साहित्यकार ज्ञवालीद्वारा समय स्पर्शको विमोचन

पाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ ।


धवल पुस्तकालय प्रकाशक रहेको समय स्पर्श कविता संग्रहको विमोचन गर्दै ज्ञवालीले काठमाडौँबाहिर मोफसलमा क्षमतावान स्रष्टा छन् भन्ने उदाहरण टंक पन्थको यो कृति रहेको बताउनुभयो । काठमाडौँमा सिसा पनि मणि, पित्तल पनि सुन जस्तै बनाइने गरेको उल्लेख गर्दै ज्ञवालीले पन्थका कविता सुन्दर र लालित्यपूर्ण रहेका छन् भन्नुभयो । एमाले केन्द्रीय सचिव समेत रहनुभएका ज्ञवालीले पहिचानका नाममा राष्ट्रिय एकता, बहुलता, विविधता र सामाजिक सद्भाव खलबलिएको अवस्थालाई स्रष्टाले लेखनको विषयवस्तु बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली भाषा भनेको देवनागिरी लिपीलाई मात्र बुझ्न नहुने भन्दै उहाँले भाषा, संस्कृतिको बहुलतालाई पनि साहित्यकारहरुले सम्मान गर्नु पर्छ भन्नुभयो ।


विद्वान नीलकण्ठ न्यौपानलेले प्रगतीशील विचार, राष्ट्रवादी चिन्तन र सामाजिक यथार्थलाई कविले कवितामा मुखरित गरेको बताउनुभयो । भावुक छन्दवादी कविका रुपमा परिचित पन्थले राष्ट्रवादी धारलाई समातेको धारणा समिक्षक न्यौपानेले व्यक्त गर्नुभयो । समीक्षक तथा त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक शंकर गैरेले युगचेतनाको ऐतिहासिक विम्वका रुपमा यो कविता संग्रह आएको बताउनुभयो । कार्यक्रममा डा. एकनारायण पौड्यालले कवि शिरोमणि लेखनाथ पौड्यालको शब्द संयोजन र राष्ट्रकवि माधव घिमिरेको राष्ट्र भावलाई कविले सुन्दर ढंगले संयोजन गर्न सफल रहेको बताउनुभयो ।


२०६२ सालदेखि ०७२ सालसम्मको अवधिमा लेखिएका विभिन्न छन्दका ६२ वटा कविता यो कृतिमा समावेश छन् । कार्यक्रममा दीपशिखा पन्थ, रीता ज्ञवाली, कृष्णकला भण्डारी, भावना खनाल, ऋषिकेशव कडेंललगायतले रचना बाचन गर्नुभयो । कार्यक्रम पुस्तकालयका कोषाध्यक्ष सन्तोष खनालको स्वागत, महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो ।