वडाअध्यक्ष छनौटका लागि दलहरु सक्रिय

पाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् ।


राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान गरेको र जनताबीच स्थापित नेता रोज्ने क्रम प्रायः सबै पार्टीहरुमा चलेको देखिन्छ । पार्टीका केन्द्रीय तहका एक सरो नेताहरुसमेत जिल्लामा आएर निर्देशन दिने काम सकेका छन् । ्


नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गैरेले बैशाख २ गतेसम्म जिल्लामा नाम पठाउन निर्देशन दिइएको र १्\२ वटा वडामा सर्वसम्मत उमेदवार छनौट भएको बताउनुभयो । काँग्रेसले आधिकारिक पत्र आएपछि नाम सार्वजनिक गर्ने जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष नारायण आचार्यले वडा कमिटीबाट सर्वसम्मत र प्रस्तावित वडाअध्यक्षको सिफारिश प्राप्त भइरहेको जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले बैशाख ५ गतेसम्म वडाअध्यक्षको सिफारिश गर्ने समय दिएको र आन्तरिक छलफल भइरहेको जिल्ला संयोजक गीरबहादुर थापाले बताउनुभयो ।


पाल्पा जिल्लामा नेकपा एमालेले उमेदवारको सूची तयार गर्ने काममा अगाडि देखिन्छ । स्थानीय तहका ८१ वडा मध्ये ३५ वटामा एमालेले वडाअध्यक्षको उमेदवार सर्वसम्मत रुपमा छनौट गरेको छ । तानसेन नगरपालिकाको वडा ४ बाट वसन्त जीआर, वडा नं ११ बन्दिपोखराबाट दामोदर घिमिरे, वडा नं १३ बौघापोखराथोकबाट देवेन्द्र राना एमालेको वडाअध्यक्षको उमेदवार बन्ने निश्चित भएको छ । तानसेनकै अन्य वडाहरुमा धेरैबाट एक उमेदवार खोज्ने प्रयास भइरहेको एमालेले जनाएको छ । रामपुर नगरपालिकाको वडा नं १ मा मित्रलाल कडेंल, वडा नं ९ खालीवनमा इच्छाराम सिंजाली एमालेको उमेदवार बन्ने निधो भएको छ ।


एमालेले रिब्दीकोट गाउँपालिकाका ७ वटै वडामा वडाअध्यक्षका उमेदवार तय गरेको छ । वडा नं १ ख्याहाबाट दिवाकर पराजुली, वडा नं २ देउरालीबाट रामचन्द्र नेपाल, वडा नं ३ खस्यौलीबाट विष्णु खनाल, वडा नं ४ भैरवस्थानबाट दुर्गा खनाल, वडा नं ५ कुसुमखोलाबाट कृष्ण बहादुर थापा, वडा नं ६ ठिमुरेबाट तुलबहादुर जीसी र वडा नं ७ पालुङमैनादीबाट तील बहादुर रास्कोटीको नाम सिफारिश भएको छ ।


रैनादेवी गाउँपालिकामा वडा नं १ सिद्देश्वरबाट ओमबहादुर दर्लामी, वडा नं २ सोमादीबाट चन्द्रकान्त पोखरेल, वडा नं ३ मुझुङबाट कृष्णबहादुर अर्घाली, वडा नं ७ बल्ढेङगढीबाट कुलबहादुर खड्का, वडा नं ८ सत्यवतीबाट रेमबहादुर रानाको नाम वडाध्यक्षमा सर्वसम्मत सिफारिश भएको छ । यसैगरी माथागढी गाउँपालिका वडा नं १ चिदीपानीबाट पूर्णबहादुर सारु, वडा नं ४ झडेवाबाट शंकर दर्लामी, वडा नं ५ गोठादीबाट चेतबहादुर थापा, वडा नं ६ माथागढीबाट यमबहादुर गाहा वडाध्यक्षमा सर्वसम्मत सिफारिश भएको एमालेले जनाएको छ ।


रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा उमानसिं सारु, वडा नं ३ पीपलडाँडाबाट बुद्ध सूर्यवंशी, वडा नं ४ हुमिनबाट भोज बहादुर बिक, पूर्वखोला गाउँपालिका ६ हेक्लाङबाट मन बहादुर सारु, निस्दी ३ झिरवासबाट लक्ष्मी प्रसाद पाटा, तिनाउ गाउँपालिका १ कचलबाट रोमबहादुर लम्तरी, वडा नं ४ कोलडाँडाबाट लालबहादुर दर्लामी, वडा नं ६ मस्यामबाट गोपाल जीसी एमालेका वडाअध्यक्षका उमेदवार छनौट भएका छन् ।