धवलमा पाल्पा कक्षको आरम्भ

पाल्पा, मंसिर १५– धवल पुस्तकालयले पाल्पाको साहित्य, भाषा, संस्कृति र दर्शन आदिका दस्तावेज संकलन तथा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले पाल्पा कक्ष स्थापना गरेको छ ।


पाल्पा कक्षको वरिष्ठ साहित्यकार तथा मदन पुस्तकालय गुठीका अध्यक्ष कमलमणि दीक्षितले शनिबार उद्घाटन गर्नुभयो । उहाँले १९८३ सालमा स्थापित धवल पुस्तकालय आधुनिक नेपालको अग्रज पुस्तकालयमा पाल्पा कक्षको आरम्भ गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्नुभयो । साहित्यकार दीक्षितले मदन पुरस्कार पुस्तकालय धवलको भाइ पुस्तकालय हो, भाइका नाताले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि कमलमणि दीक्षितले पाल्पाका आदिकवि छविलाल नेपालको तस्वीर अनावरण गर्नुभयो । पृथ्वीनाराण क्याम्पसका सहप्राध्यापक चूडामणि खनालले कविवर माधवप्रसाद देवकोटाको व्यक्तित्वमाथि लेख्नुभएको पारखीका कसीमा माधवीय केही काव्यकृतिहरु नामक कृतिसमेत कार्यक्रममा लोकार्पण गरिएको थियो ।


कार्यक्रममा इतिहासविद् भवेश्वर पंगेनीको धवल पुस्तकालयको प्रारम्भिक रुप पुस्तक पढ्ने दलान र मदन देउरालीको पाल्पाको सांगीतिक इतिहास विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भयो । पाल्पा कक्षका लागि पुस्तकालयका पूर्व अध्यक्ष तानसेन १ मेहलधारा निवासी कृष्णदेव शर्माले १ लाख ११ हजार १ सय ११ रुपैँया प्रदान गर्नुभएको थियो । चन्दादाता रेग्मीले आफ्नो जीवनका धेरै वर्ष पुस्तकालयमा विताएकाले चौरासी पूजा गर्दा लाग्ने रकम पुस्तकालयकै विकासमा लगाउन चाहेको बताउनुभयो । यसै गरी पुस्तकालयको विकासका लागि विमला रेग्मीले २५ हजार रुपैँयाप्रदान गर्नुभयो भने पुरस्कारका लागि उमनाथ आत्रेयले ५० हजार, डा. यशोवद्र्धन प्रधानले २५ हजार र शालग्राम अधिकारीले ५ हजार रुपैँया प्रदान गर्ने घोषणा गर्नुभयो ।


कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार कमलराज रेग्मीले शिक्षा, साहित्य र जागरणको क्षेत्रमा धवल पुस्तकालयको अहम् भूमिका रहेको र यसको पृष्टभूमिमा अम्बिकाप्रसाद लाकौलको देन भूल्न नहुने बताउनुभयो । उहाँले नेपाली र विदेशी भाषीलाईसमेत आकर्षित गर्ने यस पुस्तकालयले पाल्पा कक्ष स्थापना गरेर पाल्पाको गरिमालाई थप उचाईमा पु¥याएको बताउनुभयो । कार्यक्रममा साहित्यकार भूपनिधि पन्त, वनमालि निराकार, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, मधुपर्कका सहसम्पादक तुलसीहरि कोइराला, वरिष्ठ पत्रकार मेघराज शर्मा, वुद्धिजीवी छत्रराज शाक्य, बुद्धिप्रसाद शर्मालगायतले यस्तो महत्वपूर्ण कार्यक्रम गरेर पुस्तकालयले पाल्पाको गरिमा बढाएको बताउनुभयो । कार्यक्रममा साहित्यकार टंक पन्थ, होमनाथ शर्मा र ऋषि कडेंल भारद्वाजले छन्दोवद्ध कविता वाचन गर्नुभयो । कार्यक्रम पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा चलेको थियो । १९८३ सालमा पुस्तक पढ्ने दलानका रुपमा स्थापित धवल पुस्तकालय नेपालकै जेठो पुस्तकालय मानिन्छ ।