जिल्ला समन्वय समिति नौ सदस्यीय बन्ने

पाल्पा, साउन ९– जिल्ला समन्वय समिति पाल्पा ९ सदस्यीय हुने भएको छ ।


पाल्पा जिल्लाका २ नगर कार्यपालिका र ८ गाउँ कार्यपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष सदस्य रहेको जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको छ । जिल्ला सभाका जेष्ठ सदस्य तानसेन नगर कार्यपालिकाका प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा बसेको बैठकले समन्वय समितिको संख्या निर्धारण गरेको हो । जिल्ला सभा बैठकले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, आम मतदातालगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले सभाले संख्या यकिन गरेकाले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गर्ने जानकारी दिनुभयो ।


गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीस दिनभित्र जिल्ला सभाको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था वमोजिम पाल्पा जिल्ला सभाको बैठक आज बसेको हो । जिल्ला समन्वय समितिमा एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला, एक जना दलित वा अल्पसंख्यकसहित नौ सदस्य रहने छन् । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ । गाउँ सभा र नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा उमेदवार हुन सक्नेछ ।


बीस सदस्यीय जिल्ला सभामा नेकपा एमालेका १३ र नेपाली काँग्रेसका ७ जना सदस्य रहेका छन् । संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति गठन सम्बन्धि व्यवस्था रहेको छ ।