पाल्पामा चाडपर्व सुरक्षा योजना लागू

पाल्पा, असोज १५ – जिल्ला प्रहरी कार्यालय पाल्पाले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वलाई मध्यनजर गरी चाडपर्व सुरक्षा योजना ल्याएको छ ।


चाडपर्वका बेला सवारी साधनमा यात्रुहरुको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम उच्च हुने भएकाले त्यसलाई रोक्न पनि छुट्टै योजना बनाएको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताउनुभयो । बजारमा हुने कालोबजारी, सवारी साधनमा हुने आर्थिक अनियमितता तथा आपराधिक गतिविधि रोक्न प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक वाग्लेले जानकारी दिनुभयो ।


प्रहरीले चाडपर्वको अवधिभर जिल्लाका चार स्थानमा नागरिक सहायता कक्ष संचालन गरेको छ । सदरमुकामस्थित तानसेन बसपार्क, आर्यभञ्ज्याङ, हार्थोक र रामपुरमा नागरिक सहायता कक्ष स्थापना गरिएका छन् । यसैगरी प्रहरीले राजमार्ग तथा सडक सुरक्षाका लागि गस्ती गर्नेछ । दिउँसो तथा रातीमा सडकमा यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै यसरी गस्ती बढाइएको प्रहरीले जनाएको छ ।


दोभान, बाँसटारी, प्रभास, बर्तुङ, आर्यभञ्ज्याङ, राम्दी, ताहूँ, जब्गादी, रामपुर, हार्थोक, मुझुङ, अर्गली लगायतका स्थानमा प्रहरीले चौबीसै घण्टा गस्ती गर्नेछ । सुरक्षाका लागि प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाउने र खबर संकलन गर्ने, व्यस्त बजार तथा किनमेल हुने स्थानहरुमा नागरिक सुरक्षाको लागि प्रहरी गस्ती विस्तार गर्ने, बैंक तथा वित्तिय संस्था आसपासका इलाकाहरुमा निगरानी बढाइएको छ । ग्रामीण इलाकाबाट बजार आवतजावत गर्ने बाटोहरुमा दिवा तथा रात्री गस्ती संचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।


धार्मिक मठमन्दिर, साँस्कृतिक कार्यक्रम स्थलहरुको सुरक्षा गर्ने, उपभोग्य सामग्रीको आपूर्ति सम्बन्धमा नियमित अनुगमन गरी कृत्रिम अभाव हुन नदिने, बजार क्षेत्र सवारी संचालन हुने सडकहरु र ग्रामीण क्षेत्रमा मोवाइल गस्ती संचालन गर्ने योजना बनाएको छ । पाल्पा जिल्लामा हाल २८६ प्रहरी, १९ ट्राफिक प्रहरी, २५ महिला प्रहरी, २६ सादा पोसाकका प्रहरी कार्यरत छन्, यो जनशक्तिको २५ प्रतिशतबाहेक अरु सबै प्रहरीलाई चाडपर्व सुरक्षामा प्रयोग गरिनेछ ।

 

रामपुरले कृषि पर्यटनलाई अघि बढाउने

रामपुर, असोज १४– रामपुर उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादनअन्तर्गत कृषि पर्यटनलाई अगाडी बढाउने कार्ययोजना अघि सारेको छ ।


संघको दोस्रो साधारण सभाले आगामी वर्ष कृषि पर्यटनलाई जोड दिने कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गर्दै नयाँ कार्ययोजना ल्याएको हो । २०७२ साल आश्विन १४ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यो संस्थामा ३ सय १७ जना उद्योग व्यवसायीहरु सदस्य रहेका छन् । साधारण सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले रामपुरमा उद्योग व्यवसायको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो । कालीगण्डकी करिडोर निर्माण पश्चात् रामपुर सुगम र आर्थिक केन्द्र बन्ने उहाँको भनाई थियो ।


पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मोहन प्रसाद श्रेष्ठले रामपुर उद्योग वाणिज्य संघलाई महासंघमा आवद्ध बनाउन आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पाल्पामा उद्योग व्यवसायको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार सरकारले बनाउनुपर्ने उहाँको जोड थियो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले उद्योग व्यवसाय सञ्चालन गर्न चाहना राख्नेहरुलाई योजना बनाएर अघि बढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा उपाध्यक्ष दुर्गा भट्टराईले स्वागत र रुद्र नारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । साधारण सभा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा चलेको थियो ।

पत्रकार महासंघको संशोधित विधान पाल्पाबाट जारी

पाल्पा, भाद्र ३१ -  नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ ।

 

 

गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समावेशी गरी विधान संशोधन समितिका संयोजक एवं महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई हस्तान्तरण गरेलगत्तै महासंघका जिल्ला एवं प्रतिष्ठान शाखा तथा एशोसियट अध्यक्षहरूको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी गरिएको हो ।

 

महासंघ अध्यक्ष डा. विष्टका अनुसार, राष्ट्रिय निर्देशन ऐनबमोजिम प्रक्रिया पुरा गरी तत्कालदेखि संशोधित विधान लागू हुनेछ । विधानको नयाँ व्यवस्था बमोजिम महासंघमा अव केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको संगठनात्मक ढाँचा रहने छ भने महासंघ थप समावेशी र ट्रेड युनियन अधिकार सम्पन्न हुनेछ । केन्द्रको निर्वाचन दस बराबर एकका दरले चयन हुने सभासदको निर्वाचनबाट र प्रदेश तथा स्थानीय तहको प्रत्यक्ष निर्वाचनबाट हुनेछ । प्रदेशको संख्या भौगोलिक आधारमा सात प्रदेशमा एक एक, काठमाडौं उपत्यका, प्रतिष्ठान र एशोसियटमा एक एक गरी १० हुनेछ भने सभासद् चयन गर्दा प्रत्येक चारमा एक जना महिला हुनुपर्ने, स्थानीय तहमा एक महिला उपाध्यक्ष अनिवार्य हुने, केन्द्रमा पदाधिकारीमा समावेशी उपाध्यक्षका अतिरिक्त सचिवमा खुला एकसँगै महिला, आदिवासी जनजाति, मधेशी, दलित, एशोसियट एक एक रहने र केन्द्रीय सदस्यहरु प्रत्येक प्रदेशबाट दुइ दुइ जनाका दरले रहने नयाँ व्यवस्था विधानमा गरिएको छ ।

 

पाल्पाको रानीमहलमा सम्पन्न केन्द्रीय समितिको वैठकपछि तानसेनमा हिजो आयोजित भेलाले १५ बुँदे पाल्पा रानीमहल घोषणपत्र जारी गर्दै श्रमजीवी पत्रकार ऐन र पछिल्लो न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार र मिडिया व्यवस्थापनलाई आग्रह गर्नुका साथै अनुगमन कार्यलाई अभियानकौ रुपमा अघि बढाउने र कार्यान्वयन नगर्ने पक्ष एवं मिडिया केन्द्रित आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

 

भेलाले साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा विशेष सेवा सुविधा प्रदान गर्न तथा लोककल्याणकारी विज्ञापन सुविधा बृद्धि गर्न, विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयन गर्न, मिडियालाई सेवा उद्योग सरहको कानुनी मान्यता दिई सो अनुरुप सेवा सुविधा प्रदान गर्न, नयाँ आम सञ्चार नीतिमा घोषणा गरिए वमोजिम राष्ट्रिय आमसञ्चार प्रतिष्ठान, सञ्चार संग्रहालय तथा अध्ययन प्रतिष्ठान एवं आमसञ्चार प्राधिकरणलगायतका संरचना निर्माण र मिडिया कानुनको पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ । स्वच्छ, मर्यादित, उत्तरदायी र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघले लिएको शुद्धीकरण अभियानलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सदस्यता वितरण, नविकरण, स्थानान्तरण लगायतका प्रक्रिया व्यवस्थित गर्न प्रतिवद्धता जनाउँदै भेलाले विगतमा पत्रकार रहेका र हाल पेशाबाट अलग भएका व्यक्तिहरुलाई शुद्धिकरण अभियानलाई सहयोग पु¥याउँदै स्वेच्छिकरुपमा महासंघको सदस्यता त्याग गर्न आह्वानसमेत गरेको छ ।

 

नेपाली भाषाका विषयमा पछिल्लो समयमा उत्पन्न विवादप्रति चासो व्यक्त गर्दै भेलाले भाषालाई विकृत बनाएर भाषाको पहिचान नै गुमाउने खालका प्रयासप्रति आपत्ती प्रकट गर्नुका साथै हिज्जे र वर्ण विन्यास मिलाउने नाममा भाषालाई नबिगार्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

 

भेलाले मुलुकमा भएका विभिन्न आन्दोलनले स्थापित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, सामाजिक न्याय, आर्थिक सम्मृद्धिलगायतका एजेण्डालाई संस्थागत गर्न राजनीतिक शक्तिहरुबीच बृहत समझदारी आवश्यक रहेको औंल्याउँदै सम्पूर्ण राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति कायम गर्दै संविधानको कार्यान्वयन गरी मुलुकलाई स्थिरता, आर्थिक समृद्धि तथा तीब्र विकासको बाटोमा अगाडि बढाउन आह्वान गरेको छ ।

 


ऐतिहासिक, पुरातात्विक, धार्मिक र प्राकृतिक सम्पदाको केन्द्र पाल्पा जिल्लाको समग्र विकासमा राज्यको ध्यानाकर्षण गराउँदै कालीगण्डकीको किनारमा रहेको ऐतिहासिक रानीमहल, पाल्पा दरवार, भैरवनाथ मन्दिरसहित पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विविधताको संरक्षण, प्रवद्र्धन तथा विकास गर्न, सिद्धबाबा क्षेत्रमा देखिएको आवागमनको समस्यालाई वैकल्पिक उपाय विकास गरी जिल्लाका अन्य सडकहरुको समेत स्तरोन्नति तथा निर्माणका कार्यमा ध्यान दिन पनि भेलाले सरकारको ध्यानाकर्षण गराएको छ ।

नवौँ पुस्तकालय दिवस मनाइयो

भाद्र १५, पाल्पा - धवल पुस्तकालय पाल्पाले नवौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पाल्पामा अध्ययन संस्कृति र पुस्तकाय विषयक कार्यशाला गोष्ठी गरेको छ ।


गोष्ठीले समाजमा अध्ययन संस्कृतिको विकास नहुँदासम्म नागरिकमा पुस्तक पढ्ने बानी नबस्ने भएकाले त्यस अनुकुलकको वातावरण निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पाल्पामा अध्ययन संस्कृति र पुस्तकालय विषयक कार्यपत्र प्रस्तुत गर्दै लेखक निर्मल श्रेष्ठले खस र सेनकालीन समयदेखि नै पाल्पा अध्ययनशील व्यक्तिहरु बस्ने थलोको रुपमा परिचित रहेको र अध्ययनका लागि पुस्तकालयहरु स्थापना गरी ज्ञान वृद्धि गर्ने अभियान चलेको इतिहास छ भन्नुभयो । पाल्पामा अध्ययन गर्नेको संख्या कम हुन थालेको भन्दै श्रेष्ठले भन्नुभयो, ‘अलिअलि पढ्नेले हलो छोड्थे, धेरै पढ्नेले थलो छोडे ।’ कार्यपत्र प्रस्तोता श्रेष्ठले पुस्तक अध्ययनबाट मानिस टाढा हुँदै गएको र ग्याजेटले गाजेपछि मानिस एकाङ्गी बन्दै गएको बताउनुभयो । घरमै निर्मल होम लाइब्रेरी स्थापना गरी अध्ययनमा रुची राख्ने श्रेष्ठले अध्ययन र सतसंग विना तप नहुने र तप विना चमक आउन नसक्ने विचार व्यक्त गर्नुभयो ।


कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंहले पढेलेखेका भन्नेहरुको घरमा अचेल पुस्तक होइन महंगा घर सजावटका सामग्री भेटिन्छन् भन्नुभयो । युनाइटेड मिशन अस्पतालका वरिष्ठ चिकित्सक डा. निरञ्जन शर्माले सम्झना शक्ति बढाउन र दिमागलाई क्रियाशील बनाइराख्न पुस्तक अध्ययनको निरन्तरता चाहिन्छ भन्नुभयो । साहित्यकार निशान्त बरालले विद्यार्थीहरु गाइड गेसपेपरमा, शिक्षकहरु पुरानो नोटमा र वकिलहरु ऐन नियमका टिप्पणीमा सीमित बन्दा पनि अध्ययन संस्कृतिमा दरार आएको बताउनुभयो । रुम टु रिडका कार्यक्रम संयोजक खड्ग कुवँर र नेल्टाका प्रशिक्षक गोपाल प्रसाद बस्यालले किताव पढिएन भने मानिसले ज्ञान कसरी वृद्धि गर्न सक्छ प्रश्न गर्नुभयो । कार्यक्रमका सहभागीहरुले समाजमा पुस्तक पढ्नेले शिक्षा र ज्ञानको कुरा गर्ने, नपढ्नेले पैसाको कुरा गर्ने प्रवृतिले द्वन्द्व हुने गरेको बताएका थिए ।


पुस्तकालयमा नियमित आउने र धेरै पुस्तक पढ्ने तानसेन भगवती टोलका मनचन श्रेष्ठलाई सम्मानित गरेको छ । कार्यक्रम पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको सञ्चालन, सचिव टंक पन्थको स्वागत र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो । वि.सं. १९८३ सालमा पुस्तक पढ्ने दलानको रुपमा विकास भएको यो धवल पुस्तकालयले पश्चिम नेपालको शैक्षिक सांस्कृतिक जागरणका लागि महत्वपूर्ण योगदान पु¥याएको छ । पुस्तकालय दिवस जिल्ला समारोह समितिले पनि वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता गरी पुस्तकालय दिवस मनाएको छ । यस वर्षको पुस्तकालय दिवसको नारा जीवन पर्यन्त पुस्तकालय रहेको थियो ।

माडी क्षेत्रलाई एउटै तहमा राख्न माग

पाल्पा, भाद्र १३ – स्थानीय तहको पुर्नसंरचना गर्दा माडी क्षेत्रलाई एउटै तहमा राख्न सरोकारवालाले माग गरेका छन् ।


कसेनी गाउँ विकास समितिले आज सराईमा आयोजना गरेको पुर्नसंरचनासम्बन्धि छलफल कार्यक्रममा माडी क्षेत्रका गाउँ विकास समितिका बासिन्दाले यस्तो माग गरेका हुन् । माडीको मदनपोखरा, कसेनी, रुप्से, झडेवा, हुमिन, चिदीपानी, नायरनमतलेस, पोखराथोक, चिर्तुङ्धारा, कोलडाँडालगायतका गाउँ विकास समितिलाई मिलाएर छुट्टै स्थानीय तह बनाउन सकिने स्थानीय बासिन्दाको राय रहेको छ ।


पूर्व जनप्रतिनिधि, गाउँ विकास समितिका सचिव, राजनीतिक दलका प्रतिनिधि, विकासप्रेमीहरुको सहभागिता रहेको बैठकले जनसंख्या, भूगोलको निरन्तरता र आवश्यक भौतिक पूर्वाधार सम्पन्न माडी क्षेत्रलाई एउटै तहमा राख्न जिल्ला प्राविधिक समिति र राजनीतिक दलहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला विकास समितिका पूर्व इलाका सदस्य तिलकराम घिमिरेले माडी नगरपालिका निर्माणको पहल पहिलेदेखि हुँदै आएको र प्रस्तावित नयाँ संरचनामा पनि त्यो सम्भावना बलियो भएकाले स्थानीय जनताको चाहनालाई आयोगले ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । झडेवा गाउँ विकास समितिका पूर्व उपाध्यक्ष विमल काफ्लेले राजनीतिक दलका स्थानीय कार्यकर्ताले जिल्लास्तरका नेताहरुलाई घचघच्याउनुपर्ने बताउनुभयो ।


माडी बचाउ अभियानका कार्यकर्ता राजकुमार पन्थीले सामाजिक, सांस्कृतिक र आर्थिक एकता रहेको माडी क्षेत्रलाई स्थानीय तहको संरचनामा पनि एक बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम कसेनी गाउँ विकास समितिका सचिव रेवतीरमण ज्ञवालीको अध्यक्षतमा चलेको थियो ।
स्थानीय निकाय पुर्नसंरचना आयोगले जिल्लामा प्राविधिक समिति गठन गरी सुझावसहितको प्रतिवेदन पठाउन निर्देशन दिएको छ । आयोगले पाल्पामा बढीमा ८ वटा तह बनाउन सकिने मापदण्ड तोकेको छ । स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित प्राविधिक समितिले पुर्नसंरचनासम्बन्धि प्रस्ताव सार्वजनिक गर्न सकेको छैन । नयाँ सरकार गठनपछि संख्याको सन्दर्भलाई लिएर दलहरुबीच छलफल चलिरहेको छ ।