पाल्पा महोत्सवको अन्तिम तयारी

पाल्पा, फागुन ८– पाल्पा महोत्सव–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ ।


आगामी फागुन १२ देखि २२ गतेसम्म जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम भएको पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । एघारौँ संस्करणका रुपमा हुने यो महोत्सवले कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । महोत्सव आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले करिव आठ करोडको कारोबार हुने र दुई लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । उनले संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा पर्यटन विकासका लागि महोत्सव आयोजन गरिएको जानकारी दिए ।


मूल आयोजक समितिले जिल्लाका सरोकारवालाहरुसँग छलफल गरी महोत्सव सञ्चालनका सम्बन्धमा सुझाव समेत संकलन गरेको छ । सांसद राधाकृष्ण कडेंलले महोत्सवमा जिल्लाको ऐतिहासिक स्थल तथा पर्यटकीय सम्भावनाको उजागर गराउन सुझाव दिए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले महोत्सव जिल्लाकै ठूलो पर्वको रुपमा रहेको र यसले जिल्लाका सञ्चार माध्यमहरुलाई समेत टेवा पु¥याउनुपर्ने बताएका थिए । सहभागीहरुले महोत्सवलाई सूचनामैत्री र सेवाभावमुखी बनाउन सुझाव दिएका छन् ।


महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित सामाग्रिहरुको प्रदर्शनी, टर्की र अष्ट्रिज चरा, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रीहरुको उत्पादन प्रदर्शनी रहने छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँगै विभिन्न प्रतियोगिता र विभिन्न कलासंस्कृती प्रदर्शनी गरिने छ । महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवाका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पु¥याउने बताइएको छ ।


महोत्सवमा चार सय ६३ स्टल रहने प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए । उनी भन्छन्, ‘५० भन्दा बढी स्टलहरु जनचेतनाका लागि राखिएका छन् । स्थानीय उद्योगी व्यापारीहरुलाई पनि महत्वपूर्ण स्थानहरु प्रदान गरिएको छ ।’ कृषि, अटोमोबाईल, आईटि, बैंक तथा वित्तिय संस्था,, गार्मेन्ट, किराना आदी स्टल रहने छन् । महोत्सवको मुख्य प्रयोजकको रुपमा नेचर नेष्ट प्राली रहेकोे छ ।