धवलमा पाल्पा कक्षको आरम्भ

पाल्पा, मंसिर १५– धवल पुस्तकालयले पाल्पाको साहित्य, भाषा, संस्कृति र दर्शन आदिका दस्तावेज संकलन तथा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले पाल्पा कक्ष स्थापना गरेको छ ।


पाल्पा कक्षको वरिष्ठ साहित्यकार तथा मदन पुस्तकालय गुठीका अध्यक्ष कमलमणि दीक्षितले शनिबार उद्घाटन गर्नुभयो । उहाँले १९८३ सालमा स्थापित धवल पुस्तकालय आधुनिक नेपालको अग्रज पुस्तकालयमा पाल्पा कक्षको आरम्भ गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्नुभयो । साहित्यकार दीक्षितले मदन पुरस्कार पुस्तकालय धवलको भाइ पुस्तकालय हो, भाइका नाताले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि कमलमणि दीक्षितले पाल्पाका आदिकवि छविलाल नेपालको तस्वीर अनावरण गर्नुभयो । पृथ्वीनाराण क्याम्पसका सहप्राध्यापक चूडामणि खनालले कविवर माधवप्रसाद देवकोटाको व्यक्तित्वमाथि लेख्नुभएको पारखीका कसीमा माधवीय केही काव्यकृतिहरु नामक कृतिसमेत कार्यक्रममा लोकार्पण गरिएको थियो ।


कार्यक्रममा इतिहासविद् भवेश्वर पंगेनीको धवल पुस्तकालयको प्रारम्भिक रुप पुस्तक पढ्ने दलान र मदन देउरालीको पाल्पाको सांगीतिक इतिहास विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भयो । पाल्पा कक्षका लागि पुस्तकालयका पूर्व अध्यक्ष तानसेन १ मेहलधारा निवासी कृष्णदेव शर्माले १ लाख ११ हजार १ सय ११ रुपैँया प्रदान गर्नुभएको थियो । चन्दादाता रेग्मीले आफ्नो जीवनका धेरै वर्ष पुस्तकालयमा विताएकाले चौरासी पूजा गर्दा लाग्ने रकम पुस्तकालयकै विकासमा लगाउन चाहेको बताउनुभयो । यसै गरी पुस्तकालयको विकासका लागि विमला रेग्मीले २५ हजार रुपैँयाप्रदान गर्नुभयो भने पुरस्कारका लागि उमनाथ आत्रेयले ५० हजार, डा. यशोवद्र्धन प्रधानले २५ हजार र शालग्राम अधिकारीले ५ हजार रुपैँया प्रदान गर्ने घोषणा गर्नुभयो ।


कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार कमलराज रेग्मीले शिक्षा, साहित्य र जागरणको क्षेत्रमा धवल पुस्तकालयको अहम् भूमिका रहेको र यसको पृष्टभूमिमा अम्बिकाप्रसाद लाकौलको देन भूल्न नहुने बताउनुभयो । उहाँले नेपाली र विदेशी भाषीलाईसमेत आकर्षित गर्ने यस पुस्तकालयले पाल्पा कक्ष स्थापना गरेर पाल्पाको गरिमालाई थप उचाईमा पु¥याएको बताउनुभयो । कार्यक्रममा साहित्यकार भूपनिधि पन्त, वनमालि निराकार, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, मधुपर्कका सहसम्पादक तुलसीहरि कोइराला, वरिष्ठ पत्रकार मेघराज शर्मा, वुद्धिजीवी छत्रराज शाक्य, बुद्धिप्रसाद शर्मालगायतले यस्तो महत्वपूर्ण कार्यक्रम गरेर पुस्तकालयले पाल्पाको गरिमा बढाएको बताउनुभयो । कार्यक्रममा साहित्यकार टंक पन्थ, होमनाथ शर्मा र ऋषि कडेंल भारद्वाजले छन्दोवद्ध कविता वाचन गर्नुभयो । कार्यक्रम पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो । १९८३ सालमा पुस्तक पढ्ने दलानका रुपमा स्थापित धवल पुस्तकालय नेपालकै जेठो पुस्तकालय मानिन्छ ।

पाल्पामा लेखक तथा साहित्यकार सम्मानित

मंसिर ८, पाल्पा– पाल्पा साहित्य समाजले विभिन्न विधाका ४ जना साहित्यकारहरूलाई सम्मानित गरेको छ ।


कविवर माधवप्रसाद देवकोटाको १११ औ जन्म जयन्तिको अवसरमा पाल्पाका आदिकविको नामबाट स्थापित छविलाल प्रतिभा पुरस्कार ३ जनालाई र माधव दमयन्ती अक्षयकोश पुरस्कारबाट १ जनालाई सम्मानित गरिएको हो । इतिहासविद् डा. भविश्वर पंगेनी, प्राध्यापक हरी बहादुर कुवँर, रिमलाल विश्वकर्मा (मरणोपान्त) ले छविलाल प्रतिभा पुरस्कार र साहित्यकार अजम्वरध्वज खातीले माधव दमयन्ती पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुलाई समाजले नगद, सम्मानपत्र र फुलमालाद्वारा सम्मानित गरेको छ ।


पाल्पा साहित्य समाजले २०५१ सालदेखि निरन्तर रुपमा छविलाल प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । पाल्पाका विभिन्न विधामा कलम चलाउने व्यक्तिहरु यो पुरस्कारबाट सम्मानित भएका छन् । माधव दमयन्ती प्रतिभा पुरस्कार भने साहित्य समाजले यस बर्षदेखि मात्र संचालनमा ल्याएको हो । कार्यक्रममा समाजका सचिव पुष्कर अथक रेग्मीद्वारा लेखित अग्रदुत नामक पुस्तकको विमोचन गरियो ।


पासाः खल पाल्पाका अध्यक्ष शाक्यले कृतिको माध्यमबाट पाल्पाली प्रतिभा छविलाललाई चारैतिर चिनाउने काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मानित व्यक्तिहरु डा. भविश्वर पंगेनी, अजम्वरध्वज खाती, हरी बहादुर कुवँर, स्वः रिमलाल विश्वकर्माका छोरा श्यामलाल कालीराज, साहित्यकार कृष्ण प्रसाद कोइराला, विपि चिन्तन प्रतिष्ठानका नारायण कोईराला, प्राध्यापक डा. नेत्रप्रसाद न्यौपाने, लेखक शालग्राम अधिकारी, पत्रकार मेघराज शर्मा, अम्विका भट्टराईलगायतले माधवप्रसाद देवकोटा र छविलाल नेपालले पाल्पाको साहित्यमा खेलेको भुमिकाका बारेमा चर्चा गर्नुभयो । समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंहको सभापतित्वमा कार्यक्रम चलेको थियो ।

छचल्किएका तरङ्गहरुको बिमोचन

तानसेन, असोज ५– साहित्यकार लक्षिमा ज्ञवाली घिमिरेद्वारा लिखित छचल्किएका तरङ्गहरू कविता संग्रहको शुक्रबार तानसेनमा बिमोचन गरिएको छ ।

वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कृतिको बिमोचन गर्दै सौन्दर्य पारखी ज्ञवाली कृतिमा आफै पोखिनुभएको बताउनुभयो । उहाँले राष्ट्रले भोगेका कथाहरुका मन कवितामा रहेको र जीवन बुझ्नका लागि यो कृति महत्वपूर्ण रहने बताउनुभयो । हास्यव्यङ्ग विधाका साहित्यकार शर्माले शान्त समयमा मनमा रहेका भावनाबाटै कविता जन्मन्छ भन्नुभयो ।। धवल पुस्तकालय पाल्पाको पुस्तक पढ्ने दलानमा आयोजित बिमोचन समारोहमा सहभागि विभिन्न स्रष्टाहरुले कथ्य भाषामा कविता लेखेर जनजिब्रोको बोली ल्याउन कवि सफल रहेको बताएका थिए ।

बिमोचन कार्यक्रममा धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्याल, कला विमर्स केन्द्र पाल्पाका अध्यक्ष डा. नेत्र प्रसाद न्यौपाने, सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठ, साहित्यकारहरु कृष्ण पहारी, लक्ष्मी उपाध्याय, कमल खत्री, भावना खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विश्व नारी नेपाली साहित्य समिति पाल्पाले आयोजना गरेको कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक टंक भट्टराई, साहित्यकार मन गहिरेले कृतिको समिक्षा गर्नुभयो । विश्व नारी नेपाली साहित्य समिती पाल्पाकी उपाध्यक्ष बिजया पन्तको अध्यक्षता र कृष्णाकला भण्डारीको संचालनमा कार्यक्रम चलेको थियो ।

२०३० सालमा खस्यौलीको मालमुलमा जन्मनुभएकी कृतिकार ज्ञवालीले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । छचल्किएका तरङ्गहरू कविता संग्रहमा १५ वटा पद्य र ४७ वटा गद्य गरी ६२ वटा कविताहरु रहेका छन् ।

 

मोति जयन्तिमा दमकडामा कवि गोष्ठी

पाल्पा, भाद्र १५– तरङ्ग साहित्यिक संगम मदनपोखरा पाल्पाले १४८ औँ मोति जयन्तीका अवसरमा शनिबार कवि गोष्ठी गरेको छ ।

माध्यमिककालका कवि मोतिराम भट्टको जन्मजयन्तिको अवसर पारेर आयोजित कवि गोष्ठीमा जिल्लाका विभिन्न कवि कवयत्रिहरुले आ–आफ्ना रचना वाचन गरेका छन् । गोष्ठीका प्रमुख अतिथि पोखराथोक साहित्य संगमका अध्यक्ष गंगानाथ कोइरालाले मोतिरामले भानुभक्तलाई चिनाउने र नेपाली साहित्यमा गजल तथा श्रृंगारिक भाव धारा प्रवेश गराउने कविका रुपमा प्रख्यात रहेको बताउनुभयो । धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले तरङ्ग साहित्यिक संगमले आयोजना गर्ने कार्यक्रम सधै सिर्जनशील र रचनात्मक रहने गरेको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा साहित्यकार टंक पन्थले पाल्पाको साहित्यमा धेरै रचनाहरु परिस्कृत हुन थालेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका समीक्षकसमेत रहनुभएका पन्थले देशको अखण्डताका निम्ति अपिल, नेतृत्वप्रति प्रहार, राष्ट्रवादी चेतना भरिएका र विसंगतिका विरुद्ध आह्वान गरिएका कविताहरु पाठ भएको बताउनुभयो ।

कार्यक्रममा तरङ्ग साहित्य संगमका सचिव रामप्रसाद अर्यालले मोतिराम भट्टको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । संगमका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यप्रति समाजको ध्यान आकृष्ट गर्न तरङ्गले यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । साहित्यकारहरु नेत्रलाल पाण्डे, नारायण अधिकारी, पुर्षोत्तम अर्याल, युवराज खनाल, हरिप्रसाद भट्टराई, सन्तोष खनाल, फणिन्द्र बस्याल, गोविन्द खनाल, महेन्द्र पन्थी, लोकन्द्र थापा, प्रेम खराल, कृष्णप्रसाद ज्ञवाली, श्रीधरप्रसाद घिमिरे, विमल घिमिरे, दयाराम पंगेनीलगायतका ३७ जना साहित्यकारहरुले आफ्ना रचना पाठ गर्नुभएको थियो । कार्यक्रम संगममा सहसचिव प्रेम खरालको सञ्चालन तथा राधाकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

युवाकवि मोतिराम भट्टको जन्म १९२३ साल भाद्र कृष्णऔँशीका दिन भएको थियो । आदिकवि भानुभक्त आचार्यलाई भट्टले प्रकाशन र प्रचारका माध्यमबाट चिनाउन महत्वपूर्ण योगदान गरेका थिए । भट्टका प्रियदर्शिका, गजेन्द्रमोक्ष, पिकदूत, स्वप्नाध्याय, भाषा पद्यसंग्रह जस्ता कृतिहरु प्रकासित रहेका छन् । साहित्यकार भट्टको ३० वर्षको उमेरमा १९५३ साल भाद्र कृष्णऔँशीकै दिन निधन भएको थियो ।

 

रेग्मीको लघुकथा सार्वजनिक

तानसेन, साउन १९ – पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ‘अठार’ लघुकथा सङग्रहको शनिबार तानसेनमा बीच विमोचन गरिएको छ ।


कृतिको बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि कथाकार बनमाली निराकारले सिर्जना व्यक्तिगत कला भएपनि कला प्रकाशित गरेपछि सबैको साझा सम्पत्ति हुने बताउनुभयो । उहाँल भविष्यमा अझ सन्देशमुलक कृतिहरु लेखन तथा प्रकाशनका लागि रेग्मीलाई आग्रह समेत गर्नुभयो । स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रकाशित कृतिको समालोचना गर्दै डा. नेत्रप्रसाद न्यौपानेले उत्तरवर्ती धारलाई समेटेर जीवन र जगतको दृष्टिकोण कथामा प्रस्तुत गरिएको बताउनुभयो । साहित्यले नेपाली वास्तविक परिस्थितिहरुलाई रोचक ढङगबाट व्यक्त गर्ने नयाँ कथाकार पाएको उहाँले बताउनुभयो ।


कार्यक्रममा त्रिमूर्ति निकेतनकी उपाध्यक्ष मन गहिरे, लेखक एवं बुद्धिजीवी निर्मल श्रेष्ठ र बुद्धिप्रसाद शर्मा, दयाराज भण्डारीलगायतले संग्रहमा शिक्षा, प्रशासन, राजनीति, यौन, मानवीय संवेदनाका विषयवस्तुहरुलाई कथनीय बनाइएको बताउनुभयो । २५ पृष्ठको कथासंग्रहमा चिटचोर, चिया पसल, छ पोका दुध जस्ता २४ वटा लघुकथाहरु संग्रहित रहेका छन् । प्रतिष्ठानका उपाध्यक्ष लक्षिमा ज्ञवालीको अध्यक्षता र चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।