ज्यानमारा तानसेन बुटवल सडक

पाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश वर्षको अवधिमा तीन सयभन्दा बढीको ज्यान गयो भने एक हजार मानिस घाइते भए । जिल्ला ट्राफिक कार्यालय पाल्पाको अभिलेखले यो तथ्यांक उजागर गर्दछ, ‘पाल्पामा वर्षेनी सबैभन्दा धेरै मानिस मर्ने कारण हो सडक दुर्घटना ।’ तीनभन्दा बढीले ज्यान गुमाउने र एक सयभन्दा बढी अंगभंग हुने यी सडक यात्रीका लागि निकै डरलाग्दो बन्दै आएको छ ।

सरकारी बजेटमा 'ज्यानमारा सडक'

२१ भदौ २०५४ को दिउँसो पाल्पा सदरमुकाम तानसेनबाट बुटवलका लागि छुटेको बस अपरान्ह ३ बजे बुटवलपाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमा थुप्रिएको पहिरोमा चिप्लिएको २०० मीटर तल तिनाउ नदीमा खस्दा ३९ यात्रुमध्ये ३२ जनाको घटनास्थलमै मृत्यु भयो भने सात जना गम्भीर घाइते भए। २०५३ सालमा त्यही स्थानमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो। ३९ किलोमीटर लामो बुटवलपाल्पा खण्डमा गत १५ वर्षमा ९३ जनाको मृत्यु र ३०० भन्दा बढी अंगभंग भएका छन्।

४ भदौ २०६२ मा गुल्मीबाट बुटवल जाँदै गरेको बस र बुटवलबाट तानसेन आउँदै गरेको ट्रक बेलुकी ५ बजे तल्लो सिद्धबाबा नजीक दुइटा गाडी पास नहुने ठाउँमा आइपुगे। चालकहरूले ब्याक गर्दागर्दै माथिबाट आएको पहिरोले दुवै गाडीलाई छोप्दा ११ जनाको मृत्यु भयो, ४५ जना घाइते भए। २०५५ यता बुटवलपाल्पा सडकको चिडियाखोलादोभान खण्डमा पर्ने ७ किलोमीटर क्षेत्रमा मात्र ६४ जनाले ज्यान गुमाएका छन्। बुटवलपाल्पा सडकमा घुम्तीपिच्छे दुर्घटना भएका छन्। सिद्धबाबा, झुम्सा, केराबारी, जोरधारा, रातमाटे, हिउँदेखोला, कालीमाटी र २४ माइलमा दैनिकजसो दुर्घटना हुन्छ।

११ भदौ २०७० मा बुटवलबाट गुल्मी हिंडेको लु १ च ४६०८ नम्बरको मारुती कारलाई बिहान ११ बजेतिर पाल्पाको मदनपोखरा४ ठुम्रे आइपुग्दा सडकमाथिबाट खसेको ठूलो चट्टानले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो। पहिरो र चट्टान खसिरहने त्यस ठाउँमा सडक डिभिजन कार्यालयले खसेका ढुंगा हटाए पनि रोक्ने उपाय कहिल्यै नगरेको जीप चालक शिव घर्तीमगर बताउँछन्।

यो सडकमा करोडौं बजेटको बाह्रैमासे मर्मतसम्भारसँगै दुर्घटना बढिरहेको छ। जिल्ला प्राविधिक कार्यालय पाल्पाका इन्जिनीयर प्रेम बस्याल माटोको पत्रले अड्याएको चट्टाने भीर खोस्रेर सडक बनाउनु यो खण्डको मूल समस्या भएको बताउँछन्। यहाँ हिउँदमा सडक माथिबाट ढुंगा र वर्षामा पहिरो खसिरहन्छ। पाल्पाबाट बुटवल जाने यही एउटा सडक हो”, तानसेन१२ धरमपानीका बासिन्दा ध्रुव खनाल भन्छन्, “वर्षेनि करोडौं खर्चेर मान्छे मार्न सडक बनाए जस्तो भएको छ।

मान्छेले खाएको सडक

सिद्धबाबा क्षेत्रमा १० वर्षलाई पुग्ने योजनामा ठेक्का लागेको दोस्रो वर्षमै उही प्रकृतिको अर्को ठेक्का लाग्छ । जिविस पाल्पाका पूर्वसभापति झपेन्द्र जीसी सिद्धार्थ राजमार्गका ठेकेदार र कर्मचारीका लागि सडक मर्मत बाह्रैमासे दशैं भएको बताउँछन् । प्राविधिकहरु भने स्टमेट र संरचनागत स्टक्चर काम नमिल्ने दावी गर्दछन् । सिद्धबाबा क्षेत्रको भौगोलिक संरचना नै सडक बनाउन हुने खालको छैन । उनीहरु भन्छन्वर्षौंदेखि यो सडकमा सार्वजनिक यातायात चालक बर्तुङ्ग९ पाल्पाका जुद्धबहादुर कार्की, तानसेनका ऋषि श्रेष्ठ र शिव घर्तीमगर लगायतका चालकहरू भने यो सडकलाई इन्जिनीयर, कर्मचारी र ठेकेदारहरूले मिलेर खाएको बताउँछन् । दुइ दशकदेखि यस सडकमा गाडी चलाउँदै गरेका कार्की ठेकेदारले सडक बनाएको भन्दै छड राखेर माटोले छोपिदिने गरेको बताउँछन्। एउटा टायरले टेकेर हिंड्नुपर्ने हुन्छ । रोकिंदा पहिरोको डर, कुदाउँदा पल्टने खतरा।

मिलेमतोको धन्दा

सिद्धार्थ राजमार्गको दायाँबायाँ २५ मीटर जमीन छुट्याइए पनि फराकिलो बनाउने काम कहिल्यै भएन । मर्मतमा प्रशस्त बजेट आउँछ, तर गुणस्तरीय निर्माण सामग्री प्रयोग र दक्ष जनशक्तिबाट नियमित सुपरीवेक्षण हुँदैन । मिलेमतो टेन्डरबाटै शुरू हुन्छ । नाम उल्लेख गर्न नचाहने एक जना ठेकेदार सडकका कर्मचारी, टेन्डर थुत्ने गुण्डा र स्थानीय संघसंस्थादेखि चुल्ठेमुन्द्रेसम्मलाई बजेट छर्दा ४० प्रतिशत जति सकिने बताउँछन्। त्यसरी पैसा छरिएको असर कामको गुणस्तरमा पर्छ। गुणस्तर नियन्त्रणमा इन्जिनीयर इमानदार रहेछन् भने पनि ठेकेदारले सुपरभाइजरलाई मिलाउँछ। सुपरभाइजर मिलेपछि सिमेन्ट, छड, गिट्टी, बालुवा केहीको पनि जाँच हुँदैन।

धरापै धराप

२०२८ सालमा खोलिएको बुटवलतानसेन सडकमा ग्रेड मिलेको छैन । पहाडमा बढीमा ९ ग्रेडसम्मको उकालो गाडी चलाउन उपयुक्त मानिन्छ, तर यहाँ ११/१२ ग्रेडसम्मको उकालो छ। यो सडकमा दैनिक ५०० भन्दा बढी हेभी र २००० साना गाडी चल्ने गरेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलको रेकर्डले देखाउँछ। जबकि, हेभी गाडीका लागि यो साँघुरो सडक धरापै हो। त्यसमाथि, सडकमा न 'सेन्ट्रल लाइन' छ न त किनारामा पिल्लर र अरू संकेत नै। ट्राफिक संकेत, डिभाइडर केही छैन”, जीप चालक राजु थापा मगर भन्छन्, “वर्षा लागेपछि त यो सडक आफैं हिंड्न थाल्छ।

रूपन्देहीको सुनौलीबाट पोखरासम्मको १८० किलोमिटर सडकलाई सिद्धार्थ राजमार्ग भनिन्छ। पाल्पा डिभिजन सडक कार्यालयमा करीब २० वर्ष ओभरसियर रहेका तानसेनका जुठे महर्जन का अनुसार, भारतीय इन्जिनीयरहरूले डिजाइन गरेको यो सडक शुरूमा ६ फिटको थियो। २०१८ सालमा बुटवलतानसेन सडक खोल्दा बम पड्काएर फोरिएको कुहिरेभीर खण्ड अहिले पनि त्यस्तै साँघुरो छ। बमको थर्कनले माथिमाथिसम्म धाँजा फाट्यो”, महर्जन भन्छन्, त्यसयता जान थालेको पहिरो कहिल्यै रोकिएन।

भगवती टोलको होराइजन होम स्टे नेपालमै स्तरीय

माघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ ।


अमेरीकामा केन्द्रीय कार्यालय रहेको ट्राभल च्वाइसले नेपालका २५ वटा उत्कृष्ठ होम स्टे तथा होटलहरुको सूचिमा यसलाई दोस्रो स्थानमा सार्वजनिक गरेको हो । यो सर्वेक्षणमा काठमाडौंको नेपाल होम स्टे प्रथम र तानसेनमा रहेको होराइजन होम स्टे दोस्रो भएका छन् । होम स्टेमा आएका स्वदेशी तथा विदेशी पाहुनाहरुले पाएको सेवा सुविधा, सत्कार र वातावरण लगायतलाई आधार बनाएर सर्वेक्षण गरिएको ट्राभल च्वाईसले जनाएको छ ।


होराइजन होम स्टे खाना र बासको सुविधा दिने होटल तथा होम स्टेहरुमा दोस्रो स्थानमा पर्नुलाई पाल्पालीहरुले सकारात्मक मानेका छन् । २०६७ सालदेखि तानसेनमा होराइजन नाम बाट होम स्टे संचालन गर्दै आउनुभएका धनिश्वर बस्यालले यो सूचिलाई आफूले पुरस्कार रुपमा लिएको र होम स्टेलाई अझै व्यवस्थित रुपमा संचालन गर्न प्रेरणा मिलेको बताउनुभयो । पाल्पा पर्यटनका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ भन्ने भएको बताउँदै उहाँले आफू अझै क्रियाशील भएर लाग्ने जानकारी दिनुभयो । रुपन्देहीमा केही वर्ष उधोग व्यवसाय र ७ बर्ष विदेशमा गरेको कामका आधारमा होम स्टे खोलेको बस्यालको भनाई छ ।


यो होराइजन होम स्टेमा ८ जनाका लागि बस्ने खाने सुविधा छ । प्रति व्यक्ति १ हजारमा १ रात बस्न, साँझको डिनर, विहानको चिया र ब्रेकफाष्टको सुविधा दिन सकिने संचालिका जानकी बस्यालले जानकारी दिनुभयो । तानसेन भगवती टोलमा रहेका होम स्टेले पर्यटकहरुलाई स्वागत, स्थानीय परिकारको स्वाद चखाउने, घुमघामको लागि पथप्रदर्शकहरुको समेत व्यवस्था गर्दै आएका छन् । पत्रकार भेटघाट कार्यक्रममा होम स्टेमा बस्दै आएका वेलायती नागरिक डेनिवल ल्याकले होम स्टेबाट आफुले पूर्ण सन्तुष्टी पाएको र पाल्पा आफैमा सुन्दर रहेको अनुभूति सुनाएका थिए ।

गाउँगाउँमा चर्के पिङ हरायो, मौलिकता गुम्यो

कात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ फेरिफेरि खेलेका उनी मानिसको खेल्ने र रमाउने तरिका फेरिएकोमा अचम्म मान्दैछन् । उनी साथीभाइसँग लाइन लागेर चर्के पिङ खेल्थे । खालिवनका सुन्दर थापाको अनुभव पनि उस्तै छ । ‘पिङ खेल्न गाउँगाउँ घुमिन्थ्यो, अचेल कहाँ घुम्न पाउनु ?’


पाल्पा जस्तो पहाडी जिल्लामा प्रायः अचेल सबैको यस्तै कुरा सुनिन्छ, पिङ छैन कतै ? दशैँ तिहारमा पिङ खेल्न रहर हुन थाल्यो । युवा पुस्ता वैदेशिक रोजगारमा जाँदा गाउँमा ऊर्जाशील मानिस गाउँमा छैनन् । कसेनीका गोविन्द भट्टराई भन्छन्, ‘खर काट्ने, डोरी बाट्ने र पिङ बनाउने मान्छे भेट्न मुश्किल हुन पुग्यो अझ काठ काट्ने चर्के पिङ बनाउने कहाँ खोज्ने ?’ मदनपोखराका ६ दमकडाका रत्नबहादुर सिंजाली छोराछोरीले पूराना संस्कृतिको भेउ नपाउलान् कि भनेर चिन्तित छन् । घरमा प्रयोग गर्ने कतिपय भाडा र सामानहरुको नामै थाहा नपाउने स्थिति देख्दा उनी दङ्ग परेका हुन् । आधुनिकताले मौलिकता र परम्परा गुमाउने अवस्था सिर्जना भएको छ । 

कसेनीका खेमानसिं राना काठ, बाँस र माटोबाट बनेका सरसामानको प्रयोग हराउँदै जान थालेपछि यसको संग्रह गर्ने अभियानमा लागेका छन् । उनले आफ्नो जमानामा प्रयोग गर्ने पूराना सामान खोजेर दिव्य ज्योति उच्च माध्यमिक विद्यालयमा मिनी संग्राहलयको रुप दिएका छन् । राना भन्छन्, ‘कुनै बेलाका मूल्यवान र महंगा वस्तु अचेल देखिन छाडेका छन् । ठेकी, हर्पे, तामदान, डोला जस्ता वस्तु केटाकेटीले चिन्दैनन् ।’


तानसेन, मदनपोखराको दमकडा, कसेनीको सराइलगायतका स्थानमा लिंगे पिङ राखेर युवाहरुले चाडपर्व आएको छनक दिन सफल भए । चिर्तुङ्गधारामा रहेको चर्के पिङ खेल्न गाउँका युवाहरु जम्मा भएका छन् । वर्षदिनको एक पटक भूँई छोड्न पर्छ भन्दै बुढापाकाहरुसमेत पिङ चढ्ने रहेछन् । रिग्नेरह गाउँ विकास समितिका पूर्व अध्यक्ष नारायण आचार्यका अनुसार पूर्वी पाल्पाको अर्चले, ज्यामिरे, मित्याल, बहादुरपुरलगायतका गाँउमा अहिले पनि चर्के पिङ हालेर खेलेको देख्न सकिन्छ । उनले भने ‘राम्रा र मौलिक परम्परा पनि भूल्ने काम भएको छ । गाउँघरमा रहेका राम्रा परम्परालाई जगेर्ना गर्न सबैले पहल गर्नुपर्छ ।’


पहिलेपहिले मानिससँग यति धेरै पैसा थिएन, सामाजिक संघसंस्थाको आय श्रोत पनि कम थियो । सामाजिक र सामुदायिक कार्यमा मानिसहरु थुप्रै दिन श्रमदान गर्दथे । सामुदायिक भावना र श्रमदान गर्ने भावना हराउनाले पनि गाउँमा पिङ हाल्ने, बाटो खन्ने, पँधेरा सरसफाई गर्ने जस्ता कार्यमा कमी आएको छ । हुमिन ५ वगचौरका नारायण अधिकारीका विचारमा नेपालीहरु सामन्तीबाट पूँजीवादी चरित्रमा रुपान्तरित भएको यो एउटा दृष्टान्त हो । हरेक मानिस लाभहानी, नाफानोक्सान र श्रम र उपलब्धीको हिसावकिताव गर्न थालेका छन् । मौलिक परम्परालाई जोगाउन भने नाफानोक्सान हेरेर हुँदैन ।

गंगीसराका दुःखका दिन फर्के

सफलताको कथा

बिक्रम संवत्को २०३८ सालमा पाल्पा जिल्लाको जल्पा गाउँ विकास समिति झेड्दी भन्ने गाउँको मामाघरमा उहाँको जन्म भएको हो । मामाघरमा जन्म भई आफ्नै बाबा आमाको घर फोक्सिंगकोट १ झोकेदीमा हुर्केकी गंगीसरा सिंजाली अहिले नवप्रगतीशिल रिमिघा झोकेदी समूहकी अध्यक्ष बन्नुभएको छ । उहाँको जन्म सामान्य परिवारमा भएको थियो । बाबु पहिले भारततिर कामका लागि जाने गर्नुहुन्थ्यो भने उहाँको आमाले घरमै वसेर काम गर्नुहुन्थ्यो । उ जमानामा वावुले भारतबाट कमाएर ल्याएको थोरै पैसा निर्वाहको बाटो मात्रै हुन्थ्यो । त्यसकारण गंगीसराको बाबु भौंतारिरहेको भेटिन्थ्यो । बाबु आमाको माइलो सन्तान र पहिलो छोरीका रुपमा जन्मैकी गंगीसरालाई वावुले उमेर पुगेपछि नजिकैको विद्यालयमा भर्ना गरिदिनुभयो । तर त्यतीबेला सम्म आमाले अर्को वैनी पाई सकेकाले उनले कक्षा १ को पहिलो त्रैमासिक परिक्षा दिए पछि वैनी हेर्ने कामकालागि विद्यालय छाड्नु पर्यो । बहिनी ठूलि भएपछि गंगीसरा एकै चोटी कक्षा ३ मा भर्ना हुनुभएको र औपचारिक अध्ययनलाई कक्षा ५ सम्म पुर्याउने मात्र अवसर पाउनुभयो । कक्षा ५ सम्मको अध्ययन पुरा गरेपछि उहाँको पढ्ने अवसर खोसियो रहर हराउँदै गयो त्यो अवसरबाट बञ्चित बन्नु प¥यो । आमालाई घरको काममा सघाउनु फूर्सदको समयमा साथी संगीसँग खेल्नु, गाई बाख्राको माहारा जानु, अलि उमेर वढे पछि गाउँ घरमा हुने रमाईला मेला पर्वमा जानु आदीका कारण उहाँको पढाई अगाडी वढ्न सकेन ।


उमेर वढ्दै गएपछि २०५५ सालमा गाउँको नजिकैका एकजना युवा नन्दलाल सिंजालीसंग उहाँको विवाह भयो आफ्नै जातीय परम्परा अनुसार । विवाहको केही वर्षमै पहिलो सन्तान छोरा जन्मियो त्यसपछि छोरी र छोटो समयमै पुन अर्को छोरालाई जन्मिए । अहिले २ छोरा र १ छोरीका आमाका रुपमा माया बाँडिरहेकी गंगीसरालाई केही अपठ्याराहरु परे । विवाह भएपछि श्रीमान कमाउनका लागि विदेशिन पर्ने आइलाग्यो । यता छोरा छारी जन्मने र श्रीमान नभएपछि घर परिवार र छिमेहीले हेर्ने खराव दृष्टिकोणको शिकार गंगीसरा बन्न बाध्य हुनुभयो । छोरी जन्मेका बेला श्रीमान्लाई त्यती सन्चो भएन, मानसिक सन्तुलन गुमाएको जस्तो भयो । माया गर्न जान्नु भएन यस्तो भएपछि घरपरिवारलाई झन् आपत आइलाग्यो । १० वर्ष अगाडी परिवारसंग छुट्एिर वसेकी गंगीसराको जीवन संघर्षमय र उत्प्रेरक रहेको छ । श्रीमानको सामान्य कमाइलाई विकल्प दिदै गाउँका सानातिना कामबाट आम्दानी लिइ नै रहनुभयो जसले परिवार धान्न सहयोग पुर्यायो । स्काई समाजले हेफर ईन्टरनेशनल नेपालको सहयोगमा परियोजना गाउँमा ल्याएपछि समूहकी अध्यक्ष बनेर काम गरेकी गंगीसरालाई यो समूहमा वसेर काम गर्दाको फरक अनुभूति भएको छ । समूहमा २,३ वर्ष पहिला पनि थिएँ तर काम गर्न सकिन्छ भन्नेमा विश्वासै लाग्दैनथ्यो । यो समूहमा वसेर काम गरेपछि काम गरे सकिने रहेछ भन्ने उहाँलाई लागेको छ । अहिले आत्मबल बढेको छ भने आत्मविश्वास जागेको छ ।


पहिलेपहिले बैठक तालिमको वास्तै हुँदैनथ्यो आजभोली खोजी खोजी लिने चलन बढेको छ । गंगीसराका घरमा ३०० वटा संख्यामा कुखुरा छन्, १३ वटा वाख्रा र समुहको ठूलो बोका पनि उहाँले नै पाल्नुभएको छ । वंगुर पाठापाठी बिक्रिका लागि तयार छन् । तरकारी खेतीबाट वार्षिक १०÷१२ हजार रुपैँया कमाइ हुन्छ । त्यस्तै गाउँ विकास कार्यक्रममा सामुदायिक संस्थाहरुको अडिट गर्ने काम पनि उहाँले गर्दै आउनुभएको छ । जसबाट वर्षमा ५÷७ हजार आम्दानी हुन्छ । श्रीमान अहिले घरमै हुनुहुन्छ, विदेशमा हुँदा सामाजिक काममा नजा घरको काम विग्रिन्छ भन्नुहुन्थ्यो र अहिले आफूसमेत समूहलाई सल्लाह दिन पछिपछि आउनुहुन्छ । यस समूहमा बसेपछि स्थानीय रुपमा गठीत अन्य समूह समिति र संघ संस्थामासमेत महत्वपूर्ण भूमिकामा रहेर काम गर्न थाल्नुभएको छ । उहाँको काम देखेपछि समुदायका मानिसहरुले पनि विश्वास गरेर जिम्मेवारी दिन थालेका छन् । समूहको अलावा अहिले फोक्सिंगकोटका सामुदायिक वन, महिला सञ्जाल, अध्यक्ष मेनेजर भेलाको अध्यक्ष जस्ता पदमा उहाँले जिम्मेवारी लिनुभएको छ ।

विद्युत वितरक संस्था र खानेपानी उपभोक्ता समिति व्यवस्थापन र कार्यन्वयन समितिमा पनि उहाँको सक्रिय सहभागिता छ । ५ वर्ष अगाडी कुनै बैठकमा पनि नजाने गंगीसराको अहिलेको नेतृत्व देखेर सबैले अचम्म मान्ने गर्दछन् । परियोजना लिएर गाउँ जाँदा उहाँको बोली उरुकै सरह मधुरो थियो, कुरा गर्दा आधाभन्दा बढी मगर भाषा मिसाउने गर्नुहुन्थ्यो । अहिले समूहै उदाहरण बन्नुभएको छ । गंगीसराले गाँउटोल र गाविसकै महिलाहरुको र समग्र विकासको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । गाउँका अगुवा भलाद्मीहरुका बीच ननिस्कने बोली अहिले मन्त्री, नेताका अगाडी निर्धक्क आफ्ना माग राख्न सक्ने बन्नुभएको छ । उहाँबाट सिक्न पर्र्ने कुरा नपढे तापनि आँट, तर्क र क्षमता हो । उहाँको परिवारमा आम्दानीको राम्र्रै श्रोत बनेको छ वोइलर कुखुरा । श्रीमान्ले फ्रेस हाउस र पसल चलाउने गंगीसराले बाख्रा, वंगुर र कुखुरापालन, तरकारी खेती र गेडागुडीको बिक्री गरी राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । यसले परिवारमा सुख र खुुशी दिएको छ । यो परिवार सर्घषमय जीवनबाट सफलता मिल्छ भन्ने दृष्टान्त दिन मिल्ने बनेको छ । आखिर गरे के हुँदैन ?

पाल्पामा चलचित्र पीपलको च्यारिटी शो

तानसेन, माघ २७ – पाल्पाको माडीफाँट र आसपासमा छायांकन गरिएको नेपाली कथानक चलचित्र पीपलको शनिबार तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा च्यारिटी शो प्रदर्शन गरिएको छ ।


सामाजिक विषयबस्तुमा आधारित चलचित्र पीपल हेर्न स्थानीय दर्शकले चलचित्र हल भरिभराउ भएको छ । रेड एप्पल मुभिज्को प्रस्तुती चलचित्र पीपलको कथा लेखन, निर्माण निर्देशन निरञ्जन कसजु माइलाले गर्नुभएको हो । चलचित्रमा किशोर खतिवडा, अरुणिमा लम्साल, ध्रुव कोइराला, अमित ठकुरी, शुस्मा अधिकारी, कुलचन्द्र पुरी, रजत सिल्वाल, किरण चित्रकार, नारायण थापा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ ।


चलचित्रले सामाजिक बिषयबस्तुहरुलाई समेटेकोले दर्शकले माया गर्नुहुन्छ भन्ने विश्वास रहेको चलचित्रका निर्देशक निरञ्जन कसजुले बताउनुभयो । चलचित्र पीपल आगामी बैशाखको पहिलो साताबाट देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ ।