पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

पुष ११, पाल्पा– सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।


तानसेन नगरपालिकामा आयोजित कार्यक्रममा सांसद त्रय सोमप्रसाद पाण्डेय, हरिप्रसाद नेपाल, तुलसा राना र मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाल सदस्यता ग्रहण गरी बीमा कार्यक्रमको उद्घाटन गर्नुभयो । बीमा दर्ता शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं २ का सांसद सोम प्रसाद पाण्डेयले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन आएकाले सबै पाल्पालीलाई बीमा गर्न आग्रह गर्नुभयो । नेपाल सामाजिक सुरक्षा कार्यक्रममा नेपाल दक्षिण एशियामै अग्रणी रहेको सांसद पाण्डेयको भनाई छ ।


पाल्पा क्षेत्र नं ३ का सांसद हरिप्रसाद नेपालले यो बीमा कार्यक्रमले रोग लागेको मान्छे, असक्त र असहायका लागि सहयोगी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । सांसद तुलसा रानाले संविधानको मर्म र भावना अनुसार आएको बीमा कार्यक्रम पाल्पामा सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपाल पैसा नभएको गरिब देश भए तापनि स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेर अग्रगामी एजेण्डा लिएको बताउनुभयो । स्वस्थ नागरिकहरुले बीमाको प्रिमियम तिर्न तयार भए मात्र यो कार्यक्रम प्रभावकारी हुने डा. कोइरालाको भनाई छ । कार्यक्रममा सहभागी राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरुले स्वास्थ्य बीमा कार्यक्रममा बढीभन्दा बढीको सहभागी हुनुपर्नेमा जोड दिएका थिए ।


कैलाली, बाग्लुङ, इलाम र वैतडीपछि पाल्पामा यो कार्यक्रम विस्तार गरिएको सामाजिक सुरक्षा स्वास्थ्य विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताउनुभयो । स्वास्थ्य बीमाका लागि ५ जनाको परिवारले २ हजार ५ सय रुपैँया जम्मा गर्नुपर्ने र १ वर्षसम्म ५० हजार रुपैँया बराबरको उपचार निःशुल्क हुने व्यवस्था रहेको छ । परिवारमा ५ जनाभन्दा बढी हुनेले प्रति सदस्य ४ सय २५ रुपैँया थप शुल्क तिर्नुपर्ने र उपचारमा प्रतिव्यक्ति १० हजार रुपैँया थप सुविधा पाउने व्यवस्था रहेको छ ।


पाल्पामा स्वास्थ्य बीमा सञ्चालनका लागि ८३ जना दर्ता कर्मचारी छनौट गरिएको र प्रत्येकको घरदैलोमा पुगेर सदस्यता वितरण गर्ने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाहरुले फागुनदेखि स्वास्थ्य बीमा सेवा पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिनुभयो ।

 

सिमेन्ट उद्योगले ज्यामिरेका सयौँ घर विस्थापित हुने

पाल्पा, पुष १० – पाल्पाको ज्यामिरे गाउँ विकास समिति जनताले भुटुकेबाट चुनढुङ्गा उत्खनन गरी वेनीमणिपुरसम्म ढुवानी गर्दा ज्यामिरेका करिव एक सय घर परिवार विस्थापित हुने भएका छन् ।


सरकारले होङ्गसी शिवम् सिमेन्ट प्रालीलाई ज्यामिरे ८, भुटुकेमा चुनढुङ्गा उत्खनन्का लागि अनुमति दिने तयारी गरेपछि सदियाँैदेखि बसोबास गर्दै आएका सयौँ घर विस्थापित हुने भएका हुन् । आयोजना सञ्चालनपछि ज्यामिरेको भुटुके, पिपिङ्दी, पोखरीछाप, मटेखरकका सयौँ घर प्रभावित हुनेछन् । आयोजना क्षेत्रमा हाल वायु, जल, ध्वनीको कुनै प्रदुषण नरहेको, रासायनिक मल विना खेतिपाती गरिदै आएको र कुनै औधोगिक गतिविधि नरहेकाले भौतिक तथा वातावरणीय अवस्था अत्यन्त राम्रो रहेको छ । 

 

नेपालमा सबैभन्दा ठूलो सिमेन्ट फ्याक्ट्रीका रुपमा सुरु हुन लागेको यो होङ्गसी शिवम् सिमेन्ट उद्योगले सुरुको ५ वर्षसम्म दैनिक ६ हजार मेट्रिक टन र त्यसपछि दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । ज्यामिरे ८, भुटुके चुनढुङ्गा उत्खनन गर्ने, ज्यामिरे २,३,७ र ८ तथा वेनिमणिपुर २,३,६ र ७ मा वेल्ट कन्भेयर र सुरुंग मार्ग निमार्ण गरी ढुवानी गर्ने र बेनिमणिपुर ३ मा सिमेन्ट उद्योगको स्थापना गर्ने आयोजनाको कार्यक्रम छ । सुरुङ्ग मार्ग मात्र साढे ४ किलोमिटर रहनेछ । यो होङ्गसी शिवम् सिमेन्ट उद्योगमा करिव ३६ अर्व रुपैँया लगानी रहने बताइएको छ । यसमा चिनियाँ कम्पनीको ७० र नेपालीको ३० प्रतिशत लगानी रहनेछ । उद्योग सञ्चालन गर्न प्रथम चरणमा ५० मेगावाट र दोस्रो चरणमा ८० मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


जिल्ला विकास समितिका पूर्व इलाका सदस्य मुक्तबहादुर सारुले दुर्गममा बसेका निरक्षर जनतालाई आयोजनाको प्रभाव, असर र चुनौतिका विषय बुझाएर मात्र अघि बढ्न आफूले भनिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनता बाँदर र ढेडुझैँ गाउँबाट धपिने अवस्था नआओस् । जनतालाई चित्त नबुझाई कुनै काम अघि बढ्न दिदैनौँ ।’


जनसंख्या तथा वातावरण मन्त्रालयले नेस प्राली र आइ ए एस प्रालीलाई परामर्शदाता नियुक्त गरी होङ्गसी शिवम् सिमेन्ट आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ । परामर्शदाता डा. माधव गिरीले आयोजना सञ्चालनपछि खानी क्षेत्रमा भू–अस्थिरता, भू–क्षयको जोखिम बढ्ने जानकारी दिनुभयो । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको कार्यकारी सारांश प्रस्तुत गर्दै गिरीले भन्नुभयो, ‘मानिसको जीवनयापन, जंगली जनावरको बासस्थान र बालीनालीमा असर पु¥याउनुका साथै सामाजिक अस्थिरता आउन सक्ने देखिन्छ ।’ नेकपा एमालेका अध्यक्ष तथा भुटुके निवासी देवबहादुर सारुले गाउँको रायसल्लाह विना आफूहरुले निर्णय लिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुर्खौँ पुर्खादेखि भुटुकेमा जन्मियौँ, हुर्कियौँ । जग्गा जमिन खेतीपाती गर्दै संरक्षण गर्दै आयौँ । अहिले खानी भएकाले हट्नुपर्छ भनेका छन् । हाम्लाई रुवाएर लखेटन् पाइदैन ।’


नेपाली काँग्रेस गाउँ समितिका सभापति तथा ज्यामिरे ७ वेभोकका बासिन्दा गगन सोतीले पहुँच मार्ग फराक बनाउँदा रुख काटिएको र आयोजना क्षेत्रका सामुदायिक र धार्मिक वनमा रहेका साल, खयर, चिलाउने जातका थुप्रै रुखहरु पनि काट्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । ज्यामिरे ३ को आमा समूहका अध्यक्ष सुमित्रा परियारले गाउँबाट विस्थापित हुने कुराले मन रोइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ रहँदाबस्दा हास्दै बसेका छौँ, यो आयोजना आएपछि हामीलाई रुदैँ हिड्न पर्ने अवस्था नगराओस् ।’


परामर्शदाताले वातावरणीय प्रभाव मूल्याकंनका लागि बोलाएको सार्वजनिक सुनुवाई कार्यक्रममा पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्थानीय विकास अधिकारीलाई ज्यामिरेबासीले आफूहरु धोती न टोपी हुने गरी उठिबास नलगाउन आग्रह गरेका छन् । खानी क्षेत्रका प्रभावित २६ घरधुरीले उचित मुआब्जा, प्रभावित परिवारलाई पुनस्र्थापनाको ग्यारेन्टी र सम्पूर्ण गाउँबासीलाई वातावरणीय सुरक्षाको प्रत्याभूति विना कुनै काम अघि नबढाउन जनताले माग गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले राष्ट्रिय गौरवकै रुपमा रहेको सिमेन्ट उद्योग सञ्चालन हुँदा आयोजनाले प्रभाव पार्ने क्षेत्रका जनताको जीवनयापन तहसनहस होइन, समृद्धि र सुरक्षा ल्याउने ग्यारेन्टी भएपछि मात्र उत्खननको काम सुरु हुने बताउनुभयो ।


सार्वजनिक सुनुवाईमा जनसंख्या तथा वातावरण मन्त्रालय, राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम, लगानी बोर्डको प्रतिनिधि उपस्थित थिए । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पत्रकारहरुलाई बोलाइएको थिएन । गाउँ विकास समितिका सचिव टंकनाथ आचार्यले स्थानीय जनताको माग, चासो र सरोकारलाई ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले वातावरणीय प्रभाव मूल्यांकन कपी पेष्ट हुने गरेको प्रसंग उल्लेख गर्दै सम्भावित वातावरणीय स्थिति, जनताका भनाई र आवश्यकतालाई प्रतिवेदनमा समेट्न परामर्शदातालाई आग्रह गर्नुभयो । परामर्शदाताले प्रतिवेदन बुझाएपछि मात्र जनसंख्या तथा वातावरण मन्त्रालयले खानी सञ्चालनका लागि पूरा गर्नुपर्ने आवश्यक शर्तसहितको राय प्रतिवेदन उद्योग मन्त्रालयलाई बुझाउनेछ ।

सिद्धबाबा बाइपास पुल शिलान्यास

पुष ८, पाल्पा – दोभान गाउँ विकास समितिको वडा न. ५ र ६ जोड्ने पक्की पुलको आज पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएको छ ।
नेपाल सरकार भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको ६ करोड ५७ लाख ६ हजार २ सय ५० रुपैँया लागतमा निर्माण हुन लागेको यो पुलको पूर्व उद्योगमन्त्री पाण्डेयले आज शिलान्यास गर्नुभएको हो ।


शिलान्यास गर्दै सांसद पाण्डेयले यो पुल बनेपछि सिद्धबाबा क्षेत्रमा पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्न र दोभान, कचल सत्यवती र बल्ढेंगढी क्षेत्रका जनतालाई आवतजावत गर्न सजिलो हुने बताउनुभयो । आयोजनाको अवधि करिव ३ वर्ष रहेको उल्लेख गर्दै सांसद पाण्डेयले बजेटको अभाव हुन नदिने बताउँदै सम्झौता अवधि अगावै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चक्रव्यूह थापा, नेकपा एमाले पाल्पाका मोहनलाल गैरे, नेपाली कांग्रेस दोभानका गाउँ सभापति लालबहादुर थापा, वरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले बजेट र योजनामा पारेकोमा सांसदलाई धन्यवाद दिँदै समयमा काम सम्पन्न गराउन खबरदारी होस् भन्ने कामना गर्नुभयो ।


स्थानीय बासिन्दाले पुल निर्माण हुन लागेको खुशीयालीमा पञ्चैबाजासहित ¥याली गरेका थिए । सडक कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यले कार्यक्रममा स्वागत गर्दै पुलको लम्वाई ७२.९ मिटर रहेको र ३५÷३५ मिटरका २ वटा स्पान रहने जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय पाल्पाले आयोजना गरेको शिलान्यास कार्यक्रममा दोभानको तिनाउ नदी तिरमा चलेको थियो । डिभिजन प्रमुख बाबुराम सापकोटाको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।


सिदार्थ राजमार्गको सिद्धबाबा सडक खण्डको बाइपासका लागि निर्माण गर्न लागिएको बेलबास, नुवाकोट, दोभान सडकअन्तर्गत तिनाउ खोलामा यो पुल निर्माण हुनेछ । सिद्धबाबा बाइपास अर्थात वैकल्पिक सडकका अतिरिक्त यसले दोभान कचल सडकमा मुख्य पूर्वाधारका रुपमा रहनेछ । गजेन्द्र जे एन ईश्वर सिद्धबाबा जेभि स्याङ्जाले पुल निर्माण गर्ने ठेक्का लिएको छ ।

प्रदेश टुक्र्याउने प्रस्ताव विरुद्ध युवाहरुद्वारा पाल्पा बन्द

पाल्पा, मंसिर १६- पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध पाल्पामा बिहीबार पनि बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।

बन्दका कारण सदरमुकाम तानसेनलगायत पाल्पाको जनजीवन प्रभावित भएको छ । युवा संघ, तरुण दल, अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठन अखण्ड प्रदेश कायम राख्नुपर्ने माग गर्दै बिहानैदेखि प्रद्धर्शन गरिरहेका छन् । बिहानैदेखि पाल्पामा प्रदर्शन, यातायात बन्द र बजार पसल बन्द गराएका छन् । बिहानैदेखि सडकमा ओर्लिएका युवा, विद्यार्थी र तरुणले बजार, कलकारखाना, स्कुल क्याम्पस बन्द गराएका छन् । 

पाल्पा बन्दले पाल्पाको तानसेन लगायत ग्रामीण भेगका साथै सिद्दार्थ राजमार्ग र गुल्मी, अर्घाखांची जाने सडकमा सवारी साधन बन्द भएको छ । विद्यार्थी र युवाहरु सडकमा नारा जुलुस गर्दै हिँडेका छन् । पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन बन्द भएका छन् । युवा विद्यार्थीले नारा लगाउदै राष्टघाती संविधान संशोधन फिर्ता लिनुपर्ने र नलिएमा निरन्तर आन्दोलन गर्ने बताएका छन् ।

संविधान संशोधनका विरुद्धमा सबै युवा, विद्यार्थी र तरुण एकजुट भएर आन्दोलन अघि बढाएको अखिलका केन्द्रीय सदस्य दिपक विकले जानकारी दिए । उनले दलहरुको आन्दोलनलाई सहयोग गर्दै युवा, तरुण र विद्यार्थीले आन्दोलनलाई थप सशक्त बनाउने बताए । 
युवा विद्यार्थीले अनिश्चितकालीन रुपमा सरकारी नम्बर प्लेटका सवारी साधनलाई गुड्नसमेत नदिएको नेविसंघका अध्यक्ष कृष्ण बहादुर अालले बताए । सरकारको संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राउने एजेण्डा फिर्ता नलिएसम्म सरकारी सवारी साधनलाई तानसेन बजारमै गुड्न नदिनेसमेत बताएका छन् । बन्दका बेला राप्रपा पाल्पाको एकता भेलालाई भने कार्यक्रम गर्न दिने उनीहरुले बताएका छन् । प्रेस, दुध, पानी, पर्यटक, एम्बुलेन्स लगायतका सवारी साधन भने चलेका छन् ।

राजनितिक दलहरुले पाँच नम्बर प्रदेश टुक्रयाएको विरोधमा वृहत अन्तरक्रिया राखेका छन् भने १८ गते पाल्पा बन्द आव्हान गरिसकेका छन् । अान्दाेलनकारीले सरकारले विद्येयक फिर्ता नलिएसम्म विभिन्न आन्दोलनको कार्यक्रम गर्नेसमेत बताएका छन् ।

संविधान संशोधनको मस्यौदा राष्ट्रियताको हित विपरितः लोहनी

पाल्पा, १५ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा अर्थविद् डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा तीन तहको निर्वाचन हुन नसके देश संकटमा फस्ने बताउनुभएको छ ।

 

पाल्पाको तानसेनमा भएको कार्यक्रममा बोल्दै नेता लोहनीले संविधान कार्यान्वयनका लागि देशमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन अपरिहार्य भएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी, पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता लोहनीले जनताप्रति स्थानीय निकाय उत्तरदायी बन्नका लागि स्थानीय निकायको निर्वाचनको आवश्यक रहेको बताउनुभयो ।

 

प्रदेश र संघको निर्वाचन नभएमा देशमा ठुलो संकट उत्पन्न हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनीको दावी छ । उहाँले भन्नुभयो, ‘निर्वाचन नहुँदा भ्रष्टाचार मौलाउँदै गएको छ, विकास निर्माका काममा बाधा पुगेको छ । उहाँले जनताको चाहना र जनताप्रति जवाफदेही बन्नलाई तीन तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो । नेता लोहनीले प्रदेश नम्वर ५ लाई राजनीतिक, आर्थिक र भौगोलिक आधारमा समेत पहाडी जिल्लालाई मधेशबाट अलग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेश र पहाडका जनताले अलग हुने माग नगरेको यो प्रदेश छुटाउने माग कसको हो ?’ पहाडी जिल्लालाई अलग गर्नु राष्ट्र, राष्ट्रिय र जनताको भावना हित विपरितको काम भएको उहांले बताउनुभयो । जनताको चाहना विपरितको आन्दोलन भएकाले कताबाट आएको हो भन्नेमा शंका उत्पन्न भएको उहाँले बताउनुभयो ।

लोहनीले आर्थिक, राजनीतिक रुपमा पनि रुपन्देही र पाल्पा, दाङ र प्युठानलाई अलग गर्न नमिल्ने बताउनुभयो । सरकारले अहिले सिमाकंन संशोधनका लागि ल्याएको प्रस्ताव राष्ट्रियताको विरुद्ध रहेको उहाँको भनाई छ । संविधान संशोधन गर्न नहुने होइन तर जनताको माग वमोजिमको हुनुपर्ने बताउदै उनले राष्टिय हित र स्वार्थमा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरको अध्यक्षतामा चलेको थियो