काठमाडौं घोषणापत्र जारी गर्दै सार्क शिखर सम्मेलन सम्पन्न

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।  

काठमाडौं घोषणापत्र नाम दिइएको घोषणापत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहितका विषयहरु रहेका छन् । समापन समारोमा १९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने पनि निर्णय गरिएको छ ।  त्यस साथै घोषणापत्रमा सार्कलाई १५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउनेलगातका विषयहरु रहेका छन् । सवारी साधन र रेल-वेमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र त्यसको टुंगो लगाएर सम्झौता गर्नेमा आठै राष्ट्र सहमत भएका छन् ।  कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति मात्र भएको बताइएको छ । आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले यसको टुंगो लगाएर छ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गर्ने प्रतिवद्धता जाहेर छ । 

क्षेत्रीय साझेदारी

१) कार्यकारी प्रमुखहरूले दक्षिण एसियामा शान्ति, स्थिरता र समुन्नतिका लागि क्षेत्रीय एकता सुदुढ पार्ने बलियो संकल्प व्यक्त गरेका छन् । त्यसनिम्ति व्यापार, लगानी, वित्त, ऊर्जा, सुरक्षा, पूर्वाधार, सञ्चार र संस्कृतिका क्षेत्रमा साझेदारी गहन पार्दै लगिनुका साथै प्राथमिकतापूर्वक, नतिजामुखी र समयनिर्दिष्ट ढंगमा परियोजना, कार्यक्रम र क्रियाकलापहरू कार्यान्वयन गरिनेछ ।

दक्षिण एसियाली आर्थिक युनियन (एसएईयू)

२) नेताहरूले स्वतन्त्र व्यापार क्षेत्र, भन्सार युनियन, साझा बजार र साझा वित्तीय तथा मौदि्रक युनियनको माध्यमबाट चरणबद्ध एवम् योजित तवरमा दक्षिण एसियाली आर्थिक युनियन (एसएईयू) स्थापना गर्ने आफ्नो प्रतिबद्धताको नवीकरण गरेका छन् ।

३) नेताहरूले स्विकारेका छन्: सार्क सदस्य राष्ट्रहरू, खासगरी अति कम विकसित र भूपरिवेष्टित मुलुकहरूले संरचनागत सीमितता र चुनौतीका कारण कमजोर उत्पादकीय क्षमता राख्छन् र त्यसैमा उच्च व्यापार, पारवहन व्ययभारलगायत कारणले बाह्य व्यापारमा उनीहरूको प्रतिस्पर्धीय ल्याकत प्रभावित हुन्छ । नेताहरूले स्वतन्त्र व्यापार व्यवस्थाका औचित्यपूर्ण लाभहरू सुनिश्चित गर्ने ध्येयले अति कम विकसित र भूपरिवेष्टित सदस्य राष्ट्र्रहरूलाई विकास प्रयासमा सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसै सन्दर्भमा उनीहरू साफ्टा र साटिसअन्तर्गतका विद्यमान अधिमान्य सुविधाहरूको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् ।

साफ्टा र व्यापार सहजीकरण

४) नेताहरूले उत्पत्तिका सरलीकृत र पारदर्शी नियमहरू ल्याएर यस क्षेत्रमा वस्तु र सेवाको स्वतन्त्र व्यापार वृद्धि, व्यापार सहजीकरण पद्धतिको कार्यान्वयन, व्यापारका प्राविधिक व्यवधान (टेक्निकल ब्यारियर्स- टीबीटी), सफाइ र पर्यावरणीय सफाइका पद्धतिहरूसँग सम्बन्धित स्तर समानीकरण, समानीकृत, एकीकृत र सरलीकृत भन्सार प्रक्रिया, गैरभन्सार र विशेष प्रशुल्कसम्बन्धी व्यवधानहरू एवम् पारवहन र परिवहन सुविधाहरूलाई चुस्त र प्रभावकारी पार्नका लागि साफ्टा मन्त्रीस्तरीय परिषद् र साफ्टा विशेषज्ञ समितिलाई निर्देशन दिएका छन् । उनीहरूले प्रतिबद्धताहरूको तालिका टुंगो लगाएर साटिसको शीघ्र कार्यान्वयनका लागि पनि आग्रह गरेका छन् ।

५) उनीहरूले अति कम विकसित, भूपरिवेष्टित र विकासशील साना टापु राष्टहरू (सिड्स)का आवश्यकताहरूलाई समेट्ने गरी विश्वव्यापी आर्थिक र वित्तीय संरचनामा समयानुकूल र प्रस्ट सुधारका लागि समेत आहान गरेका छन् ।

६) उनीहरू सिड्सको दिगो विकासका लागि तिनको विशेष अवस्था र संवदेनशीलतालाई खास ध्यान पुर्‍याउनुपर्नेमा फेरि सहमत भएका छन् ।

सार्क विकास कोष

७) उनीहरू सार्क विकास कोषको यथाशीघ्र सामाजिक फाँटलाई दरिलो पार्न र क्षेत्रीय तथा उपक्षेत्रीय परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक एवम् पूर्वाधार फाँट सञ्चालनमा ल्याउन सहमत भएका छन् । त्यो सन्दर्भमा उनीहरू यस क्षेत्रका जनाताको जीविकासम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्दै एसडीएफअन्तर्गतका परियोजनाहरूको तीव्र कार्यान्वयनमा जोड दिएका छन् । उनीहरू हरेक सदस्य राष्ट्रको प्रतिनिधि रहने गरी एसडीएफको कार्यकारी बोर्ड विस्तार गर्न पनि सहमत भएका छन् ।

८) कार्यकारी प्रमुखहरूले सार्क सवारी सम्झौता (सार्क मोटर भेहिकल्स एगि्रमेन्ट) र सार्क क्षेत्रीय रेलवे सम्झौतालाई अन्तिम रूप दिनेतर्फ भइरहेको महत्त्वपूर्ण प्रगतिको स्वागत गर्नुका साथै सम्झौतालाई स्वीकृतिका लागि टुंग्याउन ३ महिनाभित्रमा यातायात मन्त्रीहरूको बैठक राख्न सहमत भएका छन् । उनीहरूले सडक, रेलवे, जलाधारित पूर्वाधार, विद्युत् प्रसारण लाइन, सञ्चार र हवाई सम्बन्धको निर्माण-स्तरोन्नतिबाट वस्तु, सेवा, पुँजी, प्रविधि र मानिसहरूको सहज अन्तरसीमा आवागमन सुनिश्चित गर्न निर्बाध तवरमा क्षेत्रीय सम्पर्क -रिजनल कनेक्टिभिटी) को दिगो विस्तारनिम्ति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । उनीहरूले सबै सम्पर्क माध्यमहरूबाट मध्यएसिया सहितका छिमेकी क्षेत्रहरूलगायत सबैतिर दक्षिण एसियालाई जोड्नुपर्ने आवश्यकतामा जोड दिँदै सम्बद्ध निकायहरूलाई राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय उपागमसहित आवश्यक व्यवस्था गर्न निर्देशित गरेका छन् ।

ऊर्जा

९) नेताहरूले जलविद्युत्, प्राकृतिक ग्यास, सौर्य ऊर्जा, वायु तथा जैविक इन्धनलगायत ऊर्जा उत्पादन, प्रसारण र व्यापारका क्षेत्रमा क्षेत्रीय र उपक्षेत्रीय आयोजनाहरू पहिचान गर्न र यस क्षेत्रमा बढदो ऊर्जा मागलाई आपूर्ति गर्नका लागि उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सम्बद्ध सार्क निकाय र संयन्त्रहरूलाई निर्देशन दिएका छन् । उनीहरूले ऊर्जा साफेदारीका लागि सार्क फ्रेमवर्क सम्झौता (विद्युत्) को अनुमोदनलाई स्वागत गरेका छन् ।

१०) नेताहरूले दक्षिण एसियालाई गरिबीबाट मुक्त पार्ने आफ्नो सुदृढ प्रतिबद्धता दोहोर्‍याएका छन् । त्यसनिम्ति गरिबी निवारणसम्बन्धी मन्त्रीस्तरीय र सचिवस्तरीय संयन्त्रहरूलाई प्रगति समीक्षाका साथै पश्च-२०१५ विकास एजेन्डालाई समेत ध्यानमा राखी सार्क कार्ययोजनाको सिंहावलोकन र त्यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।

११) उनीहरूले समावेशी, बृहत्तर र दिगो आर्थिक वृद्धि र विकासका लागि सहकारीहरूको सम्भावना पहिचान गर्दै सहकारी क्षेत्रको अनुभव, विशेषज्ञता र विशिष्ट प्रयोगहरू साझेदारी गर्न आहान गरेका छन् ।

पश्च-२०१५ विकास लक्ष्य

१२) राष्ट्रसंघले अंगीकार गरेयता पश्च-२०१५ विकास लक्ष्यले दिगो विकासनिम्ति गरिने राष्ट्रिय र क्षेत्रीय पहलहरूलाई सहयोग पुग्ने अवसरहरू प्रदान गर्ने नेताहरूले औंल्याएका छन् । उनीहरूले क्षेत्रीय तहमा दिगो विकास लक्ष्य (एसडीजीएस) परिकल्पना गर्नका लागि अन्तर सरकारी प्रक्रिया सुरुआत गर्नसमेत निर्देश गरेका छन् ।

१३) कार्यकारी प्रमुखहरूले यस क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा प्रत्याभूति निम्ति उत्पादन बढाउन कृषि क्षेत्रमा लगानी, अनुसन्धान तथा विकास, प्राविधिक सहयोग, उपयुक्त र भरपर्दो प्रविधि अवलम्बन गर्न सहमत भएका छन् । उनीहरूले दिगो कृषि प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका छन् । उनीहरूले सदस्य राष्ट्रहरूलाई आपतकालीन र सामान्य दुवै अवस्थामा खाद्यान्न उपलब्ध गराउन सक्ने तुल्याउन सार्क खाद्य बैंक सम्झौताबाट थ्रेसहोल्ड मापदण्ड हटाउन निर्देशन दिएका छन् । नेताहरूले सार्क बीउबिजन बैंक सम्झौताको शीघ्र अनुमोदनका लागि आहान गर्दै सबै सदस्य राष्ट्र्रहरूबाट अनुमोदन प्रक्रियाभरका लागि बीउबिजन बैंक बोर्ड निर्माण गर्न निर्देशन दिएका छन् । नेताहरूले सम्बद्ध सार्क निकायहरूलाई क्षेत्रीय खोप बैंक र क्षेत्रीय चौपाया अनुवंश बैंक स्थापनासम्बन्धी टुंगो लगाउन निर्देश गरेका छन् ।

वातावरण्

१४) नेताहरूले केही सार्क राष्ट्रहरूलाई जलवायु परिवर्तनले पुर्‍याएको जोखिमलाई समेत मध्यनजर गरी प्राकृतिक विपद उद्धारसम्बन्धी सार्क सम्झौता, पर्यावरण संरक्षण सहकार्यसम्बन्धी सार्क सन्धि र जलवायु परिवर्तनसम्बन्धी थिम्पु घोषणाको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध निकाय/संयन्त्रहरूलाई निर्देश गरेका छन् । उनीहरूले सार्क पर्यावरण तथा विपद व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् । उनीहरूले पर्यावरणनिम्ति विश्व समुदायले सन् २०१५ को अन्त्यसम्ममा सबैका लागि लागू हुने गरी एउटा कानुनी हैसियतको संहिता -साझा तर विविधतापूर्ण जिम्मेवारीको सिद्धान्त, यूएनएफसीसीसी अन्तर्गत आपसी क्षमता र समताको सिद्धान्तमा आधारित) बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

सामुदि्रक अर्थतन्त्र

१५) उनीहरूले सार्क क्षेत्रमा समुद्र आधारित 'ब्लु इकोनोमी'ले पुर्‍याएको विभिन्न योगदान र यस क्ष्ाेत्रमा सहकार्य र साझेदारीको खाँचो पहिचान गरेका छन् ।

स्वास्थ्य

१६) नेताहरूले विश्वव्यापी स्वास्थ्य पहुँच -यूएचसी), स्वास्थ्य नियामक प्रणाली, उदीयमान-पुनरागमनीय रोगहरूको सामना एवम् प्रतिसूक्ष्मजीवीय प्रतिरोध र नसर्ने रोगहरूको चुनौती तथा महत्त्व औंल्याएका छन् । उनीहरूले सार्क स्वास्थ्य मन्त्रीहरूको चौथो बैठकबाट अवलम्बन गरिएका क्षेत्रीय स्वास्थ्य मुद्दाहरूसम्बन्धी 'माले रिजोलुसन' अनुमोदन गरेका छन् । उनीहरूले सन् २०३० भित्र यस क्षेत्रबाट एड्स माहामारी अन्त्य गर्ने लक्ष्यअनुसार पछिल्लो दशकमा सार्क राष्ट्रहरूले गरेको उल्लेख्य प्रगतिलाई कायम गर्न पनि आग्रह गरेका छन् । उनीहरूले काठमाडौंस्थित सार्क क्षयरोग तथा एचआईभी/एडस सेन्टर -एसटीएसी)मा सार्क टीबी रेफेरन्स ल्याबरोटरीलाई सुप्रा-नेसनल रेफरेन्स ल्याबरोटरीमा स्तरोन्नति गर्नका लागि एसडीएफबाट आवश्यक कोषको व्यवस्थासहित आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन् ।

शिक्षा

१७) कार्यकारी प्रमुखहरूले सबैका लागि शिक्षा भन्ने विश्वव्यापी लक्ष्यअनुसार यस क्षेत्रबाट निरक्षरता उन्मूलन गर्ने एवम् पाठ्यक्रम, अध्यापन र मूल्यांकन पद्धतिमा भौतिक, प्राविधिक र अन्य सुविधासहितको सुधार गरी सबै प्रतिष्ठानहरूमा गुणस्तरीय श्ािक्षा प्रत्याभूत गर्ने संकल्प व्यक्त गरेका छन् । उनीहरूले व्यावसायिक श्ािक्षा र तालिममा क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्न पनि सहमति जनाएका छन् । उनीहरूले दक्षिण एसियाली शैक्षिक प्रतिष्ठानहरूको स्तर उकास्ाी यस क्षेत्रका युवाहरूल्ााई उचित शिक्षा उपलब्ध गराउन आफ्ना शिक्षामन्त्रीहरूलाई क्षेत्रीय रणनीति विकास गर्न निर्देश गरेका छन् । उनीहरूले यस सन्दर्भमा दक्षिण एसियाली विश्वविद्यालयले गरेको प्रगतिको स्वागत गरेका छन् ।

युवा

१८) उनीहरूले खास गरी उत्पादनशील स्वरोजगार अवसर सृजना गरी युवा शक्ति, सीपलाई आर्थिक तथा सामाजिक विकासमा प्रयोग गर्न उपयुक्त राष्ट्रिय नीति तथा कार्यक्रम अंगीकार गर्नुपर्ने आवश्यकतामा जोड दिए । नेताहरूले राष्ट्रसंघ ६९ औं महासभाबाट जुलाई १५ लाई विश्व युवा सीप दिवस घोषणा गरिएकोमा स्वागत गर्दै सार्क क्षेत्रमा पनि मनाउने सहमति गरे ।

महिला तथा बालबालिका

१९) उनीहरूले सम्बद्ध निकायहरूलाई महिला तथा बालबालिका बेचबिखन-तस्करी एवम् शोषण-उत्पीडन रोक्न प्रभावकारी उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन् ।

सामाजिक सुरक्षा

२०) नेताहरूले पाका, महिला, बालबालिका, फरक क्ष्ामता भएकाहरू, बेरोजगार र जोखिमपूर्ण अवस्थामा काम गरिरहेकाहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्नका लागि ती वर्गको सामाजिक सुरक्षा सुदृढ पार्ने र त्यसनिम्ति विद्यमान उत्तम प्रयासहरूको आदानप्रदान गर्ने सहमति गरेका छन् ।

आप्रवास

२१) उनीहरू श्रम आप्रवासको सुरक्षित, व्यवस्थित र जिम्मेवारपूर्ण व्यवस्थापन गरी दक्षिण एसिया बाहिरका गन्तव्य राष्ट्रहरूमा आफ्ना कामदारहरूको सुरक्षा र हित प्रत्यात्भूत गर्न सहकार्य र सहयोगनिम्ति सहमत भएका छन् ।

विज्ञान तथा प्रविधि

२२) अनुभव साझेदारीका माध्यमबाट सामाजिक आर्थिक विकास र जनकल्याणमा अन्तरिक्ष प्रविधिलाई प्रयोग गर्न क्षमता विकासका लागि नेताहरू सहमत भए । यसै सन्दर्भमा उनीहरूले सार्क राष्ट्रहरूकै लागि समर्पित रहने गरी भूउपग्रहको विकास र प्रक्षेपण गर्ने भारतको प्रस्तावलाई स्वागत गरेका छन् ।

दूरसञ्चार

२३) नेताहरूले यस क्षेत्रका जनताबीच सम्पर्क व्यापक तुल्याउनका लागि टेलिफोन महसुल न्यून पार्न सदस्य राष्ट्रका सार्वजनिक निकाय र निजी सरोकारवालाहरूबीच सहकार्य र क्रियाशीलता अगाडि बढाउन निर्देशन दिएका छन् । साथै, महसुल संरचनाको सापेक्षीकरणका निम्ति आग्रह गरेका छन् ।

पर्यटन

२४) नेताहरूले दक्षिण एसियालाई दिगो हिसाबमा एउटा आकर्षक साझा पर्यटन गन्तव्य बनाउने अठोट व्यक्त गरेका छन् । निजी-सार्वजनिक सहकार्यको माध्यमबाट सार्क पर्यटन कार्ययोजना -२००६) प्रभावकारी रूपमा लागू गर्न सम्बद्ध निकायलाई निर्देश गरेका छन् । उनीहरूले पुरातात्त्विक र सम्पदा क्ष्ाेत्रहरूमा प्रवेशका लागि सार्क राष्ट्रका नागरिकहरूलाई स्थानीयसरह मात्र शुल्क लिने निर्णयको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

संस्कृति

२५) कार्यकारी प्रमुखहरूले संस्कृतिका कार्यसूचीलाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनीहरू दक्षिण एसियाली सांस्कृतिक सम्पदाको संरक्षण र पुनःस्थापनका लागि मापदण्ड बनाउन पनि सहमत भएका छन् । नेताहरू सञ्चालन कार्ययोजनासहित सार्क सम्पदा सूची मिलेर निर्माण गर्न राजी भएका भएका छन् । उनीहरूले २०१६ लाई 'सार्क सांस्कृतिक सम्पदा वर्ष' घोषणा गरेका छन् । यसलाई सफल बनाउन कार्ययोजना तयार गर्न आवश्यक अंगसमेत निर्माण गरेका छन् । उनीहरू यस क्षेत्रका मुख्य ऐतिहासिक बौद्ध स्थलहरूलाई जोड्ने 'सांस्कृतिक मार्ग' विकास गर्न सहमत भएका छन् । दक्षिण एसियाली क्षेत्रका इस्लाम, हिन्दु, क्रिस्चियन र अरू मुख्य धर्मका महत्त्वपूर्ण र पवित्र स्थलमा जान चाहनेलाई प्रवेशमा सहजीकरण गर्न समेत नेताहरू सहमत भएका छन् ।

सञ्चार

२६) सञ्चारको पहुँच र प्रभाव पहिचान गर्दै नेताहरूले सार्वजनिक र निजी सञ्चार दुवैलाई सार्क सदस्य राष्ट्र र तिनका जनताबीच समझदारी र मेलमिलाप प्रवर्द्धन गर्ने प्रयासमा उत्तरदायित्व वहन गर्नमा जोड दिएका छन् ।

आतंकवाद र अन्तरदेशीय अपराधविरुद्ध लड्न

२७) नेताहरूले सबैखाले आतंकवाद र हिंसात्मक अतिवादको प्रकटीकरणको स्पष्ट भत्र्सना गदर्ैै यस विरुद्ध लड्न सदस्य राष्ट्रबीच प्रभावकारी सहयोग आवश्यक पर्नेमा जोड दिएका छन् । उनीहरूले आतंकवाद दमनसम्बन्धी सार्क क्षेत्रीय सन्धि र यसका थप संहिताको पूर्ण र प्रभावकारी कार्यान्वयन गर्न र राष्ट्रिय स्तरमा आतंकवाद समाप्त पार्न आवश्यक कानुन लागू गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी राष्ट्रसंघको विस्तृत सन्धिको यसअघिको निर्णयमाथिको आफ्नो आहानलाई दोहोर्‍याएका छन् । उनीहरू लागूऔषध, हतियार तस्करी, सम्पत्ति शुद्धीकरण, जाली नोट र अन्य अन्तरदेशीय अपराधविरुद्ध लड्न प्रभावकारी उपाय अवलम्बन गर्न सहमत भएका छन् । उनीहरू साइबर अपराध निगरानी डेस्क स्थापना गर्न पनि सहमत भएका छन् ।

शासन

२८) उनीहरूले जवाफदेहिता, पारदर्शिता, कानुनी शासन र शासनका सबै तहमा जन सहभागिता प्रवर्द्धन गरी दिगो विकासका लागि असल शासन सुनिश्चित गर्ने आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएका छन् ।

२९) नेताहरूले दक्षिण एसियाको प्रजातान्त्रीकरणमा भएको निरन्तर प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दक्षिण एसियाली जनताको साझा आकांक्षा शान्ति, स्थायित्व, प्रजातन्त्र र विकासलाई थप प्रवर्द्धन र संस्थागत गर्ने वचनबद्धता जनाएका छन् । यस परिप्रेक्ष्यमा उनीहरू सदस्य राष्ट्रका साझा रुचि र मुद्दामा सार्क क्षेत्रभित्र सहयोग र सहकार्यको आवश्यकता भएकोमा सहमत भएका छन् ।

सार्क प्रक्रियाहरूको सुदृढीकरण

३०) आपसी स्वार्थका मुद्दाहरूमा साझा धारणा बनाउँदै विभिन्न बहुपक्षीय प्रतिष्ठानहरूमा सामूहिक पहिचानको खोजी गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सार्कको उपस्थिति बलियो पार्न राष्ट्र र सरकारप्रमुखहरूले जोड दिएका छन् ।

३१) नेताहरूले प्रतिफल दिने नीतिहरू, कार्यक्रमहरू, आयोजना र क्रियाकलाप विकसित गर्न काउन्सिल अफ मिनिस्टर्स, क्षेत्रगत मन्त्रीस्तरीय, अरू अंग र संस्था लगायत सार्कका सबै अंगहरूलाई निर्देशन दिएका छन् । अन्तरसरकारी तहबाट हरेक तीन वर्षमा बस्ने स्थायी समितिले यसको कार्य सम्पादन, प्रतिफल र सीमाहरूका आधारमा समीक्षा गर्न सक्ने गरी सार्कको कार्य प्रक्रियालाई सापेक्षीकरण गर्न पनि नेताहरूले निर्देशन दिएका छन् ।

३२) सार्कका उद्देश्य, सहकार्यका क्षेत्र साथै विगतमा भएका निर्णय र सम्झौतासँग मेल खाने गरी सचिवालयको भूमिका सुदृढ पार्न नेताहरू सहमत भएका छन् । उनीहरूले नयाँ चुनौती र त्यससँग जोडिने जिम्मेवारीहरूको सापेक्षतामा सार्क सचिवालयको संस्थागत क्षमता बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

३३) नेताहरूले सार्क क्षेत्रीय केन्द्रहरूको समायोजन गर्ने निर्णयमा सन्तोष व्यक्त गरेका छन् । उनीहरूले बाँकी सार्क क्षेत्रीय केन्द्र र विशेष संस्थाहरूलाई प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै तिनीहरूलाई प्रस्ट परिणाम निकाल्ने ढंगमा कार्यक्रम तथा योजना विकास गर्न निर्देशन दिएका छन् ।

३४) उनीहरूले उप्रान्तका सार्क शिखर सम्मेलनका बैठकहरू हरेक दुई वर्ष वा आवश्यक पर्दा चाँडै, काउन्सिल अफ मिनिस्टर्सको हरेक वर्ष, स्थायी समितिको कम्तीमा वर्षको एकपटक र कार्यक्रम समितिको बैठक कम्तीमा वर्षको दुईपटक राख्ने सहमति गरेका छन् । उनीहरूले कार्यक्रम समितिलाई सार्कको 'चार्टर बडी' बनाउने सहमति समेत गरेका छन् ।

सार्क पर्यवेक्षकहरू

३५) उनीहरूले शिखर सम्मलेनमा सहभागी अस्ट्रेलिया, जनगणतन्त्र चीन, इस्लामिक रिपब्लिक अफ इरान, जापान, गणतन्त्र कोरिया, मौरिसस, म्यानमार, संयुक्त राष्ट्र अमेरिका र युरोपेली आयोगका पर्यवेक्षकहरूलाई स्वागत गरेका छन् । यस क्षेत्रभन्दा बाहिरका देशहरूसँग संवाद, सहकार्य स्थापित गर्ने अघिल्ला निर्णयहरूलाई अगाडि बढाउने सन्दर्भमा विद्यमान पर्यवेक्षकहरूसँगका सम्बन्धहरूको समीक्षा र विश्लेषणका निम्ति सार्क सचिवालयले गरेको अध्ययनको नेताहरूले प्रशंसा गरेका छन् । उनीहरूले कार्यक्रम समितिलाई सदस्य राष्ट्रहरूले औंल्याएका प्राथमिकताका क्षेत्रमा सार्क पर्यवेक्षकहरूलाई उत्पादनशील मागमा आधारित र वस्तुगत परियोजनाजन्य सहकार्यमा उद्यत गराउन निर्देशन दिएका छन् ।

 

१९ औं सम्मेलन

३६) नेताहरूले १९ औं सार्क सम्मेलन आयोजना गर्ने इस्लामिक गणतन्त्र पाकिस्तान सरकारको प्रस्तावलाई स्वागत गरेका छन् । 

मोदी र सरिफलाई मलालाको निम्तो

लण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस पुरस्कार साझेदारी गरेपछि शान्तिका लागि उच्चस्तरीय पाइला चालेकी छन् ।  

बेलायतमा अध्ययन गरिररहेकी १७ वर्षीया मलालाले पटकपटक युद्धमा होमिएका भारत तथा पाकिस्तानका प्रधानमन्त्रीलाई १० डिसेम्बरमा ओस्लोमा आयोजना हुने पुरस्कार वितरण समारोहमा आमन्त्रित गरेकी छन् । उनले पुरस्कार साझेदार ६० वर्षे सत्यार्थीलाई भारतीय प्रधानमन्त्रीसँग यस बारेमा कुरा गर्न आग्रह गरेकी छन् ।

मलालाको आग्रहअनुरुप प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गर्ने बताए । तर, यो राजनीतीक र कुटनितिक मामिला भएकोले आफूले यस बारेमा स्पष्ट रुपले केही भन्न नसक्ने बताए । सन् २०१२ मा पाकिस्तानको स्वात उपत्यकामा घरनजिकै तालिवानले टाउकोमा गोली प्रहार गरेपछि उपचारका लागि बेलायतमा ल्याइएकी मलाला सुरक्षा कारणले स्वदेश फर्केकी छैनन् ।

उनले सहविजेता तथा बालश्रमविरुद्धका कार्यकर्ता सत्यार्थीप्रति श्रद्धा व्यक्त गर्दै यस महत्वपूर्ण समयमा मोदी तथा पाकिस्तानी समकक्षीलाई आफूहरूको विजय उत्सव मनाउन कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेकी छन् ।  मलालाले उच्च सम्मानसहितको पुरस्कार प्राप्त गरेकोमा उनको गृहनगर मिंगोरामा नाचगान तथा मिठाइ बितरण गरी खुसी मनाइएको छ ।

मलालासँगै विद्यालयमा पढ्ने आयासा खालिदले यो पुरस्कार मलालाले मात्र जितेको नभइ सारा मुलुकले जितेको र उनी आफूहरूको आाखाको प्रकाश तथा मुटुको आवज भएको बताइन् । उनले मलालाले विद्यालयलाई विस्फोट गराएर शिक्षा बन्द गर्न सकिन्न भन्ने प्रमाणित गरिदिएको धारणा राखिन् ।

उनी २२ अक्टोबरमा क्यानडा जाने र त्यहाँको मानार्थ नागरिक बन्नुहुने प्रधानमन्त्री स्टिफन हार्परले बताए । यो जानकारी नोबेल पुरस्कार घोषणा भएपछि दिइएको हो । मलालालाई क्यानाडाले एक वर्ष अगाडि मानार्थ नागरिकको सम्मान दिएको हो । यसअघि दलाइ लामा, नेलसन मन्डेला र आङ सान सु की पनि यस मुलुकको मानार्थ नागरिक बनिसकेका छन् ।

भारतमा भाजपाको बहुमत,मोदी प्रधानमन्त्री बन्दै

नयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न निर्वाचनका ५ सय ४३ सिटमध्ये बहुमतमा भाजपा आएपछि पार्टीबाट प्रधानमन्त्री पदका प्रत्याशी नरेन्द्र मोदीले आगामी बुधबार पदीय शपथग्रहण गर्ने भएका हुन् । प्रधानमन्त्री मनमोहन सिंहले शनिबार  राष्ट्रपतिसमक्ष राजीनामा दिने भएका छन् । 
 
भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका प्रत्याशी बनाइएका मोदीले गुजरातको बडोदरा र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट चुनाव जितेका हुन् । उनको पार्टी भाजपा एक्लैले २ सय ८५ सिटमा चुनाव जितेको छ ।
 
भारतीय लोकतन्त्रको इतिहासमा ३० वर्षपछि एउटै पार्टीले बहुमत ल्याएको यो दोस्रो पटक हो । यसअघि सन् १९८४ मा राजीव गान्धी नेतृत्वको भारतीय कंग्रेस पार्टीले ५ सय ८ सिटमा ४ सय १ स्थानमा जितेको थियो । त्यसबेला  तेलगु देशम पार्टीले २८ सिट ल्याई प्रमुख प्रतिपक्षी बनेको थियो ।
 
भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाइन्स एनडीए ले मात्रै झन्डै ३ सय ४० सिट ल्याएको छ । यो गठबन्धनमा शिवसेना, अकाली दल, तेलगु देशम पार्टी, नागा पिपुल्स फ्रन्टसहितका साना २५ क्षेत्रीय दल छन् । तर कंग्रेस  गठबन्धनको युनाइटेड प्रोग्रेसिभ अलाइन्स यूपीए ले ६३ सिटमा मात्रै विजय हासिल गरेको छ ।
 
पश्चिम बंगालमा तृणमुल कंग्रेसको राम्रो प्रभाव देखिए पनि दार्जिलिङ चुनाव क्षेत्रमा भने भारतीय जनता पार्टीका एसएस अहलुयालियाले जितेका छन् । उनले थोरै मतान्तरले कंग्रेसका प्रत्याशी भाइचुङ भुटियालाई हराएका हुन् ।  भारतीय जनता पार्टीले गोर्खाल्यान्डको आन्दोलनलाई समर्थन गर्दै छुट्टै राज्यको नारामा साथ दिने आश्वासनले नेपालीभाषीको मत बटुल्न सकेको हो ।
 
उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट कंग्रेस अध्यक्ष सोनिया गान्धी र अमेठीबाट उपाध्यक्ष राहुल गान्धी विजयी भएका छन् । भाजपा अध्यक्ष राजनाथ सिंहले लखनउ क्षेत्रबाट चुनाव जितेका छन् । राजधानी दिल्लीका ७ वटै चुनाव क्षेत्रमा  भाजपा विजयी भएको छ । गुजरातका पनि सबै २६ सिटमा भाजपा नै आएको छ । आम आदमीले ४, अकाली दलले ४ र शिवसेनाले १८ सिट ल्याएका छन् ।
 
दस वर्षदेखि सत्तामा रहेको भारतीय कंग्रेस गठबन्धनका प्रमुख मन्त्रीहरूसमेत चुनाव हार्ने सूचीमा देखिएका छन् ।
 
कंग्रेस गठबन्धन सरकारका मन्त्री सचिन पाइलटले राजस्थानको अजमेरबाट चुनाव हारे भने त्रिवेन्दरमपुरमबाट शशि थरुर र सोलापुरबाट गृहमन्त्री सुशीलकुमार सिन्धेले पराजय बेहोरेका छन् । भाजपाका प्रखर नेता र मोदी  सरकारमा सम्भावित मन्त्री भनिएका अरुन जुट्लीले पनि पञ्जावबाट चुनाव हारेका छन् ।
 
समाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवले भने विजय हासिल गरेका छन् । लोकसभामा भारी मतले विजयी भएकामा प्रधानमन्त्री सिंहले मोदीलाई फोनमार्फत बधाई दिएका छन् ।
 

नयाँ प्रतिभा कार्यक्रम युएइमा सम्पन्न

गीतामणि पाण्डे, युएइ, चैत्र १३ – नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्यले युएइमा रहेका नेपालीहरुले सांस्कृतिक कार्यक्रम तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरेका छन् ।

बाग्लुङ्ग सेवा समाज युएइको आयोजनामा भएको प्रतियोगितामा प्रतियोगितामा गोविन्द परियार पहिला, सीता शिरिश दोस्रा र बाबुराम सुवेदी तेस्रा भएका छन् । बिजेताहरुलाई प्रमाणपत्र र खादा ओडाएर सम्मान गरिएको थियो । संस्थाका वरिष्ठ सल्लाहकार बलबहादुर बिकले बिजेता प्रतिभाहरुलाई बधाइ दिदैँ नेपाली संस्कृति बिर्सन नसकिने बताउनुभयो । उहाँले संस्कृति संरक्षणका लागि सबै नेपाली एक जुट हुनुपर्ने बताउनुभयो । प्रतियोगितामा गोविन्द परियार, सीता शिरिश मगर, बाबुराम सुवेदी, बाबुराम गौतम, गमबहादुर बिक, सुनिल थापा र रत्न बिकले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । युएइमा रहेका बाग्लुङ्गबासीले नेपालको गाउँमा रहे झैँ एक आपसमा सुख दुःख साटासाट गर्दै नाचगान गरेका छन् ।

कार्यक्रमका सहभागी तथा आमन्त्रित महानुभावहरुलाई पूर्ण सापकोटाको स्वागत गर्नुभयो । कार्यक्रममा कृष्ण केशी, बाबुराम गौतम, गमबहादुर बिक, पशुपति शर्मा, बलबहादुर बिक, कृष्ण केशी, केदार सिंह नेपाली, सुनिल थापालगायतले संस्थाका बारेमा प्रकाश पार्नुभयो । संस्थाका अध्यक्ष पिताम्बर पाण्डेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रवासी नेपाली मञ्च युएइको अधिवेशन सम्पन्न

युएइ, फागुन ११– प्रवासी नेपाली मञ्च युएईको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।


वैदेशिक रोजगारीका लागि युएईमा पुगेका नेपालीहरुको दुवईमा भएको अधिवेशनले प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश गिरी, गिरमान थापा मगर र मोति राई, महासचिवमा उत्तम अधिकारी, सचिवमा भेषराज ढकाल र पुर्षोत्तम सुवेदी, कोषाध्यक्षमा राजु गुरुङ्ग निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्ण भुसाल, भीमबहादुर गुरुङ्ग, युवराज भुसाल, रामकुमार ढुंगेल, सीता भुर्तेल, दामोदर दाहाल, रोहितकुमार रावत, श्रीकृष्ण रावत, बिक्रम रावत, खुमानन्द अर्याल, इन्द्रबहादुर घिमिरे, रुपकनारायण नकर्मी, रामबहादुर रिमाल र मनोज अर्याल रहेका छन् ।


अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका प्रवास इन्चार्ज भीम रावलले काँग्रेस सहमतिबाट पछाडी फर्कदा सरकार विस्तारमा ढिलाई भएको बताउनुभयो । उहाँले हाराहारीको जनमत पाएको नेकपा एमालेलाई विश्वासमा नलिएर सहमति भैसकेको गृहमन्त्रीमा अल्झदा सुशिल कोइराला नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको बताउनुभयो । एमाले नेता रावलले मुलुकमा राजनीतिक अस्थिरता हुँदा लाखौँ युवा विदेशमा आउनु परेको यर्थाथतालाई आत्मसात गरी स्वदेशमै रोजगारीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाली राजदूत धनन्जय झा, जन सम्पर्क समिति युएईका अध्यक्ष चित्र केसी, जनप्रगतिशील मञ्चका अध्यक्ष हेमन्त पौडेल, नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की, गैर आवासीय नेपाली संघका अध्यक्ष कृष्ण भुसाललगायते नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । अधिवेशन अध्यक्ष यमलाल शर्मा पंगेनीको अध्यक्षतामा भएको थियो ।