पूर्तिघाटका दर्लामी परिवारलाई पाँच लाख

जेठ १५, मलेशिया – वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा ज्यान गुमाएका गुल्मी पूर्तिघाटका बमबहादुर दर्लामी मगरको परिवारलाई मलेसियामा रहेका नेपालीहरुले करिव पाँच लाख रुपैया सहयोग रकम पठाएका छन् । दर्लामीले काम गर्ने जोहोरको मसाईमा रहेको एविएन ग्रुपका नेपालीहरु प्रत्येकले १\१ सयका दरले १६ हजार रिगेट भन्दा वढि र अन्य कम्पनीमा कार्यरत नेपालीले करिव एक हजार रिगेट जम्मा गरी नेपाल पठाएका हुन् । आईएमईवाट पाउने गरी मृतक दलार्मिको आमा तेज कुमारी दर्लामीको नाममा मलेशियामा रहेका नेपालीले यो पठाएको मलेसियावाट पत्रकार रामचन्द्र नेपालले जनाएका छन् । दर्लामीको तीन महिना अगाडि मलेशियामा सुतेकै स्थानमा लास फेला परेको थियो ।

नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बन्दै

वैशाख ३१, इस्लामावाद   - पाकिस्तानमा सम्पन्न संसदीय निर्वाचनमा अग्रस्थानमा रहेको दलका नेता मुहमद नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

यसअघि दुई पटकसम्म प्रधानमन्त्री बनिसकेका मुहमद नवाज सरिफको दल पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएलएन) १ सय १५ स्थानमा अग्रपंक्तिमा रहेको जनाइएको छ । २ सय ७२ सिटका लागि निर्वाचन भएको थियो । सरिफले उठेका दुवै स्थानबाट जितेका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले टि्वटरबाट उनलाई बधाई दिइसकेका छन् । पूर्व क्रिकेट खेलाडी इम्रान खानको पार्टी तेहरिक ए इन्साफ प्रमुख प्रतिपक्ष बन्ने सम्भावना देखिएको छ । सत्तारूढ पाकिस्तान पिपुल्स पार्टी भने केवल ४० स्थानमा अगाडि छ । नेता सरिफले सरकार निर्माणका लागि पार्टीभित्र र बाहिर छलफल थालिसकेको बताइएको छ । उनको पार्टीलाई एकलौटी सरकार चलाउन मिल्ने गरी बहुमत भने प्राप्त हुने छैन । उनले प्रमुख प्रतिपक्षी बाहेकका साना दलसँग मिलेर सरकार बनाउने सम्भावना छ ।

सरिफ सन् १९९० नोभेम्बरदेखि १९९३ जुलाईसम्म र १९९७ फेबु्रअरीदेखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए ।  सन् १९९९ मा तत्कालीन सैनिक शासक परभेज मुसर्रफले उनलाई सैनिक कुबाट हटाएका थिए । कु गरी हटाउने मुसर्रफ भने हाल जेल जीवन बिताइरहेका  छन् । यस निर्वाचनबाट पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलोपटक प्रजातान्त्रिक तरिकाले निर्वाचित सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी अर्को प्रजातान्त्रिक तरिकाले निर्वाचत सरकारलाई सत्ता हस्तान्तरण गर्ने अवस्था सिर्जना गरेको छ ।

भारतमा १२ लाख शिक्षक अभाव

चैत १८ – भारतमा प्राथमिक र माध्यमिक शिक्षामा १२ लाख भन्दा बढी शिक्षकको अभाव रहेको पाइएको छ ।

योग्य र प्रशिक्षित शिक्षकको व्यवस्था गर्नु अनिवार्य भएपनि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा दिने व्यक्ति समेतको अभाव रहेको पाइएको हो ।

सबैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाख जना शिक्षकको अभाव रहेको सरकारी तथ्याङ्क छ । यस्तै, बिहारमा २ लाख ६० हजार, पश्चिम बंगालमा एक लाख, झारखण्डमा ६८ हजार मध्य प्रदेशमा ९५ हजार शिक्षकको पद खाली रहेको छ ।

भएका शिक्षकमा पनि ८ लाख ६० हजार जना शिक्षक योग्य र प्रशिक्षत छैनन् । राष्ट्रिय अध्यापक शिक्षा परिषदले तोकेको मापदण्ड पूरा नगर्ने विद्यालय धेरै रहेका छ । सरकारले शिक्षाको अधिकार सम्बन्धि कानून लागू गर्नका लागि तोकिएको तीन वर्षको म्याद सकिदा पनि अधिकांश विद्यालयहरुले शिक्षकको पदपूर्ति र आधारभूत सुविधा पनि विस्तार गर्न नसकेको भन्दै सरोकारवालाले आलोचना गरेका छ ।

सरकारले कानुन लागू गर्न उदासीन देखिंदा लाखौं विद्यार्थी शिक्षाको अधिकारबाट बन्चित हुने भन्दै उनीहरुले कडाई गर्न पनि माग गरेका छन् । कानून लागू गर्न तोकिएको तीनवर्षे समय आइतबार सकिंदैछ । कानून अनुसार आवश्यक भौतिक तथा शैक्षिक मापदण्ड पूरा नगर्ने विद्यालय विरुद्ध अभिभावकले मूद्धा दायर गर्ने सक्ने व्यवस्था गरिएको छ ।

सर्बिया र कोसोभोको बार्ता मिलेन

चैत २१ – युरोपेली युनियन ईयुको मध्यस्थतामा भइरहेको सर्बिया र कोसोभोवीचको वार्ता विना निष्कर्ष सकिएको छ ।

सम्बन्ध सुधारका लागि सर्बियाली प्रधानमन्त्री इभिका डासिस र कोसोभोका प्रधानमन्त्री हासिम थाकीबीच भएको वार्तामा दुवै पक्षले हडान नछाडेपछि टुंगोमा पुग्न नसकेको हो ।

सर्बियाली मूलका नागरिकको वसोवास धेरै रहेको उत्तर कोसोभोसंग सम्बन्धित समस्या समाधानका लागि युरोपेली युनियनका अधिकारीको मध्यथतामा बेल्जियमको ब्रसेल्समा वार्ता भएको थियो । कोसोभोका प्रधानमन्त्री थाकीले सर्बियाली जनजाति लगायत सबै नागरिकलाई कोसोभोको जीवनशैलीमा एकत्रित गर्ने प्रस्ताव आफूले राख्दा सर्वियाले खुलेर कुरा नगरेको बताउनुभएको छ ।

वार्ताको मध्यस्थता गरेका युरोपेली आयोगका विदेश मामिला प्रमुख क्याथरिन एष्टनले दुई देशबीचको दूरी साँघुरो तर निकै गहिरो रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुवै देशले आन्तरिक छलफल पछि वार्ताबारे निर्णय दिने जानकारी दिनुभयो ।

कोसोभोले सन् २००८ मा एकतर्फी रुपमा स्वतन्त्र भएको घोषणा गरेपछि धेरै राष्ट्रले यसलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपनि सर्वियाले भने अस्वीकार गर्दै आएको छ ।

कोसोभोको बहुसंख्यक आदिवासी अल्बानियन र सर्बियाली आदीवासीबीच पछिल्लो केही वर्षयता लगातार हिंसात्मक झडप हुँदै आएको छ । उत्तरी कोसोभोमा बस्दै आएका सर्बियालीले कोसोभोको सरकारको आधिकारीकता अस्वीकार गर्दै आएका छन् ।

मलेसियामा संसद भंग

 चैत २१ – मलेसियाका प्रधानमन्त्री नाजिब रजाकले संसद भंग गर्नुभएको छ ।

टेलिभिजन सम्बोधन मार्फत प्रधानमन्त्री नजिबले राजा अब्दुल हालिमको स्वीकृतिमा बुधबारदेखि लागू हुने गरी संसद भंग गरेको घोषणा गर्नुभएको हो ।

५० वर्षदेखि सत्तामा रहेको गठबन्धन नेशनल फ्रन्टको पछिल्लो जनादेश अप्रिल ३० तारिखमा सकिन लागेकाले नयाँ चुनावका लागि संसद भंग गरिएको हो । प्रधानमन्त्री रजाकको कार्यकालले भने बुधबार चार वर्ष पूरा गरेको छ ।

संसद भंग गरिएपनि नयाँ चुनावको मिति भने घोषणा गरिएको छैन । यही अप्रिलको अन्त्यमा चुनाव हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००८ को चुनावपछि दुई तिहाई बहुमत गुमाएको नेशनल फ्रन्टलाई आउँदो चुनावमा आफ्नो प्रतिष्ठा कायम राख्ने दबाब हुनेछ ।

स्वतन्त्रताको बेलादेखि नै सत्तामा एकछत्र राज गरेको गठबन्धनलाई विपक्षी तीन दलको संयुक्त गठबन्धनले कडा टक्कर दिने अनुमान गरिएको छ । आउँदो चुनावमा विपक्षी नेता अनवर इब्राहिम रजाकको प्रतिस्पर्धीका रुपमा रहनुहुनेछ ।