु आफै नै विवाह गरी हिड्ने गरेको बताउनुभयो । बालबालिकाहरु आफै नै मिलेर विवाह गरेपछि आफन्तहरुलाई समस्या हुने गरेको छ । गाविस सचिव युवराज पाण्डेयका अनुसार सानै उमेरमा विवाह दर्ता गराउन आउने समस्या रहेको बताउनुभयो ।

जनचेतनाको कमीका कारण वर्षेनी बालविबाह रोकिन नसक्दा बालबालिका एकआपसमा विवाह गरी भागेर केही दिनपछि घरमा आउने गर्दछन् । जसका कारण छुटाउन समस्या रहेको अभिभावको गुनासो छ ।

पाल्पा जिल्लाको कचल कोलडाडा, सत्यवती, बल्ढेगंढी, जुठापौवा, वाकामलाङ्ग, सहलकोट, मित्याल, भिरुवाँस, गोठादी लगायतका गाविसमा अझै पनि शिक्षित परिवार समेत बालविवाह हुदै आएको अधिकारकर्मीहरुको भनाई छ ।

भर्ना अभियान संचालन पछि बालबालिकाहरु विद्यालय जान थाले

कृष्ण कार्की - विद्यालय छाडेर बसेका बालबालिकाहरु भर्ना अभियान संचालन भएपछि विद्यालय जान थालेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जनचेतनाको कमी र गरीवीका कारणले विद्यालय जानबाट बञ्चित भएका र विचैमा छौडेका बालबालिकालाई भर्ना अभियानले विद्यालय जाने वातावरण तयार गरेको हो । नयाँ शौक्षक सत्रमा विद्यालयले भर्ना अभियान अन्र्तगत घरदैलोमा पुगेर शिक्षाको महत्व अभिभावकलाई बुझाएपछि कक्षा छाडेका ४ हजार पाँच सय ३६ जना बालबालिकाहरुले पढन विद्यालय फर्केका हुन । कक्षा छाडेका कक्षा १, ३ र ५ का विद्यार्थीहरु विद्यालय भर्ना अभियानपछि विद्यालयमा पढ्न थालेका हुन । कक्षा २ र ४ मा भने भर्ना भएको देखिएको छैन । शिक्षा कार्यलय पाल्पाका अनुसार कक्षा छाड्नेहरुमा दलित जनजाति समुदायका बढी बालवालिका रहेका छन् । बालविकास केन्द्र देखि कक्षा पाँचसम्म पढन छाडेका समेत गरी नयाँ शौक्षिक सत्रमा पाल्पामा ९ हजार ७ सय ७४ जना विद्यालय भर्ना भइ पढन थालेको जिल्ला शिक्षा कार्यालय पाल्पा सुचना अधिकृत महेन्द्र सुवेदीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न विद्यालयहरुले भर्ना अभियान संचालन गरेपछि कक्षा १ मा ४ हजार ३ सय ३७ जना, कक्षा ३ मा ५२ र कक्षा ५ मा ३७ जना पुन विद्यालयमा भर्ना भई पढन थालेको सुचना अधिकृत सुवेदीले बताउनुभयो । विद्यालय छाडेका बालबालिकाहरुले पुनः विद्यालयमा भर्ना भएर अध्ययन गर्न थालेपछि अभिभावकले समेत बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय पठाउन थालेका छन् । विद्यालयले समेत नियमित स्कुल गराउन अभिभावकहरुसँग छलफल गर्दै आएको विद्यालयहरुले जनाएका छन । नयाँ शौक्षिक सत्रमा पाल्पामा ९ हजार ७ सय ७४ विद्यालय भर्ना भएका मध्ये बालविकास केन्द्रमा पढेर कक्षा १ मा भर्नाहरु वर्षेनी बढेका छन् । वालविकास केन्द्रमा भर्ना भएपछि कक्षा १ मा भर्ना गर्दा पढनपाठनमा सहज हुने शिक्षकहरुको भनाई छ ।

तानसेनमा पहिलो पटक निजी क्लिनिक दर्ता गरेर संचालमा

कृष्ण कार्की - तानसेनमा पहिलो पटक निजी क्लिनिक दर्ता गरेर संचालमा आएको छ ।

यसअघि रामपुरमा १ डेन्टल क्लिनिक दर्ता गरेर सचालन भएपनि तानसेनमा आफ्नै क्लिनिक दर्ता गरेर चलाउने डाक्टर झपेन्द्र ढकाल पहिलो हुनुभएको छ । उहाँले सन्चो क्लिनिक दर्ता गरि आज देखि सेवा सूरु गर्नुभएको छ ।
पाल्पा जिल्लामा डा झपेन्द्र ढकालको सन्चो क्लिनिक सहित ३ वटा मात्र जिल्ला स्वास्थ्य कार्यालयमा वैधानिक रुपमा दर्ता भएका छन ।
यस अधि लुम्बिनी मेडिकल कलेजको टाउन क्लिनिक दर्ता छ । तर यो मेडिकल कलेजको शाखा हो । सन्चो मेडिकल हलका संचालक नारायण कार्कीसंगै साझेदारीमा डा. ढकालले क्लिनिक सुरु गरेको पत्रकार भेटघाट कार्यक्रममा डा ढकालले जानकारी दिनुभयो ।
लामोसमय जिल्ला अस्पताल पाल्पामा सेवा दिएका डा. ढकालले आफ्नै क्लिनिकवाट सेवा दिएपछि तानसेनका बासिन्दा खुसी भएका छन । विशेष गरी सुगरका बिरामीलाई उहाँले राम्रो सेवा दिएपछि बजारका बिरामी सरकारी अस्पतालमा जाने भएका थिए ।
डा ढकालले आफु जिल्ला अस्पतालमा रहँदा बिरामीसेवा राम्रो सेवा गरेको बताउदै उहाँहरुको सल्लाहमा क्लिनिकवाट सेवा सुरु गर्न लागेको बताउनुभयो । दैनिक १५ जना भन्दा बढी बिरामी जाँच गर्न नपर्ने सरकारी अस्पतालमा डा. ढकालको सेवाकै कारण दैनिक कम्तीमा ५० जना बिरामी जाने अवस्थामा पुगेको थियो ।
डाक्टरबाट बिरामीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले आफ्नै नाममा सन्चो क्लिनिक दर्ता गरी सेवा सुचारु गरेको डा. ढकालले बताउनु भयो । ‘स्वास्थ्य जस्तो संवेदनशिल विषयमा जिल्लामा देखिएको बेथितिलाई न्यूनिकरण गर्ने र ‘स्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभ र सस्तो मुल्यमा २४ घण्टा उपलव्ध गराउने गरी क्लिनिक सुरु गरेको क्लिनिक संचालक समितिका अध्यक्ष नारायण कार्कीले बताउनु भयो ।

तानसेन नगरपालिका, ४ सिल्लखानटोलमा रहेको सन्चो मेडिकल हलमै सन्चो क्लिनिकको दर्ता सहित आजवाट सेवा सुरु भएको पत्रकार भेटघाटमा डा ढकालले बताउनुभयो । सन्चो क्लिनिक तथा मेडिकल हलबाट बिरामीको चेकजाँचका साथै, ल्याब, एक्सरे र फार्मेसी सेवा उपलब्ध हुने अध्यक्ष कार्कीले बताउनुभयो ।