तानसेनसहित पाल्पाका जनप्रतिनिधिले काम थाले

पाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् ।


तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५ जनाले स्थानीय सरकारको नेतृत्व लिएका छन् ।


तानसेन नगरपालिकाको नेतृत्व सम्हालेपछि नगरप्रमुख अशोक कुमार शाहीले तानसेनलाई समृद्ध र सुन्दर सहरको रुपमा विकास गर्ने बताउनुभयो । विस्तारित तानसेनको विकासका लागि आवश्यकता र औचित्यताका आधारमा कार्यक्रम तथा बजेट विनियोजन गरिने बताउँदै समानुपातिक विकासलाई प्राथमिकता दिन्छौँ भन्नुभयो । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक नगरलाई व्यवस्थित गरी पर्यटनको गन्तव्यस्थल बनाउने नगरप्रमुख शाहीको जोड छ । तानसेन नगरपालिकाको पहिलो बैठकले सुशासनका लागि नगरपालिकाका सम्पूर्ण खर्च भुक्तानीलाई २४ घण्टाभित्र सार्वजनिक गर्ने निर्णय गरेको छ । प्रमुख शाहीले तानसेनका नगरसडकका खाल्डाखुल्डी पुर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।


पदभार ग्रहण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरलाई व्यापारिक र आर्थिक केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले एक घर एक धारा, एक सेफ्टी ट्यांकी र सफा नगर बन्ने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख थापाले जनताको विश्वासलाई पूरा गर्न आफूहरु सक्रिय रहने बताउनुभयो ।
तिनाउ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ओमबहादुर घर्तीले तिनाउभित्रका प्राकृतिक स्रोत खनिज पदार्थ, वनजंगल र पानीको परिचालन गरी जनताको जीवनमा सुधार ल्याउने बताउनुभयो । उहाँले चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिने बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले कृषि र पशुपालनमा समुदायको सहभागिता वृद्धि गर्ने बताउनुभयो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, रैनादेवी छहराका अध्यक्ष रामबहादुर कार्की, रिब्दीकोटका अध्यक्ष नारायण जीसी, निस्दीका अध्यक्ष मुक्तबहादुर सारु, पूर्वखोलाका अध्यक्ष नुनबहादुर थापा र रम्भाका अध्यक्ष विष्णु भण्डारीले स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्ने बताउनुभयो ।


मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश भरतमणि खनालले शान्तिपूर्ण निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आएको अब विकासका रेखाहरु कोरिने विश्वास व्यक्त गर्नुभयो ।