यू–१६ एएफसी च्याम्पियनसिपको दोस्रो खेल नेपाल र इराक बीच बराबरी

काठमाडौं,असोज-११ सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटबलको आफ्नो दोश्रो खेलमा नेपालले इराकलाई बराबरीरी खेलेको छ ।
पहिलो हाफमा २-० ले अग्रता लिएको इराकविरुद्ध नेपालले दोस्रो हाफमा दुई गोल फर्काएर बराबरीमा पुर्‍याएको हो । नेपालका लागि स्ट्राइकरद्वय विमल घर्तीमगर र अञ्जान विष्टले गोल गरे । नेपालले बराबरी खेलेपछि ४८ स्थानमाथि रहेको बलियो टिम इराकलाई ठूलो झड्का लागेको छ ।
दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलको दोस्रो हाफमा विमलले पास सदुपयोग गर्दै महत्त्वपूर्ण गोल गरे । दोस्रो गोल हेमन्त रानाको कर्नर सदुपयोग गर्दै अञ्जानले गरे ।
पहिलो हाफसम्ममा इराकले नेपालविरुद्ध लगातार दुई गोल गरेको थियो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै हसम हसनले १५ औँ मिनेटमा खाता खोले ।  
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अमिर सबाहले अर्को गोल थपे । खेलको मध्यभागबाट एकतर्फी लगेका अमिरले फेरि पनि नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए ।
नेपालले अर्को खेल आइतबार तुर्कमेनिस्तानसँग खेल्नेछ ।

युथ युनियन र दिपेन्द्र स्मृति क्लबबीच फाइनल खेल

पाल्पा, भाद्र २३– पाल्पाको कसेनीमा सञ्चालित तरुण रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।


तानसेनको युथ युनियन क्लब र बाँसटारीको दिपेन्द्र स्मृति क्लबबीच फाइनल खेल सराईको फूलबारीमा दिउँसो १ बजे हुने हुने आयोजकहरुले बताएका छन् । खहरे युवा क्लबलाई ० का विरुद्ध १ गोल गरी फाइनलमा प्रवेश गरेको युथ युनियन र मिश्रित युथ क्लब सराईलाई १ का विरुद्ध ३ गोल गरी फाइनलमा प्रवेश गरेको दिपेन्द्र स्मृति क्लबबीचको खेल प्रतिपर्धात्मक हुनेछ ।


तरुण दल क्षेत्रिय समितिका अध्यक्ष माधव जीसीले फुटबल खेलका माध्यमबाट युवाहरुमा भातृत्व तथा एकआपसमा मित्रता बढ्ने भएकाले यो प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । नेपाल तरुण दल क्षेत्र नं. २ ले आयोजना गरेको तरुण रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा जिल्लाका २७ टिमले भाग लिएका थिए ।

पाल्पामा राष्ट्रिय आइटिएफ टेक्वान्दो महोत्सव हुने

पाल्पा, भाद्र २३– तानसेनमा आगामी भाद्र २८ र २९ गते राष्ट्रिय आइटिएफ टेक्वान्दो महोत्सव हुने भएको छ ।


आठौं जनरल चोई स्मृति आइटिएफ तेक्वान्दो प्रतियोगितालाई खेल महोत्सवकै रुप दिने तयारी गरिएको आयोजकहरुले बताएका छन् । तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक रेवतबहादुर रानाले खेलमा देशभरका ८१ वटा क्लव आवद्ध खेलाडीहरुको सहभागिता रहने बताउनुभयो ।


तेक्वान्दोका पाँच वटा बिधाहरुमा १ सय ४ स्वर्ण, १ सय ४ रजत र १ सय ४० कास्य गरी ३ सय ४८ पदकका लागि झण्डै ६ सय ५० खेलाडीहरुको प्रतिस्पर्धा रहने नेपाल आइटिएफका केन्द्रीय महासचिव रहेका संयोजक रानाले जानकारी दिनुभयो । तेक्वान्दोका जन्मदाता स्वः जनरल चोई होङ्ग हीको स्मृतिमा महोत्सव आयोजना गर्न लागिएको तेक्वान्दो डोजाङ्ग पाल्पाका अध्यक्ष नीर बहादुर सारुले जानकारी दिनुभयो ।


१८ वर्षदेखि ३९ वर्ष सम्म महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला तथा पुरुष र १४ वर्ष भन्दा मुनिका बालबालिकाहरुको ब्ल्याक बेल्ट तथा कलर बेल्टहरुको छुट्टाछुट्टै क्याटेगोरीमा प्रतिस्पर्धा गर्न मिल्ने गरी कार्यक्रम तालिका बनाइएको आयोजकले जनाएको छ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको आयोजना तथा पाल्पा आइटिएफ तेक्वान्दो संघको ब्यवस्थापनमा खेल हुन लागेको छ ।

एन्फा पाल्पामा कार्की निर्वाचित

पाल्पा, साउन १५ – जिल्ला फुटवल संघ एन्फाको अध्यक्षमा भिमसेन कार्की मंगलबार निर्विरोध निर्वाचित भएका छन् ।


संघको जिल्ला भेलाले कार्कीलाई पुनः अध्यक्ष पदमा निर्वाचित गरेको हो । चार बर्षे कार्यकालका लागि उपाध्यक्षमा राजेश्वर उदय, मनोहर थापा, भूगोल बैंजु निर्वाचित भएका छन् । सदस्यहरुमा सुरेश लिगल, राजु महर्जन, माधब अर्याल, सुरेन्द्रमान कर्माचार्य, सुशील शाक्य, सुनिल कमाचार्य, सुरेन्द्र पाण्डेय, रविन्द्र बजिमय, पे्रेमसिंह दर्लामी चुनिएका छन् । कार्यसमितिको पहिलो बैठकले महासचिवमा भरत शर्मा र कोषाध्यक्षमा मधुदयाल सैंजुलाई मनोनित गरेको छ ।


निर्वाचन पर्यवेक्षक तथा केन्द्रीय सदस्य हरि श्रेष्ठले फुटवललाई गैरराजनीतिक ढंगले अगाडि बढाउनुपर्ने र सबैको हो भन्ने बनाउन आग्रह गरे । उनले मैदान जीर्ण भएपनि पाल्पाले फुटबलमा आफ्नो गतिविधि कहिल्यै कम नगरेको बताए । नवनिर्वाचित अध्यक्ष कार्कीले ४ वर्षे कार्यकालमा भएको गतिविधि प्रकाश पार्नुका साथै फिफा गोलप्रोजेक्टका बारेमा प्रष्ट पारे । मैदान राम्रो हुने वित्तिकै ‘करुवा कप’ लाई निरन्तरता दिने बताउदै अहिले भएका गतिविधिमा जिल्लाबासीको साथ रहेको बताए । भेलामा केन्द्रीय सहसचिव सुरेश लिगल, उपाध्यक्ष राजेश्वर उदयले जिल्ला फुटवल संघको भूमिकाका बारेमा बोलेका थिए ।


संघले जिल्ला सदरमुकाममा रहेको तानसेन टुँडिखेल मैदानमा जिल्लास्तरीय फुटबल सञ्चालन गर्दै आएको छ । पाल्पा जिल्लाको रामपुर, दमकडा, सराईलगायतका स्थानमा राम्रा फुटबल मैदान रहे तापनि संघले त्यति महत्व दिने गरेको छैन । फुटबल मैदान सुधारका लागि संघले ठोस कार्यक्रम ल्याउनुपर्ने खेलप्रेमीहरुको भनाई रहेको छ ।

अन्तर कर्मचारी डबल व्याडमिन्टन


जेठ १६, पाल्पा – तानसेनमा आयोजित अन्तरकर्मचारी डवल व्याडमिन्टन प्रतियोगितामा जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत लीला अर्याल र पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको समूह पहिला भएको छ ।

छैठौं गणतन्त्र दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र पाल्पाले आयोजना गरेको व्याडमिन्टन खेलमा मिलन केन्द्रका संरक्षक समेत रहेका जोशी र अर्याल पहिला हुनुभएको हो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा शिव आत्रेय र राजकुमार खिउँजु दोस्रा, शिक्षा कार्यालयका उपसचिव दिपेन्द्र ढकाल र प्रहरी कार्यालयका सन्तोष रेग्मी तेस्रा भएका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको ७ टोली सहभागी थियो ।

प्रतियोगितापछि प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्रका अध्यक्ष झलक शर्मा पौडेलले स्वास्थ्य र दीर्घजिवी रहनका लागि खेलकुद जरुरी रहेको बताउनुभयो । कार्यक्रपछि मिलन केन्द्रको टोलीले जिल्ला कारागार पाल्पाको अवलोकन गरी बन्दिहरुका लागि खेलकुद सामाग्री वितरण गरेको छ ।