तीन महिनामा सोह्र हजारले स्वास्थ्य विमा गरे

पाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ ।

सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले स्वास्थ्य विमा गराएका छन् । चार महिनाको अवधिमा दश हजार मानिसको स्वास्थ्य विमा गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी १६ हजार मानिसले स्वास्थ्य विमा गराएको सामाजिक स्वास्थ्य विमा समिति पाल्पाले जनाएको छ ।

समितिका प्रवन्धक मनोज पौडेलले १६ हजार विमा गरेका मानिसहरूमध्ये ६ हजार व्यक्तिले विमा मार्फत् उपचार सेवा लिन सक्ने भएका छन् । उहाँका अनुसार विमा गर्ने १६ हजार पुग्ने भए तापनि बैशाख १ गतेदेखि १० हजार व्यक्तिले मात्र विमा मार्फत् उपचार सेवा पाउने छन् । यहाँ बैशाख १ गते देखि ८ वटा स्वास्थ्य सेवा संस्थाहरूले विमाको उपचार सेवा प्रदान गर्ने छन् । यस यघि ६ वटा संस्थाले मात्र उपचार सेवा दिदै आएकोमा मिशन अस्पताल र लायन्स लाकौल आँखा अस्पतालले पनि सेवा दिन थालेका छन् । आगामी एक वर्षको अबधिमा ५० हजार पाल्पाका मानिसलाई स्वास्थ्य विमा गर्ने अनुमान गरिएको प्रबन्धक पौडेलले जानकारी दिनुभयो ।

लुम्विनी मेडिकल कलेजबाट ९ सय जना, रामपुर अस्पतालबाट ९० जना, जिल्ला अस्पतालबाट ६० जना, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० जना, खस्यौली प्राथमिक स्वास्थय केन्द्र ६४ जना, लुम्बिनी अञ्चल अस्पतालबाट १६ जना गरी हालसम्म ११८० जना उपचार सेवा लिएका छन् । सेवा लिने व्यक्तिहरूले स्वास्थ्य विमाप्रति सकारात्मक प्रतिक्रिया दिएको विमा कार्यक्रमका फोकल पर्सन गौरीशंकर सिंहले बताउनुभयो । उहाँले विमाको लागि हालसम्म ५५ लाख रुपियाँ बैँकमा जम्मा गरिएको हालसम्म ११८० जना बाट ६ लाख १० हजार रुपियाँ खर्च भएको छ ।

जिल्लामा विमा कार्यक्रम सफल बनाउन गाउँगाउँमा रहेका ८३ जना स्वयसेवीहरू खटिएका छन् । सरकारले देशका विभिन्न ८ वटा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम गरेको छ । विपन्न नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्नका लागि स्वास्थ्य विमा कार्यक्रमको सुरुवात गरिएको हो ।