बादशाहको नयाँ पोसाक लोकार्पण

बुटवल, चैत्र ३– प्रगतिशील लेखक झपेन्द्र जीसीद्वारा लिखित बादशाहको नयाँ पोसाक नामक कृतिको आज लोकार्पण गरिएको छ ।


बुटवलको बुक्स प्लाजमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार ऋषिराम भुसालले पुस्तकको लोकार्पण गर्नुभएको हो । उहाँले सवाई ढाँचामा जीसीद्वारा लेखिएको खण्डकाव्य एक उत्कृष्ट कृति हो भन्नुभयो । आफ्नो नीतिलाई आत्मसाथ गर्न र समय चिन्न नसक्दा बादशाहले निर्वस्त्र हुनुपरेको इतिहास कोट्याउँदै साहित्यकार भुसालले छोटे बादशाहका प्रवृति पार्टीमा देखिएको बताउनुभयो । माक्र्सवादी साहित्यकार गोपिरमण उपाध्यायले तीन देशमा तीन सय वर्षको अवधिमा घटेका अलगअलग घटनालाई जोडिएको यो एक सुन्दर कृति आएको बताउनुभयो ।


कृतिको समीक्षा गर्दै साहित्यकार डा. मुरारी पराजुलीले निष्ठावान राजनीतिक व्यक्तिले लेखेको यस कृतिले सफलता पाउने विचार व्यक्त गर्नुभयो । उहाँले परिर्माजनका निम्ति निकै खटेकाले यो स्तरीय पुस्त कबनेको छ भन्नुभयो । साहित्यकार पराजुलीले परिवर्तित संस्करणमा आएका राजनीतिक बादशाहको खल्तीमा अनिवार्य हुनुपर्ने कृति रहेको बताउनुभयो । कार्यक्रममा शिक्षक राजेश श्रेष्ठले साना बालबालिकाले ठूला मान्छेलाई सुनाउँदा आनन्द आउने बनेको धारणा व्यक्त गर्नुभयो ।


लेखक जीसीले नाङ्गै भैसक्दा पनि सवस्त्र छु भनेर अभिनय गर्नु बादशाहको दम्भलाई आफूले कृतिमा उजागर गरेको बताउनुभयो । उहाँले बालबच्चाले ढाँटछल गर्दैनन् साँचो कुरा बोल्छन् भन्ने दृष्टान्तका रुपमा आफूले यो सवाई खण्डकाव्यमा बालबालिकालाई बोलाएको जानकारी दिनुभयो । दलबहादुर गुरुङ्गले सञ्चालन गर्नुभएको कार्यक्र प्रकाशक सरस्वती पुस्तक पसलका प्रोपराइटर हेमानन्द शर्माको अध्यक्षतामा चलेको थियो ।


खण्डकाव्यमा डेनमार्कका साहित्यकार हान्स क्रिश्चियन एण्डरसनको बादशाहको नयाँ पोसाक, चीनका ये शङ् थाओ सम्राटको नयाँ लुगा र नेपालको राजतन्त्र अन्त्यको घटनालाई केन्द्रमा राखेर काव्य रचना गरिएको छ । बादशाहको नयाँ पोसाकका कथावस्तुलाई एकत्र पारी नयाँ लुगा लगाउन चाहने बादशाहकै कारण नेपालको राजतन्त्र पतन हुन पुगेको संकेत लेखकले यो कृतिमा गर्नुभएको छ । खण्डकाव्यमा तीन खण्ड र ५४ श्लोक रहेका छन् । सरस्वती पुस्तक पसल प्रकाशक रहेको ४२ पेजको यो पुस्तकको मूल्य ३५ रुपैँया रहेको छ ।