छचल्किएका तरङ्गहरुको बिमोचन

तानसेन, असोज ५– साहित्यकार लक्षिमा ज्ञवाली घिमिरेद्वारा लिखित छचल्किएका तरङ्गहरू कविता संग्रहको शुक्रबार तानसेनमा बिमोचन गरिएको छ ।

वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कृतिको बिमोचन गर्दै सौन्दर्य पारखी ज्ञवाली कृतिमा आफै पोखिनुभएको बताउनुभयो । उहाँले राष्ट्रले भोगेका कथाहरुका मन कवितामा रहेको र जीवन बुझ्नका लागि यो कृति महत्वपूर्ण रहने बताउनुभयो । हास्यव्यङ्ग विधाका साहित्यकार शर्माले शान्त समयमा मनमा रहेका भावनाबाटै कविता जन्मन्छ भन्नुभयो ।। धवल पुस्तकालय पाल्पाको पुस्तक पढ्ने दलानमा आयोजित बिमोचन समारोहमा सहभागि विभिन्न स्रष्टाहरुले कथ्य भाषामा कविता लेखेर जनजिब्रोको बोली ल्याउन कवि सफल रहेको बताएका थिए ।

बिमोचन कार्यक्रममा धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्याल, कला विमर्स केन्द्र पाल्पाका अध्यक्ष डा. नेत्र प्रसाद न्यौपाने, सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठ, साहित्यकारहरु कृष्ण पहारी, लक्ष्मी उपाध्याय, कमल खत्री, भावना खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विश्व नारी नेपाली साहित्य समिति पाल्पाले आयोजना गरेको कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक टंक भट्टराई, साहित्यकार मन गहिरेले कृतिको समिक्षा गर्नुभयो । विश्व नारी नेपाली साहित्य समिती पाल्पाकी उपाध्यक्ष बिजया पन्तको अध्यक्षता र कृष्णाकला भण्डारीको संचालनमा कार्यक्रम चलेको थियो ।

२०३० सालमा खस्यौलीको मालमुलमा जन्मनुभएकी कृतिकार ज्ञवालीले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । छचल्किएका तरङ्गहरू कविता संग्रहमा १५ वटा पद्य र ४७ वटा गद्य गरी ६२ वटा कविताहरु रहेका छन् ।