कुँडुलेघर र पाल्पाली समाज

पाल्पा – गोलोघर अर्थात कुँडुलेघर । पहिले पहिले आर्थिक स्रोत कम हुने परिवारले सिठाले बारी माटोको लेवन लगाएर कुँडुले घर बनाउने गर्दथे । अहिले प्राय धनीमानीले सोखले यस्तो आकारमा घर बनाउने गर्दछन् । परम्परागत कुँडुले घर ढुङ्गा र माटोको गारो लगाएर बनाइन्छ । कुँडुले घर एक तले मात्र हुन्छन् । मगर समुदायको बस्तीमा भेटिने यस्ता अधिकांश कुँडुले घर एक कोठे र एक तले हुन्छन् । घरको बिच भागमा ओदान राखेर बनाइएको अगेनो र त्यो अगेनोको वलिम्तै एकाघरका परिवार बसेर आगो ताप्ने चलन छ । खाना पकाउने, रोटी पोल्ने, रक्सी पार्ने कामको चुलो त्यही नै हो । खाना पाकेपछि सबै सदस्यलाई भाग लगाएको खाना अगेनोको वरिपरि बसेर परिवारले एकैचोटी खान्छन् । घञ्चमञ्च राखिएका भाँडाकुँडा र सरसामानले घर भरिभराउ देखिन्छ । खरको छानो त्यसमाथि केवल एउटा ढोका र एउटा सानो खिट्की जस्तो झ्यालबाट छिर्ने प्रकाश कति पो हुन्छ र ? अँध्यारैअँध्यारोमा जीवन गुजारा चल्छ । बाहिरबाट आएका मानिस घरभित्र पस्दा वा अगेनामा बसिरहेका मानिस ढोकाबाहिर निस्कदाँ आँखा तिरमिरतिरमिर हुन्छ । झ्याल–ढोका कम हुने, हावा ओहोरदोहर नहुने र अगेनाको आगो कहिल्यै नभिभ्ने हुँदा यस्ता घर न्यानो हुन्छ । घरको भित्तामा काठको मोटामोटा किला ठोकेर सामान, कपडा तर्लाङ्गतुर्लुङ्ग झुण्डिएका हुन्छन् । सुत्दा ओड्ने ओछ्याउने कपडा खातमाथि खात लगाएर राखिन्छ । मान्छेलाई जे कुरा पनि चाहिने भएकाले प्रत्येक कुँडुले घरले बाहिर गोलो गरी पालि गाँसेका हुन्छन् । पालीको छानोमा मकैका झुत्ता, झुण्डयाउने र तल ढिँकी–जाँतो गाड्ने प्रचलन छ । पिँढीको छेउमा धुम हुन्छ, जहाँ प्रशस्त कुखुराहरू पालिन्छ । दैनिक रूपमा रातो माटोले लरक्क लिपेका मजेरी र पिँढी धुमबाट निस्केका कुखुराले ठुँगेर ओदार्छन् र दिनभरिमा लिपेनलिपेको गराउँछन् । घरको भित्तो भने समयसमयमा लिपिन्छ, भित्तोमा धर्का तानेर वा कोतरेर लेनदेनको हिसाव राख्ने गरिन्छ । झुरुप्प बस्ती, जोडिएको आँगन र कुँडुले घर केवल परम्परागत संरचना मात्र थिएनन्, यिनीहरू मौलिक रूपले चिनिएका सामाजिक साँस्कृतिक स्वरूप थिए । वंशपरम्परा र कुलपरम्परा संझदा जोगिएका सामूहिकता र सामाजिक भावना थिए । कुँडुले घर नाश हुँदा परम्परागत घरहरू मात्र लोप भएका छैनन्, प्राचीन सभ्यता र संस्कारसँग बाँचेको पाल्पालीपन नासिदैछ । पाल्पाको मौलिक संस्कृतिमाथि अतिक्रमण हुँदैछ । पर्यटकीय आकर्षण बोकेका सम्पति खत्तम हुँदैछन् । टाढाबाट हेर्दा गुजुमुज्ज देखिने बस्तीमा घरका छानोहरू जोडिएका हुन्छन् । झुरुप्पझुरुप्पका बस्ती, धेरै घरको एउटा आँगन र त्यो आँगनमा केटाकेटीहरूको हुल कम्तिको रमाइलो हुन्न । मगर समुदायका सबै जसो एकतले घर रातो माटोले लिपिन्छ, केहीकेही घरले मात्र कमेरो लगाएर सेतो बनाउँछन् । पहिलोपटक देख्ने व्यक्तिले यस्तो घरलाई मन्दिर जस्तो, धान स्याहार्ने बेला मंसिरमा खेतमा बनाइने घोल्की जस्तो भनेर तुलना गर्दछन् । समाज विकासको क्रममा खुबै चलेका यस्ता घर अहिले दुर्लभ र लोपप्रायः हुन पुगेका छन् ।