पूर्वखोलामा सिर्जनशील साहित्य शिविर

पाल्पा, माघ २३– तरङ्ग साहित्यिक संगम मदनपोखरा पाल्पाले आयोजना गरेको दुई दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ ।


माघ २१ गते मंगलबार पाल्पाको रिङ्नेरह पूर्वखोला पुगेका स्रष्टाहरूले अवलोकन र स्थानीय समुदायसँग अन्तक्र्रियापछि फाँटमा बसेर साहित्य रचना गरेका छन् । संगमले यात्रा, अवलोकन र अन्तक्र्रियापछि स्थलगत साहित्य रचना कार्यक्रमलाई सिर्जनशील साहित्य शिविरको संज्ञा दिएको छ । पाल्पा, रुपन्देही र गुल्मीका स्रष्टाहरू सहभागी शिविरमा राष्ट्रप्रेम, जीवनदर्शन, प्रकृति, मायाप्रेम र समसायिक परिस्थितिलाई विषयवस्तु बनाएका कविता, मुक्तक, हाइकु र गजलहरू लेखिएका छन् ।


इश्वरीप्रसाद आचार्यले स्थापना गरेको उद्वुद्ध कलेजमा आयोजिक रचना वाचन कार्यक्रममा साहित्यकारहरू राधाकृष्ण शर्मा, कृष्णप्रसाद कोइराला, होमनाथ शर्मा, टंक पन्थ, कमल खत्री, सरोज काफ्ले, पुर्षोत्तम अर्याल, ठाकुरचन्द्र शर्मा, विमल घिमिरेलगायतले छन्दोवद्ध कविता वाचन गरेका छन् । स्रष्टा नारायणप्रसाद अधिकारी, गंगानाथ कोइराला, युवराज पौड्याल, गोविन्द भट्टराई, गुणाकर भुसाल, सुशिल न्यौपाने, राजेन्द्र गोपाल सिंह, झपेन्द्र खनाल, प्रेम खराल, सरस्वती सुवेदी, सविना देवकोटा, ज्ञानु न्यौपानेलगायतले गद्य कविता सुनाएका थिए । फणिन्द्र बस्यालले व्यङ्ग विनोद कविता गाए भने किशोर खनालले मुक्तक तथा हाइकु सुनाए । अठार पुराण वाचक नीलकण्ठ न्यौपानेले पूर्वखोला चिनारी शिर्षकको पद्य कविता वाचन गरेका थिए । पं. जीवनाथ न्यौपाने २००७ सालमा भूमिगत रुपमा आएका इश्वरीप्रसाद आचार्यले जनतालाई शिक्षा र श्रमको मूल्य बुझाउन सफल भएकाले यहाँका जनतामा स्वाभिमानीपन रहेको बताए । उनले आचार्यका केही क्रान्तिकारी कविताहरू सुनाएका थिए ।


यात्राकै क्रममा संगमले स्वयम् कर्ता र व्यास बनेर अठार पुराण वाचन तथा व्याख्यान गर्ने आचार्य पं. नीलकण्ठ न्यौपानेलाई ऐतिहासिक र अद्वितीय कार्य सम्पन्न गरेकोमा यज्ञस्थलमै पुगेर अभिनन्दन गरेको छ । जिल्ला विकास समितिका पूर्वसभापति प्रेमनाथ बस्याल, वरिष्ठ पत्रकार मेघराज शर्मा र संगमका अध्यक्ष राधाकृष्ण शर्माले दोसल्ला, पाल्पाली ढाकाटोपी, गलबन्दीलगाई अभिनन्दनपत्र प्रदान गरेका थिए । न्यौपानेले त्रिवर्षीय गुरुयोजनाअन्तर्गत ५ लाख श्लोक रहेको अठारै पुराण वाचन तथा कथा प्रवचन गर्नुभएको थियो । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक सूर्यबहादुर जीसीले आफू शिविरमा पहिलो पटक सहभागी बनेको र कविहरू जनताकै घरदैलोमा पुगेर रचना गरी वाचन गर्नु प्रशसंनीय कार्य हो भने । उनले थपे, ‘जनताको दुःख, सुख, भोगाई, गराईलाई नजिकबाट नियालेर स्रष्टाले हृदयको गहिराईबाट प्रस्तुत गर्दा भावुक बनाउने रहेछ ।’ कार्यक्रम संगमका सचिव रामप्रसाद अर्यालको सञ्चालन तथा अध्यक्ष राधाकृष्ण शर्माको अध्यक्षतामा चलेको थियो ।


तरङ्ग साहित्यिक संगम मदनपोखराले प्रत्येक वर्ष यस्तो साहित्य शिविर आयोजना गर्दै आएको छ । कवि, कवयत्री, लेखक, कलाकारहरुलाई सामूहिक रुपमा विभिन्न स्थानको अवलोकन तथा स्थानीय समुदायसँग भेटघाट गराई साहित्य रचना गर्ने अवसर प्रदान गर्दै आएको तरङ्ग साहित्य संगमका सदस्य तथा शिविरका संयोजक राजेशकुमार अर्यालले जानकारी दिनुभयो । संगमले यसअघि मदनपोखरा घिमिरेडाँडा, कौडेलेक, मस्याम मरामकोट, रम्भापानी ताहूँ, आलमदेवि रानीघाटमा यस्तो शिविर आयोजना गरिसकेको छ ।