मोति जयन्तिमा दमकडामा कवि गोष्ठी

पाल्पा, भाद्र १५– तरङ्ग साहित्यिक संगम मदनपोखरा पाल्पाले १४८ औँ मोति जयन्तीका अवसरमा शनिबार कवि गोष्ठी गरेको छ ।

माध्यमिककालका कवि मोतिराम भट्टको जन्मजयन्तिको अवसर पारेर आयोजित कवि गोष्ठीमा जिल्लाका विभिन्न कवि कवयत्रिहरुले आ–आफ्ना रचना वाचन गरेका छन् । गोष्ठीका प्रमुख अतिथि पोखराथोक साहित्य संगमका अध्यक्ष गंगानाथ कोइरालाले मोतिरामले भानुभक्तलाई चिनाउने र नेपाली साहित्यमा गजल तथा श्रृंगारिक भाव धारा प्रवेश गराउने कविका रुपमा प्रख्यात रहेको बताउनुभयो । धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले तरङ्ग साहित्यिक संगमले आयोजना गर्ने कार्यक्रम सधै सिर्जनशील र रचनात्मक रहने गरेको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा साहित्यकार टंक पन्थले पाल्पाको साहित्यमा धेरै रचनाहरु परिस्कृत हुन थालेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका समीक्षकसमेत रहनुभएका पन्थले देशको अखण्डताका निम्ति अपिल, नेतृत्वप्रति प्रहार, राष्ट्रवादी चेतना भरिएका र विसंगतिका विरुद्ध आह्वान गरिएका कविताहरु पाठ भएको बताउनुभयो ।

कार्यक्रममा तरङ्ग साहित्य संगमका सचिव रामप्रसाद अर्यालले मोतिराम भट्टको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । संगमका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यप्रति समाजको ध्यान आकृष्ट गर्न तरङ्गले यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । साहित्यकारहरु नेत्रलाल पाण्डे, नारायण अधिकारी, पुर्षोत्तम अर्याल, युवराज खनाल, हरिप्रसाद भट्टराई, सन्तोष खनाल, फणिन्द्र बस्याल, गोविन्द खनाल, महेन्द्र पन्थी, लोकन्द्र थापा, प्रेम खराल, कृष्णप्रसाद ज्ञवाली, श्रीधरप्रसाद घिमिरे, विमल घिमिरे, दयाराम पंगेनीलगायतका ३७ जना साहित्यकारहरुले आफ्ना रचना पाठ गर्नुभएको थियो । कार्यक्रम संगममा सहसचिव प्रेम खरालको सञ्चालन तथा राधाकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

युवाकवि मोतिराम भट्टको जन्म १९२३ साल भाद्र कृष्णऔँशीका दिन भएको थियो । आदिकवि भानुभक्त आचार्यलाई भट्टले प्रकाशन र प्रचारका माध्यमबाट चिनाउन महत्वपूर्ण योगदान गरेका थिए । भट्टका प्रियदर्शिका, गजेन्द्रमोक्ष, पिकदूत, स्वप्नाध्याय, भाषा पद्यसंग्रह जस्ता कृतिहरु प्रकासित रहेका छन् । साहित्यकार भट्टको ३० वर्षको उमेरमा १९५३ साल भाद्र कृष्णऔँशीकै दिन निधन भएको थियो ।