यू–१६ एएफसी च्याम्पियनसिपको दोस्रो खेल नेपाल र इराक बीच बराबरी

काठमाडौं,असोज-११ सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटबलको आफ्नो दोश्रो खेलमा नेपालले इराकलाई बराबरीरी खेलेको छ ।
पहिलो हाफमा २-० ले अग्रता लिएको इराकविरुद्ध नेपालले दोस्रो हाफमा दुई गोल फर्काएर बराबरीमा पुर्‍याएको हो । नेपालका लागि स्ट्राइकरद्वय विमल घर्तीमगर र अञ्जान विष्टले गोल गरे । नेपालले बराबरी खेलेपछि ४८ स्थानमाथि रहेको बलियो टिम इराकलाई ठूलो झड्का लागेको छ ।
दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलको दोस्रो हाफमा विमलले पास सदुपयोग गर्दै महत्त्वपूर्ण गोल गरे । दोस्रो गोल हेमन्त रानाको कर्नर सदुपयोग गर्दै अञ्जानले गरे ।
पहिलो हाफसम्ममा इराकले नेपालविरुद्ध लगातार दुई गोल गरेको थियो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै हसम हसनले १५ औँ मिनेटमा खाता खोले ।  
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अमिर सबाहले अर्को गोल थपे । खेलको मध्यभागबाट एकतर्फी लगेका अमिरले फेरि पनि नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए ।
नेपालले अर्को खेल आइतबार तुर्कमेनिस्तानसँग खेल्नेछ ।