लोकदोहोरी प्रतिष्ठानमा नयाँ नेतृत्व

सुर्खेत, असोज १५– सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौँ केन्द्रीय महाधिवेशनले चन्द्र शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।


अध्यक्षमा शर्माले विष्णु खत्रीलाई पराजित गरी नेतृत्व लिएका हुन् । शर्माले ७ सय ११ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीले मात्र ४ सय ११ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष शर्माले संगठनमा तल्लो तहदेखि काम गर्दै आएको र भोलीका दिनमा संगठनलाई अझ बलियो बनाएर अघि बढ्ने बताए ।


प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा बद्री पंगेनी, प्रथम उपाध्यक्षमा टीकाराम चपाई र द्वितिय उपाध्यक्षमा विमलराज क्षेत्री निर्वाचित भएका छन् । महासचिवमा रमेश विजी, सचिवमा पशुपति शर्मा र शिरिष देवकोटा निर्वाचित भएका छन् । कोषाध्यक्षमा रीता थापा, सहकोषाध्यक्षमा दीपक खड्का विजयी भएका छन् । महिलातर्फ केन्द्रीय सदस्यमा टीका पुन, राधिका हमाल, जमुना राना र रमिला न्यौपाने विजयी भएका छन् । खुलातर्फको केन्द्रीय सदस्यमा रामजी खाँड, शंकर विसी, कुलेन्द्र विश्वकर्मा, पुष्कल शर्मा, खुमन अधिकारी, राजु गुरुङ्ग विजयी भएका छन् । यसैगरी तारापति सुवेदी, चोलेन्द्र पौडेल, सुवास केसी, हुम गैरे, हरि थापा मगर विजयी भएका छन् । निर्वाचनमा १ हजार २ सय ५६ मत खसेको थियो ।


केन्द्रीय समितिमा पाल्पाका पाँच गायक
बद्री पंगेनी वरिष्ठ उपाध्यक्ष, शिरिष देवकोटा सचिव, हुम गैरे सदस्य, पुष्कल शर्मा सदस्य र जमुना राना सदस्य पदमा निर्वाचित भएका छन् । पंगेनी रामपुर, देवकोटा दर्लमडाँडा, गैरे गल्धा, शर्मा बौघापोखराथोक र राना जल्पाका हुन् ।

महिलाहरु तीज दर खाँदै

पाल्पा, भाद्र २२– नेपाली महिलाहरुले आज हर्षोल्लासका साथ तीजको दर खाएर नाचगान गर्दैछन् ।


हरितालिका तीजको अघिल्लो दिन मीठामीठा परिकार बनाएर खाने प्रचलन अनुसार दिदीबहिनीहरुले अहिले घरघरमा दर खाने बेला भएको छ । अन्दी वा कुनै मसिनो चामलमा घ्यू हालेर पकाएको खाजा, खिर, बोडी, तामाको तरकारी, माछामासुको विभिन्न परिकार बनाएर दर खादैछन् । पोषिलो वा अडिलो खानेकुरालाई नै दर भन्ने गरिन्छ ।


दरखाने दिन आज अधिकांश छोरीचेली माईतमा आएका छन् । परिवारका सदस्यहरुको जमघट भएकाले घरघरमा रमाइलो भएको छ । लामो समयपछि भेट भएकाले पनि परिवारभित्र सुख, दुःखको कुरा भइरहेको छ । तीजको निराहार व्रत बस्ने अघिल्लो दिन शरीर आडिलो बनाउन मध्यरातसम्म बसेर दिदीबहिनीहरुले मीठामीठा खानेकुरा, मिठाई र फलफुल खाने गर्दछन् । दर खाएपछि महिलाहरु तीजको गीत गाएर नाचगान गर्न निस्कछन् ।


टाढा घर भएका र यातायातको सुविधा नभएका क्षेत्रका महिलाहरु भने अहिले पनि गन्तव्यस्थलतर्फ लागि रहेका छन् । बाटोघाटोमा रङ्गीबिरङ्गी कपडा लगाएर निस्केका महिलाहरुको दिनभर नै भीड देखिन्थ्यो । राजमार्ग तथा बाटोमा गुड्ने अधिकांश गाडीहरु भरिभराउ छन् । तीजमा नयाँ कपडा लगाउने लहरले पसलहरुमा भीडभाड बढेको छ । छोरीचेली जम्मा भएको घर उज्यालो भएको छ भने नआएकाको घरपरिवारले नियास्रो मान्दै छन् । तीजमा माइत आउन नपाएका छोरीचेलीसँग मोवाइलमा कुराकानी हुने गरेको छ । टेलिफोन, मोवाइल र सामाजिक सञ्चालको प्रयोग गरेर तीजको शुभकामना र ह्याप्पी तीज भन्ने काम भइरहेको छ ।

भाद्र शुक्ल तृतीयका दिन हरितालिका अर्थात तीज मनाउने गरिन्छ । तीजको दिन विवाहित महिलाहरु श्रीमान तथा परिवारको र अविवाहित महिलाहरु योग्य श्रीमान पाउँ भनेर व्रत बस्ने गर्दछन् । पौराणिक कथामा निराहार ब्रतको कुरा उल्लेख भए तापनि आधुनिक खानपानले अस्वस्थ हुन पुगेका महिलाहरु फलफूल, दूध खाएर ब्रत बस्ने गर्दछन् ।

 

कुँडुलेघर र पाल्पाली समाज

पाल्पा – गोलोघर अर्थात कुँडुलेघर । पहिले पहिले आर्थिक स्रोत कम हुने परिवारले सिठाले बारी माटोको लेवन लगाएर कुँडुले घर बनाउने गर्दथे । अहिले प्राय धनीमानीले सोखले यस्तो आकारमा घर बनाउने गर्दछन् । परम्परागत कुँडुले घर ढुङ्गा र माटोको गारो लगाएर बनाइन्छ । कुँडुले घर एक तले मात्र हुन्छन् । मगर समुदायको बस्तीमा भेटिने यस्ता अधिकांश कुँडुले घर एक कोठे र एक तले हुन्छन् । घरको बिच भागमा ओदान राखेर बनाइएको अगेनो र त्यो अगेनोको वलिम्तै एकाघरका परिवार बसेर आगो ताप्ने चलन छ । खाना पकाउने, रोटी पोल्ने, रक्सी पार्ने कामको चुलो त्यही नै हो । खाना पाकेपछि सबै सदस्यलाई भाग लगाएको खाना अगेनोको वरिपरि बसेर परिवारले एकैचोटी खान्छन् । घञ्चमञ्च राखिएका भाँडाकुँडा र सरसामानले घर भरिभराउ देखिन्छ । खरको छानो त्यसमाथि केवल एउटा ढोका र एउटा सानो खिट्की जस्तो झ्यालबाट छिर्ने प्रकाश कति पो हुन्छ र ? अँध्यारैअँध्यारोमा जीवन गुजारा चल्छ । बाहिरबाट आएका मानिस घरभित्र पस्दा वा अगेनामा बसिरहेका मानिस ढोकाबाहिर निस्कदाँ आँखा तिरमिरतिरमिर हुन्छ । झ्याल–ढोका कम हुने, हावा ओहोरदोहर नहुने र अगेनाको आगो कहिल्यै नभिभ्ने हुँदा यस्ता घर न्यानो हुन्छ । घरको भित्तामा काठको मोटामोटा किला ठोकेर सामान, कपडा तर्लाङ्गतुर्लुङ्ग झुण्डिएका हुन्छन् । सुत्दा ओड्ने ओछ्याउने कपडा खातमाथि खात लगाएर राखिन्छ । मान्छेलाई जे कुरा पनि चाहिने भएकाले प्रत्येक कुँडुले घरले बाहिर गोलो गरी पालि गाँसेका हुन्छन् । पालीको छानोमा मकैका झुत्ता, झुण्डयाउने र तल ढिँकी–जाँतो गाड्ने प्रचलन छ । पिँढीको छेउमा धुम हुन्छ, जहाँ प्रशस्त कुखुराहरू पालिन्छ । दैनिक रूपमा रातो माटोले लरक्क लिपेका मजेरी र पिँढी धुमबाट निस्केका कुखुराले ठुँगेर ओदार्छन् र दिनभरिमा लिपेनलिपेको गराउँछन् । घरको भित्तो भने समयसमयमा लिपिन्छ, भित्तोमा धर्का तानेर वा कोतरेर लेनदेनको हिसाव राख्ने गरिन्छ । झुरुप्प बस्ती, जोडिएको आँगन र कुँडुले घर केवल परम्परागत संरचना मात्र थिएनन्, यिनीहरू मौलिक रूपले चिनिएका सामाजिक साँस्कृतिक स्वरूप थिए । वंशपरम्परा र कुलपरम्परा संझदा जोगिएका सामूहिकता र सामाजिक भावना थिए । कुँडुले घर नाश हुँदा परम्परागत घरहरू मात्र लोप भएका छैनन्, प्राचीन सभ्यता र संस्कारसँग बाँचेको पाल्पालीपन नासिदैछ । पाल्पाको मौलिक संस्कृतिमाथि अतिक्रमण हुँदैछ । पर्यटकीय आकर्षण बोकेका सम्पति खत्तम हुँदैछन् । टाढाबाट हेर्दा गुजुमुज्ज देखिने बस्तीमा घरका छानोहरू जोडिएका हुन्छन् । झुरुप्पझुरुप्पका बस्ती, धेरै घरको एउटा आँगन र त्यो आँगनमा केटाकेटीहरूको हुल कम्तिको रमाइलो हुन्न । मगर समुदायका सबै जसो एकतले घर रातो माटोले लिपिन्छ, केहीकेही घरले मात्र कमेरो लगाएर सेतो बनाउँछन् । पहिलोपटक देख्ने व्यक्तिले यस्तो घरलाई मन्दिर जस्तो, धान स्याहार्ने बेला मंसिरमा खेतमा बनाइने घोल्की जस्तो भनेर तुलना गर्दछन् । समाज विकासको क्रममा खुबै चलेका यस्ता घर अहिले दुर्लभ र लोपप्रायः हुन पुगेका छन् ।

नेपाल र भारत सयुक्त सैन्य टोली सगरमाथा आरोहण गर्दै

काठमाडौ चैत्र २९-आज नेपाली र भारतीय सेनाको संयुक्त टोली सगरमाथा आरोहरणमा जाने भएका छन ।विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६० वर्ष पुगेको अवसरमा  २४ जना सैनिक सम्मिलित टोली आज आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्नेछ ।
पहिलोपटक सगरमाथा आरोहण गरिएको ६० बर्ष पूरा भएको अवसरमा दुवै मुलुकको संयुक्त टोलीले सगरमाथा आरोहण र सगरमाथा सरसफाइ अभियान सञ्चालन गर्नेछ । नेपाली टोलीका प्रमुख मेजर सुनिल सिंह राठौरले ७० दिनमा सगरमाथा आरोहण सक्ने जानकारी दिनुभयो । आरोहरणका क्रममा गरिने सरसफाइ कार्यक्रममा नेपाली सेनाका तर्फबाट १४ टोली र भारतीय सेनाका तर्फबाट २० सदस्य सहितको टोली सहभागी रहनेछ । ती मध्ये २४ जनाको टोली सगरमाथा आरोहणमा जाने र बाँकीले सरसफाइको कामलाई जारी राख्ने नेपाली सेनाका प्रवक्ता सुुरेशराज शर्माले जानकारी दिनुभयो ।

मन्त्री र व्यवसायीबीच आज मन्त्रालयमा वार्ता हुँदै

वाणिज्य तथा आपूर्ति मन्त्री शंकर कोइराला र आन्दोलनरत पेट्रोल तथा ग्याँस व्यवसायीबीच आज वार्ता हुँदै छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुने वार्ता साढे ११ वजे बस्ने संघर्ष समितिका सदस्य विश्व अर्यालले बताउनुभयो ।

सरकारी पक्षबाट वार्तामा अर्थमन्त्री समेत रहनुभएका कोइराला र वाणिज्य सचिव लालमणी जोशी तथा व्यवसायीको तर्फबाट संयूक्त संघर्ष समितिका सबै सदस्यहरु बस्ने भएका छन् । आज हुने वार्तामा पनि व्यवसायीहरुले आˆनो अडान नछाड्ने विश्व अर्यालले जानकारी दिनुभयो ।