झपेन्द्र जीसीको बालगीत कविता संग्रह विमोचन

पाल्पा, बैशाख ९ – पाल्पाली साहित्यकार झपेन्द्र जीसीद्वारा लिखित आजका कोपिला भोलिका फुल बालगीत कविता संग्रह आज धवल पुस्तकालय तानसेनमा बिमोचन भएको छ ।


पाल्पाका जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले कृतिको विमोचन गर्दै यति सन्देशमूलक बालगीत कविता शिक्षा क्षेत्रले प्राप्त गर्नु ठूलो सौभाग्य भएको बताउनुभयो । इतिहास पढाउन जीतगढी, भूगोल पढाउन नेपाल कहाँ छ ? सामाजिक पढाउन मौरी कविता, विज्ञानमा न्यूटनको गुरुत्वाकर्षण भन्ने कविता रहेको र यो स्थानीय पाठ्यक्रम प्रवोधिकरणका लागि उत्तम कृति रहेको बताउनुभयो । कार्यक्रममा कृतिको समीक्षा गर्दै साहित्यकार डा. मुरारी पराजुलीले बालसाहित्यमा यति सचेततापूर्वक लेखिएका गीत कविता कमै मात्रामा रहेको र यसले बालसाहित्यमा राम्रो स्थान पाउने बताउनुभयो । ‘बालबालिकालाई जीवनप्रति प्रेम र संघर्ष गर्न सिकाउने कविता छन्, जुन समाज बदल्न लेखिएका छन् ।’ साहित्यकार पराजुलीको कथन थियो । समीक्षक साहित्यकार टंक पन्थले स्थानीय विषयवस्तुलाई बाल जिज्ञासा र बाल मनोविज्ञानका आधारमा अवतरण गराउन सक्नु लेखकको सफलता हो भन्नुभयो ।


लेखक झपेन्द्र जीसीले सत्य र साँचो कुरा बोल्ने बालबालिकाबाट आफूले यो कृति लेख्न प्रेरणा पाएको बताउनुभयो । उहाँले ठूला मान्छेले बटारेर बोल्छन् तर बालबालिका साँचो बोल्दछन् भन्नुभयो । कार्यक्रममा तरङ्ग साहित्यिक संगम मदनपोखराका अध्यक्ष राधाकृष्ण शर्मा, पोखराथोक साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्मा, कला विमर्श केन्द्रका अध्यक्ष डा. नेत्र न्यौपाने, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले कृतिको समीक्षा गर्दै लेखकलाई बधाई र शुभकामना दिनुभयो । कार्यक्रम धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो ।


माइलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेड प्रकाशक रहेको कृतिको मोल १ सय २५ रुपैँया रहेको छ । रंगीन तस्वीरसहितका गीत कविता रहेको कितावमा २८ वटा कविता रहेका छन् । लेखक जीसीको यो सातौँ कृति हो ।