स्वदेशमै अवसर छ, विदेश जानु बेकार छ : गभर्नर नेपाल

पाल्पा महोत्सव सुरु

पाल्पा, फागुन १२– नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले कामका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।


पाल्पा महोत्सव २०७३ को तानसेनमा उद्घाटन गर्दै उहाँले देशमै प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने भएकाले विदेश जाने मानसिकता त्याग्न आग्रह गर्नुभयो । गभर्नर डा. नेपालले पछिल्लो मौद्रिक नीतिमार्फत् उत्पादनमूलक क्षेत्रहरुमा चाहिए जति कर्जा प्राप्त गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुत्पादक क्षेत्रहरुको लगानीमा नियन्त्रण गरिएको छ । व्यक्तिगत सुविधाका गाडी, घर तथा घडेरी जस्ता क्षेत्रमा लगानी गरेर प्रतिफल दिन सकिंदैन ।’


गर्भनर डा. नेपालले भन्नुभयो, ‘जसले जति माग्यो, उसैलाई पैसा दिएका कारण अहिले यो तरलताको अवस्था आएको हो ।’ वितेको ६ महिनाको अवधिमा ४ सय २८ अर्बको व्यापार घाटा व्यहोर्नु परिरहेको उहाँको भनाई थियो । गभर्नर डा. नेपालले मुलुकको समग्र आर्थिक विकास एवम् आर्थिक वृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहनेछ । कार्यक्रममा उद्योग व्यवसायीहरुले लगानीको वातावरण अझै बन्न नसकेको बताएका थिए ।


पाल्पा उद्योग वाणिज्य संघको आयोजना सुरु भएको महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको पहिलो दिन विभिन्न झाँकी तथा ¥यालीले बजार परिक्रमा गरेको थियो । झाँकी प्रदर्शनीतर्फ साहाराकला केन्द्र प्रथम, ओमशान्ति दोस्रो, लुम्बिनी मेडिकल कलेज तेस्रो भएका छन् । यस्तै न्यू होराईजन, भवन तथा बाटो निर्माणकर्मी संघ, आरती भजन र छमछम कला केन्द्रले सान्त्वना स्थान पाएका थिए ।


११ औँ संस्करणका रुपमा सुरु भएको महोत्सवले कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्ने मूल आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘महोत्सवमा झण्डै आठ करोडको कारोबार हुने र दुई लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।’ बहुउद्देश्यीय भवन निर्माण तथा समग्र जिल्लाको विकासका लागि महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।


महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित सामाग्रीहरुको प्रदर्शनी, टर्की र अष्ट्रिज चरा, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रीहरुको उत्पादन प्रदर्शनी रहेको छ ।