पाल्पामा लेखक तथा साहित्यकार सम्मानित

मंसिर ८, पाल्पा– पाल्पा साहित्य समाजले विभिन्न विधाका ४ जना साहित्यकारहरूलाई सम्मानित गरेको छ ।


कविवर माधवप्रसाद देवकोटाको १११ औ जन्म जयन्तिको अवसरमा पाल्पाका आदिकविको नामबाट स्थापित छविलाल प्रतिभा पुरस्कार ३ जनालाई र माधव दमयन्ती अक्षयकोश पुरस्कारबाट १ जनालाई सम्मानित गरिएको हो । इतिहासविद् डा. भविश्वर पंगेनी, प्राध्यापक हरी बहादुर कुवँर, रिमलाल विश्वकर्मा (मरणोपान्त) ले छविलाल प्रतिभा पुरस्कार र साहित्यकार अजम्वरध्वज खातीले माधव दमयन्ती पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुलाई समाजले नगद, सम्मानपत्र र फुलमालाद्वारा सम्मानित गरेको छ ।


पाल्पा साहित्य समाजले २०५१ सालदेखि निरन्तर रुपमा छविलाल प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । पाल्पाका विभिन्न विधामा कलम चलाउने व्यक्तिहरु यो पुरस्कारबाट सम्मानित भएका छन् । माधव दमयन्ती प्रतिभा पुरस्कार भने साहित्य समाजले यस बर्षदेखि मात्र संचालनमा ल्याएको हो । कार्यक्रममा समाजका सचिव पुष्कर अथक रेग्मीद्वारा लेखित अग्रदुत नामक पुस्तकको विमोचन गरियो ।


पासाः खल पाल्पाका अध्यक्ष शाक्यले कृतिको माध्यमबाट पाल्पाली प्रतिभा छविलाललाई चारैतिर चिनाउने काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मानित व्यक्तिहरु डा. भविश्वर पंगेनी, अजम्वरध्वज खाती, हरी बहादुर कुवँर, स्वः रिमलाल विश्वकर्माका छोरा श्यामलाल कालीराज, साहित्यकार कृष्ण प्रसाद कोइराला, विपि चिन्तन प्रतिष्ठानका नारायण कोईराला, प्राध्यापक डा. नेत्रप्रसाद न्यौपाने, लेखक शालग्राम अधिकारी, पत्रकार मेघराज शर्मा, अम्विका भट्टराईलगायतले माधवप्रसाद देवकोटा र छविलाल नेपालले पाल्पाको साहित्यमा खेलेको भुमिकाका बारेमा चर्चा गर्नुभयो । समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंहको सभापतित्वमा कार्यक्रम चलेको थियो ।