गाउँगाउँमा चर्के पिङ हरायो, मौलिकता गुम्यो

कात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ फेरिफेरि खेलेका उनी मानिसको खेल्ने र रमाउने तरिका फेरिएकोमा अचम्म मान्दैछन् । उनी साथीभाइसँग लाइन लागेर चर्के पिङ खेल्थे । खालिवनका सुन्दर थापाको अनुभव पनि उस्तै छ । ‘पिङ खेल्न गाउँगाउँ घुमिन्थ्यो, अचेल कहाँ घुम्न पाउनु ?’


पाल्पा जस्तो पहाडी जिल्लामा प्रायः अचेल सबैको यस्तै कुरा सुनिन्छ, पिङ छैन कतै ? दशैँ तिहारमा पिङ खेल्न रहर हुन थाल्यो । युवा पुस्ता वैदेशिक रोजगारमा जाँदा गाउँमा ऊर्जाशील मानिस गाउँमा छैनन् । कसेनीका गोविन्द भट्टराई भन्छन्, ‘खर काट्ने, डोरी बाट्ने र पिङ बनाउने मान्छे भेट्न मुश्किल हुन पुग्यो अझ काठ काट्ने चर्के पिङ बनाउने कहाँ खोज्ने ?’ मदनपोखराका ६ दमकडाका रत्नबहादुर सिंजाली छोराछोरीले पूराना संस्कृतिको भेउ नपाउलान् कि भनेर चिन्तित छन् । घरमा प्रयोग गर्ने कतिपय भाडा र सामानहरुको नामै थाहा नपाउने स्थिति देख्दा उनी दङ्ग परेका हुन् । आधुनिकताले मौलिकता र परम्परा गुमाउने अवस्था सिर्जना भएको छ । 

कसेनीका खेमानसिं राना काठ, बाँस र माटोबाट बनेका सरसामानको प्रयोग हराउँदै जान थालेपछि यसको संग्रह गर्ने अभियानमा लागेका छन् । उनले आफ्नो जमानामा प्रयोग गर्ने पूराना सामान खोजेर दिव्य ज्योति उच्च माध्यमिक विद्यालयमा मिनी संग्राहलयको रुप दिएका छन् । राना भन्छन्, ‘कुनै बेलाका मूल्यवान र महंगा वस्तु अचेल देखिन छाडेका छन् । ठेकी, हर्पे, तामदान, डोला जस्ता वस्तु केटाकेटीले चिन्दैनन् ।’


तानसेन, मदनपोखराको दमकडा, कसेनीको सराइलगायतका स्थानमा लिंगे पिङ राखेर युवाहरुले चाडपर्व आएको छनक दिन सफल भए । चिर्तुङ्गधारामा रहेको चर्के पिङ खेल्न गाउँका युवाहरु जम्मा भएका छन् । वर्षदिनको एक पटक भूँई छोड्न पर्छ भन्दै बुढापाकाहरुसमेत पिङ चढ्ने रहेछन् । रिग्नेरह गाउँ विकास समितिका पूर्व अध्यक्ष नारायण आचार्यका अनुसार पूर्वी पाल्पाको अर्चले, ज्यामिरे, मित्याल, बहादुरपुरलगायतका गाँउमा अहिले पनि चर्के पिङ हालेर खेलेको देख्न सकिन्छ । उनले भने ‘राम्रा र मौलिक परम्परा पनि भूल्ने काम भएको छ । गाउँघरमा रहेका राम्रा परम्परालाई जगेर्ना गर्न सबैले पहल गर्नुपर्छ ।’


पहिलेपहिले मानिससँग यति धेरै पैसा थिएन, सामाजिक संघसंस्थाको आय श्रोत पनि कम थियो । सामाजिक र सामुदायिक कार्यमा मानिसहरु थुप्रै दिन श्रमदान गर्दथे । सामुदायिक भावना र श्रमदान गर्ने भावना हराउनाले पनि गाउँमा पिङ हाल्ने, बाटो खन्ने, पँधेरा सरसफाई गर्ने जस्ता कार्यमा कमी आएको छ । हुमिन ५ वगचौरका नारायण अधिकारीका विचारमा नेपालीहरु सामन्तीबाट पूँजीवादी चरित्रमा रुपान्तरित भएको यो एउटा दृष्टान्त हो । हरेक मानिस लाभहानी, नाफानोक्सान र श्रम र उपलब्धीको हिसावकिताव गर्न थालेका छन् । मौलिक परम्परालाई जोगाउन भने नाफानोक्सान हेरेर हुँदैन ।