तरङ्गको सातौँ सिर्जनशील साहित्य शिविर अर्गलीमा सम्पन्न

पाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ ।


रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित शिविरमा लुम्बिनी अञ्चलका ५० जना साहित्यकार, लेखक र पत्रकारहरुको भाग लिएका छन् । शिविरपछि अर्गलीको देउरालीमा आयोजित रचना वाचन कार्यक्रमा ४५ जना कवि कवयत्री र स्रष्टाहरूले राष्ट्र भावना प्रकृति प्रेम, वेरोजगारी समस्या, विकासप्रतिको जनताको चाहनालाई केन्द्रविन्दु बनाइ रचना गरेका सिर्जना पाठ गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रा.डा. कपिलदेव लामिछानेले सिर्जना शिविरमा रचना गरिएका कविताहरु राष्ट्रियस्तरका रचना भएको बताउनुभयो । उहाँेले धार्मिक तथा पर्यटकीय क्षेत्रको विशेषता उजागर गर्ने गरी आएका रचनाहरुको संकलन गरी प्रकाशमा ल्याउन सके अर्गली रुरुक्षेत्रको प्रचार प्रसार हुने बताउनुभयो । समीक्षक तथा साहित्यकार दामोदर ढकालले स्रष्टाहरुलाई स्थलगत अवलोकन गराई रचना गर्न प्रेरित गर्नु र स्थानीय समुदायकै बिचमा सुनाउने कार्यले नेपाली साहित्यको विकासमा तरङ्गको योगदान महत्वपूर्ण रहको देखिनेछ भन्नुभयो ।


कार्यक्रममा साहित्यकारहरु शंकर प्रसाद नेपाल, रुद्र ज्ञवाली, टंक पन्थ, होमनाथ शर्मा, रमेश समर्थन, राजेन्द्र गोपाल सिंह, नारायण अधिकारी, बिजया पन्थ, दुर्गादत्त रेग्मी, युवराज पौड्याल, कृष्ण बस्याल, गोपाल प्रसाद बस्याल, शंकर गैरे, लक्ष्मण देवकोटा, मिलन समिरलगायतले अर्गलीका पौरखी किसानको मेहनत, सेनकालीन हृषिकेश मन्दिर र राजकुलो, और्व आश्रम र रिडी अर्गलीको भविष्यका बारेमा रचेका कविता, गजल बाचन गर्नुभयो । कार्यक्रममा अर्गली गाउँ विकास समितिका सचिव शंकर पाण्डे, गाउँ विकास समितिका निर्वतमान अध्यक्ष पर्शुराम भट्टराई, समाजसेवी कमल रानालगायतले स्रष्टाहरुलाई धन्यवाद दिनुभयो ।


गाउँमा आएको अवसरमा साहित्यकारहरुलाई अर्गलीका देउरालीमा जनताले फूल मालाले भव्य स्वागत गरेका थिए । साहित्यिक र सांस्कृतिक माहौलमा चलेको कार्यक्रम हेर्न र सुन्न करिव ५ सय स्थानीय महिला र पुरुषको उपस्थिति रहेको थियो । तरङ्ग साहित्यिक संगमका उपाध्यक्ष नारायण प्रसाद अधिकारीको स्वागत, राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष राधाकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।


स्मरणरहोस्, तरङ्ग साहित्यिक सङ्गम मदनपोखराले केही वर्षयता पाल्पा र छिमेकी जिल्लाहरूको सेरोफेरोमय स्रष्टाहरूलाई विचरण गराएर स्थानीय प्रकृति, समाज, संस्कृति, जनताका समस्या अवस्था आदिको उत्खनन गराउने कार्य गर्दै आएको छ । सिर्जनशील साहित्य सिविर तरङ्ग साहित्य सङ्गमको अभिन्न पाटो जस्तै बनिसकेको छ । यसअघि छवटा साहित्य शिविर चलाएको सङ्गमले स्रष्टाहरूलाई मदनपोखरा, कौडेलेक, मस्याम मरामकोट, ताहुँ रम्भापानी, आलमदेवी रानीमहल, रिङ्नेरह पूर्वखोलाको भ्रमण गराइसकेको छ । यस पटक वैशाख अठार र उन्नाइस गते तरङ्गकै आयोजनामा रूरू–अर्गली साहित्य शिविर सम्पन्न भएको हो ।