सिद्धबाबा क्षेत्रमा रकनेट प्रविधि जडान हुँदै

पाल्पा, माघ ४– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा भीरबाट खस्ने ढुङगा रोक्न ‘रकनेट’ नमुना प्रविधी जडान सुरु गरिएको छ ।


सिद्धबाबा क्षेत्रको चट्टाने पहिरो रोकथाम नमूना परियोजना अन्तर्गत सिद्धबाबा र दोभान बिचमा रक नेट (जाली) प्रविधी जडान गर्न थालिएको हो । प्रति घण्टा एक सय किलोमिटरको गतिमा आएको १ टनको ढुङ्गा रोक्ने रकनेट प्रविधी जडान सुरु गरिएको भूगर्भविद् इन्जिनियर डा. रञ्जन दाहालले बताउनुभयो । नमूना परीक्षण कार्यक्रमअन्तर्गत यो नेट एक सय २० वर्ग मिटरमा चार मिटर उचाई र २७ मिटर चौडाईमा फैलिनेछ । जाली अड्याउनको लागि ड्रिलिङ्ग मेसिनले चारदेखि आठ मिटरसम्मको प्वाल बनाउने काम भैरहेको छ ।


नेपाल सरकार सडक विभागको समन्वयमा जियोटेक सोलुसन्स इन्टरनेशनल प्रालीले मंसिरदेखि फागुन मसान्तसम्मको चार महिना अवधिमा एक हजार किलो जुल रहेको ओमेगा नेट जडान कार्य पूरा गर्ने लक्ष्यका साथ काम आरम्भ गरेको छ । कुल ५२ लाखको लागतमा यो नमूना रक नेट प्रविधि सुरु गरिएको भूगर्भविद् डा. दाहालले जानकारी दिनुभयो । यो परियोजनाको साझेदारका रुपमा त्रुमर सुचबाउतेन, अष्ट्रिया र हिमालय कन्जर्भेशन ग्रुप नेपाल रहेका छन्, जसले नमूना प्रविधिका लागि सामाग्री र प्रविधिमा सहयोग गर्ने छन् । सिद्धबाबा सडक क्षेत्रमा प्रत्येक वर्ष जस्तो पहिरो खसेर सडकमा गुड्ने गाडी तथा यात्रीलाई बगाउने गरेको छ ।


सिद्धबाबा क्षेत्रमा पहिरो खसेर वर्षेनी ठूलो मात्रामा जनधनको क्षति भएकाले एउटा विकल्पका रुपमा यो रक नेट जडान कार्य पहिलो पटक परीक्षण गर्न लागेको पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ,–‘मानवीय र भौतिक क्षतिलाई न्यूनिकरण गर्न परीक्षण गर्न लागिएको छ । नमूना कार्यले सफलता पाएमा आगामी वर्षदेखि अन्य स्थानहरुमा सरकारले नै यो कार्य अगाडी बढाउने छ ।’ पाल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद रहेका पाण्डेले यस सडक खण्डको सुधारका लागि धेरै विकल्पहरुको खोजी भएको र तत्कालका लागि रक नेटिङ्गको परीक्षण गरिएको बताउनुभयो । यस क्षेत्रमा सुरुङ्गमार्ग एवं अर्ध सुरुङ्गमार्गका लागि पनि अध्ययन अनुसन्धानको काम भइरहेको सांसद पाण्डेले जानकारी दिनुभयो ।


सडकको लागि रकनेट प्रविधि नेपालमा नमूना कार्य भएता पनि माथिल्लो तामाकोशी हाईड्रोपावरमा ६ करोडको लागतमा रक नेटिङ्ग प्रविधिबाट काम गरिएको जियोटेक सोलुसन्सले जनाएको छ ।